तीन महिनामा ६ सय बलात्कारका घटना, किन बढ्दै छ बलात्कार ?

काठमाडौं– कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भयो । हत्या भएको सयौँ दिन बितिसक्दा पनि सरकारले हत्यारा पहिचान गर्न सकेको छैन । अनुसन्धान अझै जारी रहे पनि यसमा खासै प्रगति भने देखिन्न । 

निर्मला त पछिल्लो समयकी एक प्रतिनिधि पात्र मात्र हुन् । मुलुकमा दिनहुँ आधा दर्जनभन्दा बढी महिला तथा बालिका बलात्कारको सिकार भइरहेका छन् ।

पछिल्लो समय बालिका अपहरणमा पर्नु, बलात्कार र हत्यापछि शव फेला पर्नु सामान्यजस्तै भएको छ । प्रहरी प्रधान कार्यालयको तथ्यांकलाई हेर्ने हो भने पछिल्ला वर्षहरूमा देशमा बलात्कारका घटना अत्यधिक घटेको देखिन्छ । 

नेपालमा पछिल्लो समय बलात्कारका घटनाको विरोधमा सामाजिक सञ्जाल र सडकमा मानिसहरू उत्रन थालेका छन् । अर्काेतर्फ, बलात्कारका घटना बढ्दै जानुमा सामाजिक सञ्जालले पनि केही हदसम्म प्रभाव पारेको प्रहरीकाे विश्लेषण छ । 

गत आर्थिक वर्ष ०७४/७५ र चालु आर्थिक वर्षको पहिलो तीन महिनाको तथ्यांकलाई आधार मानेर तयार पारिएको रिपोर्टः 

बलात्कारका घटना प्रदेश १ मा धेरै



प्रहरी प्रधान कार्यालयबाट प्राप्त विवरणअनुसार प्रदेश १ मा बलात्कारका घटना अधिक मात्रामा घट्ने गरेको छ । आर्थिक वर्ष ०७४/७५ को तथ्यांकलाई हेर्दा १ हजार ३ सय ८३ वटा  बलात्कारका घटना प्रदेश १ मा घटेका छन् । आर्थिक वर्ष ०७४/७५ मा प्रदेश १ मा ३ सय ८४ वटा बलात्कार भएका छन् । जसमध्ये, २ सय २१ वटा बालिका बलात्कारका घटना छन् । महिला बलात्कारका घटना १ सय ६३ छन् । 

त्यसैगरी, प्रदेश ५ मा २ सय ५९ जना बलात्कृत भएको देखिन्छ । जसमध्ये, बालिकाको संख्या १ सय ६६ छ भने १ सय २ महिला छन् । १ जनाको बारेमा भने केही खुलेको छैन । 



संख्यागत आधारमा हेर्दा प्रदेश ३ तेस्रो नम्बरमा छ । प्रदेश ३ मा १ सय ९१ बलात्कारका घटना भएका छन् । जसमध्ये, १ सय ९ घटनामा बालिकाको बलात्कार भएको छ भने ८२ बलात्कार महिलामाथि भएको छ । 

प्रदेश २ लाई हेर्दा आर्थिक वर्ष ०७४/७५ मा १ सय ७४ जनाको बलात्कार भएको देखिन्छ । जसमध्ये, बालिका १ सय ६ जना छन् भने ६५ महिला छन् । ३ जनाको बारेमा केही खुलेको छैन । 

त्यसैगरी, उक्त आर्थिक वर्षमा गण्डकी प्रदेशमा १ सय १८ बलात्कारका घटना भएका छन् । जसमध्ये, ७७ घटनामा बालिका पीडित भएका छन् भने ४१ घटनामा महिला पीडित छन् । 

कर्णाली र सुदूरपश्चिममा बलात्कारका घटना कम 

संख्यागत हिसाबले कर्णाली र सुदूरपश्चिम प्रदेशमा बलात्कारका घटना कम भएको देखिन्छ । तर, पछिल्लो समय धेरै चर्चामा रहेको निर्मलाको बलात्कारपछि हत्या भएको घटना भने सुदूरपश्चिमकै हो । 

आर्थिक वर्ष ०७४/७५ को तथ्यांकलाई हेर्दा सुदूरपश्चिम प्रदेशमा ८८ जनाको बलात्कार भएको छ । जसमा ४१ जना बालिका छन् भने ४६ जना महिला पीडित भएका छन् ।

सबैभन्दा कम बलात्कारका घटना कर्णाली प्रदेशमा भएका छन् । यस प्रदेशमा ५७ जनाको बलात्कार भएको छ । जसमध्ये, ३२ जना बालिका पीडित छन् । 

उपत्यकामा मात्रै दुई सय बलात्कारका घटना 

आर्थिक वर्ष ०७४/७५ को तथ्यांकलाई आधार मान्दा काठमाडौं उपत्यकामा मात्र दुई सय बलात्कारका घटना घटेका छन् । 

तीमध्ये, बालिका बलात्कारका घटना ९९ छन् भने महिला बलात्कारका घटना ८८ छन् । पीडितको उमेर नखुलेका १३ वटा बलात्कारका घटना भएको प्रहरी प्रधान कार्यालयको तथ्यांकले देखाउँछ ।

बालिका बलात्कारको घटना बढी 

प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार पीडितको उमेरअनुसार वर्गीकरण गरेर हेर्दा ११ वर्षदेखि १६ वर्षसम्मका बालिका बलात्कारका घटना अत्यधिक छन् । आर्थिक वर्ष ०७४/७५ मा  ५ सय ९० बालिकाको बलात्कार भएको तथ्यांकले देखाउँछ । 

त्यसैगरी, १० वर्षभन्दा मुनिका २ सय ६१ बालिकाको बलात्कार भएको छ । १९ देखि २५ वर्षसम्मका २ सय २१ महिला बलात्कारको सिकार भएका छन् । यसरी हेर्दा सबैभन्दा बढी बालिका बलात्कारको सिकार हुनेमा बालिका नै रहेका छन् । बढ्दै छ, बलात्कारको घटना 

नेपाल प्रहरीको तथ्यांकअनुसार आर्थिक वर्ष ०७१/७२ मा ९ सय ८१ वटा बलात्कारका घटना भएका छन् भने ०७२/७३ मा यस्ता ९ सय ६३ घटना भएका छन् । आर्थिक वर्ष ०७३/७४ को तथ्यांकलाई हेर्दा १ हजार १ वटा बलात्कारका घटना भएको देखिन्छ । ०७४/०७५ मा यो संख्या ४ सयले बढ्न गई १ हजार ४ सय ८३ पुगेको छ । 

यो तथ्यांकले बलात्कारको घटना वर्षैपिच्छे बढ्दै गएको देखउँछ । यो क्रम दुई वर्षयता निकै उच्च दरमा बढेको देखिन्छ । 

पछिल्लो ३ महिनामा ६ सयभन्दा बढी बलात्कार

प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार पछिल्लो तीन महिनामा मात्र बलात्कारका ६ सयभन्दा बढी घटना घटेका छन् ।

प्रहरी प्रधान कार्यालय नक्सालले दिएको तथ्यांकमा गत साउन, भदौ र असोजमा ६ सयभन्दा बढी बलात्कार भएको उल्लेख छ । जसमा, १८ वर्षमुनिका बालबालिकाको बलात्कारका घटना ३ सय ६८ छन् भने १९ वर्षभन्दा माथिका महिलाको बलात्कारका घटना २ सय २३ छन् । 

गत तीन महिनाको तथ्यांक हेर्दा बढी बलात्कार हुनेमा प्रदेश १ नै अघि छ । यो अवधिमा प्रदेश १ मा १ सय ५६ बलात्कारका घटना घटेका छन् । दोस्रो स्थानमा प्रदेश ५ छ, जहाँ ९४ वटा बलात्कारका घटना घटेका छन् । त्यस्तै, प्रदेश २ मा ८८ वटा बलात्कारका घटना घटेका छन् । काठमाडौं उपत्यकामा मात्र तीन महिनामा ८२ वटा बलात्कारका घटना भएका छन् । 

के भन्छ प्रहरी ? 

प्रहरी प्रधान कार्यालयका प्रवक्ता एसपी उत्तमराज सुवेदी बलात्कारका घटना बढ्दै जानुमा पर्याप्त मात्रामा जनचेतना र अभिवृद्धिका कार्यक्रमहरू सञ्चालन नहुनुलाई मुख्य कारण देख्छन् । 

फरकधारसँगको कुराकानीमा उनले बलात्कारमा परेका महिलाहरूले आफ्ना कुरा लुकाउन नहुने बताए । उनले भने, ‘बलात्कारको हिंसामा परेका महिलाहरूले आफ्नो कुरा लुकाउनुहुँदैन, क्षतिपूर्ति लिएर मिलापत्र गर्नुहुँदैन, यस्ता कुराको जनचेतना नबढेका कारण बलात्कारका घटनाको विवरण यसरी बढिरहेको छ ।’

सामाजिक सञ्जालको दुरुपयोगका कारण पनि यस्ता घटना बढ्दै गएको उनको तर्क छ । फेसबुक, भाइबरको मद्दतबाट साथी बन्ने र यस्तो मित्रतामा पर्याप्त सचेतता नअपनाइनुले पनि यस्तो घटना बढ्दै गएको उनले बताए । 

‘समाज झन् जटिल हुँदै छ, प्रविधिको विकाससँगै सोसल मिडियाको विकास छ । त्यसका राम्रा पक्ष पनि छन्, र विकृति पनि,’ उनी भन्छन्, ‘यस्ता विकृतिको न्यूनीकरणका लागि नेपाल प्रहरीले समुदाय प्रहरी साझेदारी अभियान सुरु गरेको छ । आशा छ, अब यस्ता घटनामा कमी होला ।’

‘पछिल्लो समय प्रहरी प्रशासन कमजोर भएको हो ?’ भन्ने प्रश्नमा सुवेदी भन्छन्, ‘प्रहरी प्रशासन कमजोर भएको छैन, झन् मजबुत हुँदै गएको छ । केही घटनालाई लिएर सारा प्रहरी प्रशासनको काम–कारबाहीलाई मूल्यांकन गर्नु राम्रो हुँदैन ।’ 

निर्मला पन्तको बलात्कार तथा हत्याको घटनाको अनुुसन्धानमा सय दिनसम्म पनि शून्य उपलब्धि हुनुले सिंगो प्रहरी प्रशासनलाई नै दुःखी बनाएको उनको भनाइ छ । यो केसलाई चाँडोभन्दा चाँडो अनुसन्धान गर्न प्रहरी प्रशासन लाग्नुपर्ने उनको तर्क छ ।

बलात्कारीलाई के छ कानुनी सजाय ? 

नयाँ मुलुकी ऐनको बलात्कारसम्बन्धी दफा २१९ मा जबर्जस्ती करणी गर्ने व्यक्तिलाई करणी गर्दाको परिस्थिति र पीडितको महिलाको उमेर हेरी दण्ड–सजायको व्यवस्था गरिएको छ । जसअनुसार,
–१० वर्षभन्दा कम उमेरकी बालिका भए १६ देखि २० वर्षसम्म कैद, 
–१० वर्षदेखि १४ वर्षभन्दा कम उमेरकी बालिका भए १४ वर्ष देखि १६ वर्षसम्मको कैद, 
–१४ वर्ष वा १४ वर्षभन्दा बढी, १६ वर्षभन्दा कम उमेरकी महिला भए १० वर्षदेखि १२ वर्षसम्म कैद, 
–१६ वर्ष वा १६ वर्षभन्दा बढी, १८ वर्षभन्दा कम उमेरकी महिला भए १० वर्षदेखि १२ वर्षसम्म कैद, 
–१८ वर्षभन्दा बढी उमेरकी महिला भए पीडकलाई ७ वर्षदेखि १० वर्षसम्मको कैद हुने व्यवस्था छ ।
 

  • प्रकाशित मिति : कात्तिक १९, २०७५ साेमबार १९:१९:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया