यसरी गर्नुहोस् लक्ष्मीपूजा

काठमाडौं– यमपञ्चकको तेस्रो दिन कार्तिक कृष्ण औंसी आज धनधान्य र समृद्धिकी देवी लक्ष्मीको पूजा गरी लक्ष्मीपूजा पर्व मनाइँदै छ । आजका दिन घरवरिपरि सरसफाइ गरी सिँगारेर बत्तीले झिलिमिली पारी लक्ष्मीपूजा गरेमा लक्ष्मीले सधैं बास गर्छिन् र ऐश्वर्य प्रदान गर्छिन् भन्ने धार्मिक विश्वास छ । 

तर, धेरैलाई लक्ष्मीपूजा कसरी गर्ने भन्ने द्विविधा छ । विधिपूर्वक लक्ष्मीको पूजा गर्दा लक्ष्मी माता प्रसन्न हुने धार्मिक कथन छ । लक्ष्मीको पूजा कसरी गर्ने भन्ने अन्योल हटाउन लक्ष्मीपूजा विधि अपनाउन सकिन्छ । 

पूजाविधि

सर्वप्रथम एक छेउमा रातो बस्त्र विछ्याउने । गणेश, लक्ष्मी र सरस्वती माता भएको तस्बिर रातो वस्त्रमाथि राख्ने । फोटोको अगाडि पूजाको थाली राख्ने । पूजाको थालीमाथि पनि रातो बस्त्र बिछ्याउने । रातो बस्त्र राखिएको थालीमा सुनचाँदीका अथवा केही डबल (सिक्का) राख्ने । अब अर्को थालीमा ११ अथवा २१ वटा दियो राख्ने । थालीको बीचमा एक स्वस्तिक चिह्न पनि राख्ने ।

त्यसपछि चार मुख भएको दियो थालीको बीचमा स्वस्तिक चिह्नमाथि राख्ने । अब सबैभन्दा पहिले चारमुखे भएको दियोमा दीप बाल्ने । त्यसपछि सबै दियो बाल्ने । गणेशजी, लक्ष्मीमाता र सरस्वती मातालाई तिलक लगाइदिने । देवताको पूजापछि सुनचाँदी तथा अन्य सिक्कालाई पनि पूजा गर्ने । त्यसपछि अक्षताले सबै दियोको पूजा गर्ने । अब गणेश, लक्ष्मीमाताको पञ्चोपचार पूजा गर्ने ।

पूजा गरिसकेपछि दियो हातमा लिएर गणेशजी र लक्ष्मीमाताको आरती गर्ने । त्यसपछि धूपले आरती गर्ने । पूजा र आरती सकिएपछि फूल अर्पण गर्ने र प्रसाद चढाउने । अब थालीमा रहेको चारमुखे र अन्य सात दियो थालीमा छोडेर बाँकी दियो घरका मूलद्वारमा राख्ने ।



यसबीचमा लक्ष्मीको मन्त्र ‘श्रीं स्वाहा’ कम्तीमा १०८ पटक जप गर्ने । हातमा दियो लिएर महालक्ष्मीमाताको बन्दना गर्दै घरका अन्य सदस्य वा छोरीलाई टीका लगाई प्रसाद दिने । यसरी लक्ष्मीमाताको पूजा विधि अपनाउन सकिन्छ । 
 



  • प्रकाशित मिति : कात्तिक २०, २०७५ मंगलबार १७:९:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया