Mon, 19 Nov, 2018


तिहारः संस्कृति र भाइचाराकाे पर्व
तिहार  
प्रा.डा. वीणा पौड्याल  |  कात्तिक १९, २०७५

यमपञ्चक अर्थात् तिहार पर्यावरणसँग जोडिएको पर्व हो । यसको धेरै पक्ष वातावरणसँग जोडिएको छ । तिहारमा पशुपक्षी, बोटबिरुवा, पूmल, फल सबैको पूजा गरिन्छ । यसको एउटा पक्ष पर्यावरण हो भने अर्को पक्ष धार्मिक आस्था हो । जसमा दाजुबहिनीको सम्बन्धलाई लिएर दुवैको दीर्घायुको कामना गरिन्छ । दाजुभाइले दिदीबहिनीका लागि कामना गर्छन्, दिदीबहिनीले दाजुभाइका लागि लामो आयुको कामना गर्छन् । 

धार्मिक किंवदन्तीअनुसार यमराज र यमुना वैदिक देवता थिए । उनीहरू एकै आमाका जुम्ल्याहा सन्तान हुन् । त्यसबेलाको समाजमा जुम्ल्याहा दाजुबहिनीमा दाजु जेठो भए वैवाहिक सम्बन्धलाई मान्यता दिइएको थियो । समाजको नियमअनुसार यमुनाले दाजुसँग बिहेको प्रस्ताव गरिन् । तर, यमराजले यो कुराको खण्डन गरे । समाज परिवर्तनको क्रममा भएको र त्यसमा पनि मानिस श्रेष्ठ प्राणी मानिएको आफूले सही गलत छुट्याउन सक्नुपर्ने यमराजले यमुनालाई बताए । 

यस्तो अवस्थामा एकै कोखका अन्य सन्तान जसरी दाजुभाइ दिदीबहिनीका रूपमा रहन्छन् त्यसैगरी नै जुम्ल्याहा सन्तान पनि दाजुबहिनी वा दिदीभाइ नै ठहरिन्छन् भनेर उनले यमुनालाई सम्झाए । हामी पनि दाजु बहिनीको रूपमा रहनुपर्छ भनेर यमराजले नै प्रस्ताव गरेको शास्त्रमा उल्लेख छ । 

समाज विकासको क्रममा यमराजको यो विचार सर्वमान्य भयो । मानव जीवनको सिकाइ चरणमा जे–जस्तो भयो अब परिवर्तन हुुनुपर्छ भनेको हुनाले यमराजको पूजा पनि गरिन्छ । यदाकदा यमराजजस्तो दाजु पाएस् भन्ने चलन पनि छ । 

यसै क्रममा यमुनाले मैले दाजु मान्ने हो भने विधिपूर्वक पूजा गर्छु भनिन् । यमुनाको प्रस्तावअनुसार यमराज पाँच दिनसम्म यमुनाकहाँ गएर तेलको घेराभित्र बसी सप्तरंगी टीका र मखमलीको माला ग्रहण गरे । 

यमुनाको आराधनाबाट यमराज प्रसन्न भए । यमुनाको सम्झनामा पृथ्वीवासीले यो समयलाई पर्वका रूपमा मनाउनू भनी आशिस दिएको विश्वास छ । अनि मानिसहरूले तिहारका रूपमा मनाउँदै आएका छन् । 

मानिसले लामो समयदेखि अमरत्व प्राप्त गर्न सकेको छैन । मृत्युलाई पनि जित्न सकिन्छ भनेर वैदिककालमा यमुनाले भगीरथ प्रयास गरिन् । तपस्या गरिन् । तर उनको तपस्या सफल हुन सकेन । मानिस अमर रहन नसके पनि लामो जीवन प्राप्तिको कुनै उपाय होला भनेर अनुभूति गरिन् र उपाय अपनाउने प्रयत्न गरिन् । यो कुरा सिद्ध पनि भयो । उनले यसरी यमराजलाई पाँच दिनसम्म संरक्षण गरी दीर्घ जीवनको कामना गरी पूजा गरिन् । 

हामीले मनाउँदै आएको तिहार पनि यसैसँग सम्बन्धित छ । पृथ्वीवासीले पनि आफ्ना दाजुुभाइ तथा दिदीबहिनीले एकअर्काको दीर्घायुको कामना गरी मनाउन् भनेर यो पर्वको सुरुवात भयो । 

तिहारमा विशेषगरी मखमली फूलको महत्व छ । सप्तरंगी टीकाको महŒव छ । यो मौसममा धेरै थरीका फूलहरू फूलेको हामीले देखेका छौं । तीमध्ये कुनै केही घण्टामा नै ओइलाउने फूलहरू छन् । त्यस्तै कुनै फूललाई दुईचार दिनसम्म पनि राख्न सकिन्छ । तिनीहरूको आयु धेरैमा एक हप्ता हो । 

तर, चराचर जगत्मा फुल्ने फूलहरूको तुलनामा मखमली नै यस्तो फूल हो जुन अरू फूलहरूभन्दा लामो समयसम्म ताजा रहन सक्छ । बोटमा हुँदा पनि यो फूल धेरै दिनसम्म बस्न सक्छ र टिपेर मालाको रूपमा रहँदा पनि महिनौं ताजा हुन सक्छ । मखमलीको यो विशेषतालाई दीर्घ जीवनको प्रतीकको रूपमा लिइयो । 

तिहारमा लगाइने सप्तरंगी टीकाको पनि यस्तै महŒव छ । सूर्यको सातवटा रङ हुन्छ । ती रङलाई सप्तरंगी टीकाको रूपमा प्रयोग गरिन्छ । सूर्यलाई कहिल्यै पनि अन्त्य नहुने तŒवको रूपमा लिइन्छ । यमुनाले सूर्यलाई नै ल्याउन त सकिनन् तर सूर्यको प्रतीकको रूपमा त्यसबाट प्राप्त हुने रङ प्रयोग गरिन् । यसले पनि दीर्घ जीवनलाई बुझाउँछ । 

पृथ्वीमा जन्म भइसकेपछि अल्पायुमा कसैको पनि मृत्यु नहोस् भन्ने सबैलाई लाग्छ । यदि कसैको आयु नै आधा छ भने पनि दिदीबहिनीको कामनाले उसले दीर्घ जीवन वा पूर्ण आयु प्राप्त गर्न सक्छ भन्ने धार्मिक विश्वास छ । 

तिहारमा दाजुभाइका लागि प्रयोग हुने सबै सामग्री लामो समयसम्मका लागि प्रयोग गर्न सकिने र टिक्ने हुन्छ । तिनीहरू आफंैमा दीर्घजीवी हुन्छन् । सूर्यको प्रतीक मानिने सप्तरंगी टीका, मखमलीको माला, तेल, ओखर, कटुस आदि सबैको आयु कुनै न कुनै रूपमा लामो हुन्छ । 
 



यो पनि नछुटाउनुहोस्