दुई सातादेखि अवरुद्ध कर्णाली करिडोरको सिमकोट-खार्पु सडकखण्ड अझै सञ्चालनमा आउन सकेको छैन । अविरल वर्षाले १ कात्तिकमा सडकखण्डको ठाउँ ठाउँमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो । सडक अवरुद्ध हुँदा सिमकोट-खार्पु खण्डमा चल्दै आएका साना जीप र अन्य सवारी साधन बन्द भएका छन् ।
सडक अवरुद्ध भएसँगै स्थानीयलाई आवतजावतमा समस्या भएको चंखेली गाउँपालिका-५ का स्थानीय जसिलाल तामाङले गुनासो गरे । याङ्चुदेखि सिमकोटसम्म १० देखि १२ स्थानमा पहिरो गएको तामाङले जानकारी दिए ।
तर दुई साता बितिसक्दा समेत सरोकारवाला निकायले चिन्ता र चासो नदेखाउँदा स्थानीयलाई आवतजावत गर्न कठिन भएको खार्पुनाथ गाउँपालिका-५ का प्रकाशबहादुर शाहीले बताए ।
यो सडक निर्माण तथा मर्मतको जिम्मेवारी पूर्वाधार विकास कार्यालयको हो । पहिरोले क्षतविक्षत भएको सडक पन्छाउन ढिला हुँदा सिमकोट-खार्पु १३ किलोमिटरको दुरी पार गर्न घण्टौं लाग्ने गरेको छ ।
सडक सञ्चालन गर्ने बारेमा स्थानीय प्रशासन र सरोकारवाला पनि मौन छन् । सिमकोटदेखि हिल्सासम्मको पहिरो पन्छाउने जिम्मा हिल्सा सिमकोट सडक योजनाले पाएको छ । ९० किलोमिटर सडकको पहिरो पन्छाउने काम हिल्सा सिमकोट सडक योजनाले सुरू गरिसकेको हिल्सा सिमकोट सडक योजनाका प्रमुख विष्णुदास लामाले जानकारी दिए ।
-सुरेश परियार/न्युज कारखाना
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।