दर्शक हलमा तान्दै चलचित्र ‘सूर्यवंशी’

लगभग दुई वर्षदेखि सुनसान रहेका सिनेमाघर केही दिनदेखि भरिभराउ छन् । कोरोनाका कारण पूर्ण रूपमा बन्द रहेका सिनेमाघर खोल्ने सरकारी अनुमति पाएको पनि लामै समय गुज्रिसक्यो । यो बीचमा हल सञ्चालकहरूले केही पुराना नेपाली चलचित्र तथा केही बलिउड, हलिउडका चलचित्र प्रदर्शन गरेर दर्शक तान्ने प्रयत्न गरे । दसैंको अवसरमा नयाँ नेपाली चलचित्र ‘डाँडाको वरपीपल’ प्रदर्शन गरियो । चलचित्रले पोस्टरको पैसासमेत असुल्न सकेन । केही दिन ‘महानायक’ विवाद निकालेर दर्शकको ध्यान खिच्न खोजेका निर्माता निर्देशक त्यहीं विवादमा चिप्लिए । फिल्म हलबाट उत्रियो ।

तिहारको अवसर पारेर अक्षय कुमार अभिनित बलिउड चलचित्र ‘सूर्यवंशी’ हलमा लाग्यो । पहिलो ‘साे’बाटै हलका सिट खचाखच देखिए । लामो समयदेखि सुनसान रहेको सिनेमाघरमा चहलपहल देखियो । विदेशी चलचित्रको आलोचना गरेर नथाक्ने निर्माता तथा कलाकार दीपकराज गिरी पहिलो पटक बलिउड चलचित्रको पक्षमा उभिए । उनले लेखे, ‘सूर्यवंशी’ समय । हल खचाखच छ ! चलचित्र विदेशी हो तर यो अवस्थामा दर्शक हलसम्म ल्याउने काम गरेकोले सबैले सपोर्ट गरौं !’

नेपालमा मात्रै होइन, रोहित शेट्टी निर्देशित चलचित्र ‘सूर्यवंशी’ले बलिउड सिने उद्योगमा पनि राम्रो व्यापार गरिरहेको छ । रिलिजको पहिलो दिन नै यो चलचित्रले २६.२९ करोड भारतीय रुपैयाँ कमायो । शुक्रबारबाट प्रदर्शनमा आएको आएको ‘सूर्यवंशी’ले भारतीय बक्स अफिसमा दुई दिनमै ५० करोड भारतीय रुपैयाँको व्यापार गरेको छ। 

चलचित्रमा अक्षय र कैटरिना कैफकाे अलवा रणवीर सिंह, अजय देवगन, गुलशन ग्रोवर, सिकंदर खेर, अभिमन्यु सिंह र जावेद जाफरी लगायतका कलाकारले पनि अभिनय गरेका छन् । चलचित्रले भारतका मात्र होइन, नेपालका दर्शकलाई पनि हलमा फर्काएको छ ।





  • प्रकाशित मिति : कात्तिक २२, २०७८ साेमबार १२:२६:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया