मेक्सिकोबाट फर्काइएका ५ अफगानीलाई नेपालले अब के गर्छ ?

नेपालबाट मेक्सिको पुगेका ५ जना अफगानी नागरिकलाई त्यहाँको अध्यागमन विभागले फिर्ता पठायो । विमानस्थलबाट फिर्ता पठाएका उनीहरू मंगलबार पुनः नेपाल नै आइपुगेका छन् । नेपाल फिर्ती भएका उनीहरूलाई अब के गर्ने भन्नेमा अध्यागमन विभाग अन्योलमा छ । 

गत कात्तिक ८ गते काठमाडौंको सिनामंगलबाट पक्राउ परेका ११ जना मध्ये एकै परिवारका ५ जना श्रीलंका हुँदै मेक्सिको गएका थिए । अध्यागमन विभागले आवश्यक अनुसन्धानपछि सोमबार मेक्सिको पठाएको थियो । मेक्सिकोको विमानस्थलबाट उनीहरूलाई फिर्ता पठाइएको हो । मेक्सिकोको प्रवेश नदिएपछि उनीहरू सोही रुट हुँदै नेपाल फर्किएका थिए । 

नेपाल पुगेर अध्यागमन विभागको नियन्त्रणमा रहेका उनीहरूलाई अब के गर्ने भन्नेमा टुंगो लागेको छैन । गैर कानूनी रूपमा भारत हुँदै नेपाल प्रवेश गरेका उनीहरूलाई अब के गर्ने भन्ने विषयमा टुंगो लागि नसकेको विभागका महानिर्देशक नारायण प्रसाद भट्टराईले बताए । 

‘यस विषयमा छलफल भइरहेको छ । ठ्याक्कै के गर्ने भन्ने निर्णयमा पुगिसकेका छैनौं । गृह मन्त्रालय र परराष्ट्र मन्त्रालयसँग पनि छलफल भइरहेको छ । सबैसँग छलफलपछि आवश्यक निर्णय गर्छौ,’ महानिर्देशक भट्टराईले भने । 

पक्राउ परेकाहरूले अफगान नफर्किने अडान लिइरहेका छन् । अफगानमा तालिवानले सत्ता कब्जामा लिएपछि उनीहरू स्वदेश फर्किन डराएका हुन् । यस्तो अवस्थामा उनीहरूको लागि सुरक्षित स्थान खोजेर व्यवस्थापन गर्ने कि भन्ने विषयमा समेत छलफल भइरहेको महानिर्देशक भट्टराईले बताए । 

अध्यागमन कानुनअनुसार थप प्रक्रिया अगाडि बढ्ने महानिर्देशक भट्टराईको भनाइ छ । 



पक्राउ परेका दम्पतीमध्ये एकजना सरकारी कर्मचारी र अर्को यूनएनको जागिरे थिए । अन्य उनीहरुकै छोराछोरी थिए । होटलमा लुकिछिपी बसिरहेका उनीहरूलाई नेपालस्थित  संयुक्त राष्ट्रसंघीय शरणार्थी मामिला सम्बन्धी उच्च आयोग (यूएनएचसीआर) ले शरणार्थी कागजात बनाइदिएको थियो । आयोगको संरक्षणमा बसिरहेका उनीहरूलाई विभागले बिना भिसा प्रवेश गरेको कसुरमा पक्राउ परेका थिए ।

मेक्सिकोबाट फिर्ता भएका ५ जना बाहेक ६ जना भने विभागकै नियन्त्रणमा छन् । उनीहरूमाथि अनुसन्धान जारी छ । उनीहरूसँग भारतको नक्कली राहदानी समेत बनाएको पाइएको थियो । नेपालको अध्यागमन कानून अनुसार अवैध रूपमा नेपाल प्रवेश गरेकाहरूलाई जरिवाना तिराउने र निश्चित समय तोकेर देश निकाल गर्ने प्रावधान छ । 



केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गरेर विभागलाई बुझाएको थियो । ब्यूरोले गरेको अनुसन्धानको क्रममा उनीहरूबाट सुरक्षा खतरा नदेखेपछि विभागको जिम्मा लगाएको थियो । अवैध रूपमा नेपाल प्रवेश गरेकाहरूमाथि सुरक्षा खतरा देखिएको खण्डमा ब्यूरोले पनि आवश्यक अनुसन्धान गरेर कारवाही प्रक्रिया बढाउँछ । तर, तालिवानको डरको कारण ज्यान सुरक्षाका लागि नेपाल प्रवेश गरेकाहरूबाट नेपालको सुुरक्षामा कुनै चुनौती नदेखिएको ब्यूरोको ठहर छ । 

चार महिना अघि उनीहरूको उपचारको बहाना बनाएर अफगानबाट भारतको नयाँ दिल्ली आएका थिए । काबुल एयरपोर्टबाट दिल्ली पुगेका उनीहरू केही महिना त्यतै बसेका थिए । 

दिल्लीमै रहँदा उनीहरू नेपालस्थित यूएनएचसीआरको सम्पर्कमा आएर ‘शरणार्थी कागजात’ बनाएर सेल्टर लिन आएका थिए । यूएनएचसीआरले उनीहरूलाई नेपालमा अस्थायी बसोबासको कागजात बनाईदिने प्रतिबद्धता जनाएको थियो । त्यसपछि उनीहरूलाई सिनामंगलको फेसबुक होटलमा गुपचुप अवस्थामा राखिएको थियो । होटलमा विदेशी नागरिक बसिरहेको भन्ने गोप्य सूचनाको आधारमा गएको ब्यूरोको टोलीले नियन्त्रणमा लिएको थियो । 

अनुसन्धानको क्रममा यूएनएचसीआरले मंसिर २ गते अस्थायी बसोबासको कागजात दिने प्रतिबद्धता जनाएको थियो । तर, त्यसअघि नै उनीहरूलाई पक्राउ गरेको थियो । पक्राउ परेका मध्ये एकै परिवारका पाँच जनालाई भने निस्कासन नै गरेको थियो । पाँच दिनको अनुसन्धानपछि विभागले राहदानी भएका पाँच जनालाई उनीहरुकै रोजाइमा मेक्सिको पठाएको थियो । राहदानी समेत नभएका ६ जनामाथि भने थप अनुसन्धान गर्न भन्दै विभागकै हिरासतमा राखेको थियो । 

नेपाल प्रवेश गरेका एकै परिवारका ५ जना भने एक महिना अघि नै नेपाल आएका थिए । अरु ६ जना भने भारतको बाटो हुँदै नेपाल आएका थिए ।  

गृहको कडा निर्देशन

पछिल्लो समय अवैध रूपमा विदेशी नागरिकहरू नेपाल आउन थालेपछि सीमा नाकामा सुरक्षा निगरानी बढाउन गृह मन्त्रालयले निर्देशन दिएको छ । भारतको बाटो हुँदै गैरकानूनी रूपमा नेपाल प्रवेश गर्नसक्ने प्रति सजकता अपनाउँदै सीमा नाकामा सुरक्षा निगरानी बढाउन गृह मन्त्रालयले अध्यागमन र सुरक्षा निकायहरूलाई निर्देशन दिइसकेको हो । 

गृह मन्त्रालयले एक सूचना जारी गरेर कोठा भाडामा लगाउँदा परिचयपत्र अनिवार्य रूपमा हेर्न घरधनीहरूलाई समेत आग्रह गरेको थियो । परिचयपत्र बिना कसैलाई पनि काममा नलगाउन समेत गृह मन्त्रालयले सबैलाई अनुरोध गरेको छ । 

यससँगै सरकारले स्थलमार्ग हुँदै नेपाल प्रवेश गर्ने भारतीयलाई समेत परिचयपत्र अनिवार्य हेर्ने निर्णय गरेको थियो । सोही आधारमा सीमा नाकामा रहेको सुरक्षा निकायलाई निर्देशन समेत दिइसकेको छ । 

असोजमा समेत १४ जना रोहिंग्याहरू नेपाल प्रवेश गरेका थिए । तीन जना दलालमार्फत उनीहरू बंगलादेशबाट नेपाल आएका थिए । 

  • प्रकाशित मिति : कात्तिक १७, २०७८ बुधबार १८:५६:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया