[अन्तर्वार्ता] केही उद्योगीहरू संविधानभन्दा माथि छन्, नेता-कर्मचारी सबैलाई किनेका छन् : किशोर प्रधान

कोरोना महामारीले शिथिल बनेको अर्थतन्त्र विस्तारै जुर्मुराउन थालेको देखिएको छ । विस्तारै उद्योगी–व्यवसायीहरूमा उत्साह पलाउन थालेको छ । कोरोना महामारीले गम्भीर संकटमा फसेका कयौं नेपाली उद्योगहरूले नयाँ लगानीसहित उठ्ने प्रयास गरिरहँदा बैंकिङ प्रणालीमा पनि ऋण माग अत्यधिक बढेको छ । एकातिर उद्योगहरूमा लगानी संकट छ भने अर्कोतिर बैंकहरूमा तरलता अभाव चुलिएको छ । नेपाली उद्योगहरूको वास्तविक अवस्था, लगानी, चुनौती तथा तरलता संकूचनबारे उद्योगी किशोर प्रधानसँग फरकधारका लागि मनीषा अवस्थीले गरेको कुराकानीको सार :

कोरोना महामारीपछि उद्योग क्षेत्रको अवस्था कस्तो छ ?

नेपालका उद्योगहरूले आन्तरिक उत्पादनमा जोड दिन सकेका छैनन् । आन्तरिक उत्पादनलाई बजारमा पुर्‍याउन र यसको बजार बिस्तार गर्नका लागि सरकारले सहयोग गरेको छैन । यसले रोजगारीलाई बढावा दिँदै अर्थतन्त्र वृद्धिमा सहयोग गर्छ । तर संसारभर कोरोना महामारीको संकट बढेसँगै आन्तरिक उत्पादन ठप्पजस्तै बनेर आयातमा मात्रै जोड दिइएको छ । 

समग्रमा कोरोना महामारीको असर उद्योग क्षेत्रले नराम्ररी व्यहोर्नुपरेको छ । त्यो संकटबाट विस्तारै माथि उठ्ने प्रयास गरिरहेका उद्योगहरूलाई अहिले बैंकिङ प्रणालीमा देखिएको तरलता अभावको समस्याले झनै अप्ठेरो पारिदिएको छ ।  

यतिबेला महामारीले उत्पन्न गरेको संकटसँग उद्योगीहरू जुधिरहेका छन् भन्नुहुन्छ, अर्कोतिर बैंकिङ प्रणालीमा कर्जाको माग अत्यधिक बढेको पनि छ, यस्तो अवस्थालाई कसरी बुझ्ने ?

महामारीको अवधिमा उत्पादन ठप्प बनेको थियो । अहिले पनि उद्योगहरु पूर्णतया सञ्चालन हुन सकेको छैन । महामारीकालमा भएको ह्रासलाई परिपूर्ति गर्दै अहिले बिस्तारै उद्योग चलायमान हुँदै गएको छ, यो अवस्थामा भएको मागलाई सम्बोधन त गर्नुप¥यो नि ! कोरोना महामारीमा सानादेखि ठूला सबै उद्योगलाई असर परेको छ । त्यो असरलाई सम्बोधन गर्दैै पुनःस्थापित हुनका लागि अझै थप पुँजी चाहिएको छ । यस्तो अवस्थामा कर्जाको माग त बढिहाल्छ नि ।



महामारीको संकटमा साना र मझौला उद्योगीहरु बढी परे, समस्या त सबैलाई छ । यी उद्योगीहरुलाई माथि उठ्नको लागि बढी लगानी आवश्यक छ । तर बैंकहरूले ठूला उद्योगीलाई प्राथमिकतामा राखेका छन् । बैंकहरूले लगानीका लागि प्राथमिकतामा राख्नुपर्ने उद्योग साना हुन् । आत्मनिर्भर हुने गरी उत्पादन क्षमता भएका उद्योगहरुलाई प्रवद्र्धन नगरी सरकारले आयातलाई जोड दिइरहेको अवस्था छ । अहिले हाम्रो औषधि उद्योग तथा निर्माण सामग्री उत्पादन गर्ने उद्योग सक्षम भइसकेका छन्, ती आत्मनिर्भर बन्न सक्ने अवस्थामा छन् । तिनीहरुलाई प्रवद्र्धन गरेको खोइ त? यसले एकातिर हाम्रो व्यापारघाटा बढाइरहेको छ भने अर्कोतिर उद्योगीहरू निरुत्साहित भइरहेका छन् ।  

उद्योग स्थापना र सञ्चालनका क्रममा नीतिगत झमेलाहरू कति छन् ?



अहिलेको सबैभन्दा ठूलो समस्या भनेको समयमा निर्णय नहुनु हो । कुनै कामका लागि सम्बन्धित निकायमा फाइल पठायो भने लामो समयसम्म अघि बढ्दैन । यसो हुँदा उद्योग स्थापनाको समयावधि लम्बिने र लागत बढ्ने हुन्छ । यसको प्रत्यक्ष मारमा उपभोक्ता नै पर्ने हुन् ।  अहिले त व्यावसायिक भनिएका बैंकहरुले पनि महिनौं फाइल अड्काउने गरेका छन् । कुनै पनि फाइल सरकारी निकाय वा बैंकमा बुझाइसकेपछि पहिलो कुरा त कागजात पूरा भएको छ वा यो यो कुरा पुगेन भने भनिदिनुपर्‍यो नि । हामीले सुरुमा वाणिज्य बैंकहरुलाई जुन उत्साहका साथ प्रमोट गरेका थियौं, तिनको उपादेयता खासै देखिएन, अहिले त उनीहरु ‘महाजन’जस्ता भइसकेका छन् । एउटा बैंकबाट लोन निकासा गर्नका लागि ६/७ महिना लाग्न थालिसकेको छ ।

अर्को समस्या आन्तरिक उत्पादनलाई प्रोत्साहन गर्न नसक्नु हो । जबसम्म हामी आन्तरिक उत्पादनलाई प्रोत्साहन गर्दैनौं तबसम्म यहाँको उत्पादन बढेर निर्यातमुखी बन्नै सक्दैन ।  किनभने नेपालले उत्पादन गरेको सामग्री त यहीँ खपत हुने र वस्तुले बजार पाउने अवस्था सृजना गर्नुपर्‍यो नि ! जस्तो कि, नेपाली औषधि बजारले एक घण्टामा पाँच हजार ट्याब्लेट बनाउन सक्छ भने त्यही काम चीन र भारतमा ५० लाख प्रतिघण्टा बनाउने क्षमता होला । तर नेपालमा उत्पादन भएको पाँच हजारले नै बजार पाएन भने बाँकी उत्पादन किन गर्छ उद्योगले ? 

तेस्रो समस्या भनेको देशको अस्थिर राजनीति हो । हामीले लामो समय कुरेर अनि दुःख झेलेर राजनीतिक स्थायित्व हुन्छ भन्ने अपेक्षा गरेका थियौं  । तर त्यस्तो हुन सकेन । राजनीतिक स्थायित्व नहुँदा गम्भीर समस्या भइरहेको छ । नीतिगत निर्णयहरू समयमा हुँदैनन् । नयाँ काम सुरु गर्न अन्योल छ । नयाँ उद्योग सुरु गर्नेहरू डराइरहेका छन् । यस्तो बेलामा उद्योग क्षेत्रमा खास प्रगति हुन सक्दैन । केही निश्चित व्यवसायीहरूले मात्रै कमाइरहेका छन् ।  

तपाईंले भनेका यी सबै समस्याको कारण चाहिँ के हो त ?

यसको कारण भनेको नियामक निकायको नियमनमा कमजोरी हो । देशको अर्थतन्त्र सरकारको हातमा छैन । केही निश्चित व्यवसायीको मुठ्ठीमा​ देशको अर्थतन्त्र अड्केको छ । अहिले २० देखि ३० जना उद्योगीहरुले सिंगो देशलाई हाँकिरहेको देखिन्छ ।  उनीहरुले हाम्रो सरकारमा रहेका सबैलाई पैसाको आडमा आफ्नो मुठ्ठीमा पारिरहेका छन् । ती व्यवसायीले कानुनको सीमा नाघिसकेका छन् । 

संविधानभन्दा पनि माथि रहेर काम गरिरहेका छन् र  उनीहरूलाई सबैभन्दा ठूलो पैसा नै लाग्छ । उनीहरुले देशका सबै राजनीतिज्ञ र कर्मचारीन्त्रलाई किनेर पूरै देश आफ्नो हातमा लिइसकेका छन् । यतिसम्म भइरहेको छ कि, उनीहरुले चाहे भने सचिव सरुवा गरिदिने, कुनै मन्त्रीलाई निकालिदिनेम्मका काम गर्न सक्ने अवस्था छ । तिनीहरुले सम्पूर्ण सिस्टमलाई ह्याक गरिसकेका छन् । पूरै अर्थतन्त्र चकनाचुर पारिसकेका छन् । यस्तो काम हाम्रै साथीभाइ गरिरहेका छन् । यसको कारण नै हाम्रो कमजोर कर्मचारीतन्त्र र राजनीति हो ।

अन्त्यमा, तपाईंको आफ्नो उद्योगको अवस्था के छ ?

अहिले मैले चारवटा उद्योग चलाइरहेको छु । ती चारवटै कंक्रिटबेस हुन् । मेरो लगानी अहिलेसम्म निर्माण व्यवसाय र बिजुलीको पोलमा छ । कोरोनाकालमा मैले पनि निकै संकट व्यहोर्नुपर्‍यो । किनभने जति उत्पादन भयो त्यसमध्ये अधिकांश स्टक नै रह्यो । मेरा उद्योगले उत्पादन गरेका वस्तुहरु दैनिक उपभोग गर्न मिल्दैन । अब बिस्तारै माथि उठ्ने प्रयास गरिरहेका छौं र नयाँ उद्योगमा लगानी गर्ने तयारी पनि गरिरहेका छौं । सिमिलर टाइपको उद्योगहरु आगामी एक/डेढ वर्षमै सञ्चालनको तयारीमा छौं । 

छोराले मार्केटिङमा लन्डनबाट एमबिए गरेर आएको छ, उसले काठमाडौंबाहेकका सहरमा होटलमा पनि लगान गर्ने तयारी गरिरहेको छ ।  
 

  • प्रकाशित मिति : कात्तिक १६, २०७८ मंगलबार १५:२७:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया