मछिन्द्र क्लब शहीद स्मारक ए डिभिजन लिगको साविक विजेता टोली हो । सन् १९७३ मा स्थापना भएको यो क्लबले बी डिभिजन लिग हुँदै २००५ बाट ए डिभिजन लिग खेल्न थालेको हो । मछिन्द्र क्लबका म्यानेजर अनिल श्रेष्ठ हुन् । उनले नै क्लबको हरेक गतिविधिको रेखदेख गर्दै आएका छन् ।
खेलमा खेलाडीको छनोट अनि प्रस्तुतिका कारण मछिन्द्र क्लबले ए डिभिजन लिगका खेलहरूमा पनि चर्चा कमाउँदै आइरहेको छ । नेपालकै सर्वाधिक चर्चामा रहेको ए डिभिजन लिगमा राम्रो प्रदर्शन गर्दै आइरहेको मछिन्द्र क्लब यस पटक पनि बलियो टोली निर्माण गर्न लागिपरेको छ ।
साबिक विजेता समेत रहेकोले यस पटक उपाधिको प्रबल दाबेदार टोली हो मछिन्द्र क्लब । यस क्लबको आफ्नै मैदान भने छैन ।
म्यानेजर अनिल श्रेष्ठ भन्छन्, ‘आफ्नो मैदान नहुँदा प्रशिक्षणमा निकै समस्या हुने रहेछ । अर्काको मैदानमा प्रशिक्षण गर्नु र अर्काको घरमा भाडामा बस्नु एकै हो ।’
क्लबको आम्दानीको मुख्य स्रोत आफ्ना भवनबाट उठेको भाडा, शेयर धनीले उठाएको रकम र स्पोन्सरबाट उठेको रकम हो । क्लबले जारी सिजनका लागि साढे २ करोडको बजेट छुट्याएको छ । जसबाट खेलाडीको तलब, प्रशिक्षकको तलब तथा खेल मैदानको खर्च तिर्ने गरेको म्यानेजर श्रेष्ठले बताए ।
उनी भन्छन्, ‘हालसम्म मुख्य आर्थिक भार क्लबले नै बेहोरेको छ । यस पटकबाट भने केही नयाँ व्यवस्थासहित क्लबमा रहेका सेयर होल्डरहरूले पनि खर्च बेहोर्ने प्रावधान बनाएका छौं ।’
क्लबमा १० लाख माथिको शेयर राख्ने १० जना र अन्य गरी क्लबको खर्च धान्दै आएका छन् ।
क्लबमा भने आर्थिक आम्दानीको श्रोत भनेको नगरपालिकाको बजेट, एन्फाद्धारा प्रत्येक क्लबका लागि छुट्याइएको बजेट रहेको श्रेष्ठले जानकारी दिए । ए डिभिजन लिगको तयारीमा रहेको मछिन्द्रको जारी सिजनमा स्पोन्सर भने अझै टुङ्गो लागेको छैन ।
खेलाडीको तलब
मछिन्द्र क्लबमा अहिले धेरै राष्ट्रिय टोलीमा रहेका स्टार खेलाडीहरु छन् । टोलीमा रहेका खेलाडीलाई कम्तीमा ८० हजारदेखि बढीमा १ लाख ३० हजारसम्म दिने गरेको टोलीका म्यानेजर श्रेष्ठले बताए ।
म्यानेजर श्रेष्ठ भन्छन्, ‘हामी यसवर्ष पनि उपाधि चुम्ने योजनासहित तयारी गरिरहेका छौं । त्यसैले खेलाडी छनोटदेखि हरेक कुरामा ध्यान दिएका छौं ।’
अघिल्लो वर्षकै प्रशिक्षक प्रवेश कटुवाललाई नै क्लबले निरन्तरता दिएको छ ।
प्रवेशले गत वर्ष भएको ए डिभिजन लिगबाट आफ्नो प्रशिक्षणको यात्रा सुरु गरेका थिए । पहिलो प्रयासमा नै सफल भएका प्रशिक्षकलाई यसवर्ष पनि क्लबले विश्वास देखाएको हो ।
मछिन्द्रको ए डिभिजन यात्रा
बी डिभिजन लिगदेखि सन् २००४ मा नै ए डिभिजन लिगमा बढुवा भएको टोलीले २००५ बाट मात्र ए डिभिजन लिग खेल्न थालेको हो । ए डिभिजनमा प्रवेशको सुरुवाती चरणमा खासै राम्रो प्रस्तुति दिन नसकेको टोलीले विस्तारै आफूलाई सुधार्दै उपाधि चुम्न समेत सफल भएको थियो ।
यस टोलीले २०१३÷१४ मा भएको ए डिभिजन लिगको दोश्रो स्थानमा चित्त बुझाएको थियो । त्यस्तै २०१९÷२० मा भने यो टोलीले उपाधि चुमेको थियो ।
सन् २००५ मा पहिलो पटक ए डिभिजन लिग खेल्दा मछिन्द्र क्लब १४ टोलीमध्ये १३ औं स्थानमा रहेको थियो । त्यस्तै २००६ मा छैटौं भएको थियो । २००७ देखि २०१० सम्म भने ए डिभिजन लिग नै आयोजना भएन । एन्फा तथा फुटबलमा आएका विभिन्न समस्याका कारण लिग आयोजना हुन सकेन ।
२०११ मा भएको नेशनल लिगमा भने मछिन्द्र क्लबले सहभागिता जनाएन । २०१२ मा पनि छैटौं स्थानमा रहँदै त्यस वर्षको लिग समाप्त भएको थियो । २०१३ मा भने टोली उपाधि चुम्नबाट चुक्दै दोश्रो स्थानमा रही चित्त बुझाएको थियो । २०१५ मा भने मछिन्द्र क्लबले ए डिभिजन लिगमा भाग लिन पाएन । सन् २०१६ र २०१७ मा पनि लिग भएन ।
२०१८ मा भएको लिगमा मछिन्द्र क्लबले राम्रो प्रदर्शन गर्न सकेन । जसका कारण १४ मध्ये १३ औं स्थानमा रहँदै मछिन्द्रले लिग सकायो । सन् २०१९/२० मा भने उत्कृष्ठ पुनरागमन गर्दै मछिन्द्र क्लबले ए डिभिजन लिगको उपाधि जित्यो ।
मछिन्द्रबाट ए डिभिजन लिग खेल्ने स्टार खेलाडी
मनिष डाँगी
नेपाली टोलीबाट राम्रो प्रदर्शन गरिरहेका मनिष डाँगीले यस वर्षको ए डिभिजन लिग मछिन्द्र क्लबबाट खेल्ने भएका हुन् । पहिलो पटक नेपाली लिग खेल्न लागेका उनलाई मछिन्द्रले अनुबन्ध गरेको हो । उनी राष्ट्रिय टोलीका हाल उदीयमान फरवार्ड हुन् । उनी हाल २० वर्षका भए ।
रजिन सुब्बा
रजिन सुब्बा मछिन्द्रका लागि यस वर्ष खेल्ने अर्का युवा खेलाडी हुन् । उनी यू–१९ टोलीका कप्तान समेत गरिसकेका छन् । उनले यसअघि नेपालका तर्फबाट यू–२३ पनि खेलिसकेका छन् ।
रजिनले चोटका कारण गत वैशाखमा भएको नेपालको पहिलो फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) गुमाएका थिए । यस टोलीका लागि उनी फरवार्डका रुपमा अनुबन्धित भएका छन् । रजिनले यसअघिको संस्करण पनि मछिन्द्रबाट नै खेलेका थिए ।
अभिषेक रिजाल
अभिषेक रिजाल मछिन्द्रले अनुबन्ध गरेका अर्का युवा खेलाडी हुन् । उनी राष्ट्रिय टोलीका फरवार्ड हुन् । उनी पनि ताजकिस्तानमा भएको यू–२३ एसियन कप छनोट खेलेर फर्किएका हुन् । उनले यसअघिको संस्करण पनि मछिन्द्रबाट नै खेलेका थिए ।
उनले २०१९ मा पहिलो पटक नेपाली राष्ट्रिय टोलीबाट खेल्ने अवसर प्राप्त गरेका थिए ।
यी खेलाडी बाहेक यस टोलीमा विमल घर्ती मगर, विशाल श्रेष्ठ, रञ्जित धिमाल जस्ता स्टार खेलाडी पनि यस टोलीमा अनुबन्ध रहेका छन् ।
लामो समयपछि मैदानमा फर्किएका विमल घर्ती मगरलाई पनि यसपटक मछिन्द्रले अनुबन्ध गरेको छ । गतवर्ष मछिन्द्रबाट एक खेल मात्र खेलेका थिए । त्यस्तै राष्ट्रिय टोलीका डिफेन्डर रजिन धिमाल, गोलकीपर विशाल श्रेष्ठ पनि यसै क्लबमा आवद्ध छन् ।
टोलीले अजरबैजानका २ खेलाडीलाई अनुबन्ध गरेको छ । टोलीले नुर्लान जाहिद र सादिक गुलिभलाई टोलीमा अनुबन्ध गरेको हो । त्यस्तै नेपाली राष्ट्रिय टोलीका डिफेन्डर छिरिङ गुरुङलाई पनि टोलीमा अनुबन्ध गरेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।