सरकारसँग बुटवलका पहिरो प्रभावितको माग : राहत होइन, पहिरो नियन्त्रणको योजना बनाऊ
फरकधार / २१ कात्तिक, २०७८

बुटवल ज्योतीनगरका पहिरो प्रभावितहरूले राहतभन्दा पनि पहिरो नियन्त्रणको योजना बनाउन सरकारसँग माग गरेका छन् । चुरेबाट खसेको पहिरोले गत १३ र १४ भदौमा ज्योतीनगरका एक दर्जन घर पुरिएका थिए भने ५० घर जोखिममा परेका थिए ।



पहिरोले ठूलो क्षति पुर्‍याएपछि पहिरो प्रभावित क्षेत्रका बासिन्दाले अब दीर्घकालीन योजना बनाएर पहिरो नियन्त्रण थाल्न माग गरेका हुन् ।

२० भदौ २०५५ मा सोही क्षेत्रमा गएको पहिरोले ६० घर पुरिएका थिए । त्यसपछि विस्थापित भएका परिवारलाई सरकारले क्षतिपूर्ति दिएको थियो । तर, अब राहत र क्षतिपूर्ति भन्दा पनि तत्काल ठोस योजना बनाएर पहिरो नियन्त्रणको काम थाल्न स्थानीयवासीले तीन तहकै सरकारलाई दबाब दिन थालेका छन् ।

अब संघ, प्रदेश र स्थानीय तीनै तहका सरकारले पहिरो नियन्त्रणका लागि काम थाल्नुपर्ने चुरे–तिनाउ संरक्षण समितिका संयोजक कमल गौतम बताउँछन् । तारजाली बिछ्याएर मात्र पहिरो नियन्त्रण हुन नसक्ने भएकाले विज्ञहरूको अध्ययनका आधारमा दीर्घकालीन नियन्त्रणको प्रयास गर्नुपर्ने उनको भनाइ छ ।



भूकम्प र चुरे क्षेत्रमा खनेको सडकका कारण थप ठूलो पहिरो जान सक्ने भएका कारण बेलैमा सचेतना अपनाउनुपर्ने उनले बताए । पहिरो गएसँगै एक साता घर छाडेका बुटवल–३ ज्योतिनगरका किरण ज्ञवालीले अरूबेला बेवास्ता गर्ने तर पहिरो गएपछि मात्र तदारुकता देखाउने कामले सरकारले पहिरो नियन्त्रण गर्ला भनेर आश लाग्न छाडिसकेको बताए । 

‘अब अहिल्यैबाट नै नियन्त्रणको काम भएन भने अर्को वर्ष झन् ठूलो पहिरो जान सक्ने जोखिम कायमै छ, बरु हामीलाई राहत चाहिँदैन, पहिरो नियन्त्रण भए  पुग्छ,’ उनले भने ।

पहिरोका कारण विस्थापित भई भाडामा बस्न पुगेका स्थानीयलाई बुटवल उपमहानगरपालिकाले भाडा तिरिदिने निर्णय गरेको थियो । तर, उक्त भाडाबापतको रकम पनि स्थानीयले अझैसम्म पाएका छैनन् । 

राहत स्वरूप जिल्ला प्रशासन कार्यालय रूपन्देहीले प्रतिपरिवार १५ हजार रुपैयाँ दिएको विस्थापित सीता मल्ल बताउँछिन् । कतिपयले सो क्षेत्रको बस्ती स्थानान्तरणको मागसमेत गरेका छन् । २०५५ सालमा गएको पहिरोका कारण ५७ घरलाई स्थानान्तरण गरिएको थियो । 

त्यतिबेला प्रत्येक परिवारलाई बुटवल तामनगरमा १०/१० धुरका दरले सरकारले जग्गा उपलब्ध गराएका थियो । तर, स्थानीयले पहिरो गएको क्षेत्रको जग्गा बिक्री गरे, सरकारले दिएको जग्गामा घर बनाएर बसे ।

ज्योतिनगर क्षेत्रमा पहिरो गएपछि विज्ञ टोलीले स्थलगत अध्ययन गरी प्रतिवेदनसमेत बुझाइसकेको छ । भूगर्भविद डा‍. रञ्जन दाहालसहितको टोलीले गरेको अध्ययनपछि तयार पारिएको प्रतिवेदनमा चुरेमा पानीका मूलहरू प्रयाप्त रहेको, तिनको व्यवस्थापन नभएको र वर्षातमा परेको पानीको समेत व्यवस्थापन नभएकाले पहिरो गएको उल्लेख गरिएको छ । 

अध्ययन टोलीले पनि परम्परागत तारजालीको प्रयोगले मात्र पहिरो नियन्त्रण नहुने औंल्याएको छ ।

यता, बुटवल उपमहानगरपालिकाले भने पहिरो नियन्त्रणका लागि अल्पकालीन र दीर्घकालीन योजना बनाउन सुरु गरिसकेको बताएको छ । ‘हामीले विज्ञ टोली खटाएर अध्ययन गरिसकेका छौँ, अब प्रदेश सरकारसँग समन्वय गरेर पहिरो नियन्त्रणको खाका बनाउँछौं’, उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले भने । 

पहिरो गएको चुरे क्षेत्रमा वनस्पतिहरू रोप्ने, ठूला रुखहरू नम्बरिङ गरी हटाउने र प्राविधिक टोलीको अध्ययनको आधारमा पानीको निकास खोज्ने गरी पहिरो नियन्त्रणका प्रयासहरू गर्ने उपमहानगरको योजना छ । –न्यज कारखाना 

  • प्रकाशित मिति : कात्तिक २१, २०७८ आइतबार १४:५३:५८,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected]ar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया