समाजका बारेमा नबोल्ने लेखक ‘लेखक’ होइनन्

लेखक तथा साहित्यकार पूर्ण रूपमा समाजसँग सम्बन्धित व्यक्ति हुन् । समाजका बारेमा बोल्नु उनीहरूको पहिलो कर्तव्य हुन्छ ।

अहिलेको समयमा स्रष्टाहरू देशमा भएका सामाजिक मुद्दामाथि विभिन्न तरिकाबाट आफ्ना आवाज उठाइरहेका हुन्छन् । नाराजुलुसमा सामेल भएर तथा सामाजिक सञ्जालमा आफ्ना विचार पोखेर आवाज उठाइरहेका हुन्छन् । व्यस्त हुने लेखकले पनि समय–समयमा आफ्ना आवाज उठाइरहेका हुन्छन् । केही लेखक–साहित्यकार भने व्यक्तिगत तथा पेसागत कारणले यस्ता विषयमा मौन बस्ने गरेका छन् ।

साहित्यकारको काम भनेको समाजका बारेमा बोल्नु तथा लेख्नु हो । लेखकको दायित्व, भूमिका र परिचय प्रत्यक्ष रूपमा सामाजिक हुन्छन् । उनीहरूले लेख्ने भनेकै समाजका लागि हो । उसले सरोकार राख्ने ठाउँ पनि समाज नै हो । 

साहित्यकारले समाजप्रति बोल्नुमा विभिन्न तवरबाट असर गरिरहेको हुन्छ । समाजमा विभिन्न मुद्दामामिला तथा अभियान हुन्छन् । लेखक–साहित्यकारले यस्ता मुद्दामामिलामाथि बोलेर तिनीहरूलाई वैचारिक ढंगले विश्लेषण गर्नु आवश्यक हुन्छ । पुराना मुद्दामामिलामाथि बोलेर तिनीहरूलाई निष्क्रिय बनाउने काम लेखक–साहित्यकारको पनि हुन्छ । समाजलाई सही ढंगले चलाउन कस्ता नीतिनियम, मुद्दामामिला तथा अभियान चाहिन्छ भन्ने विषयमा लेखक–साहित्यकार सचेत हुनुपर्छ । 

साहित्यकारका विचारले समाजलाई राम्रो बाटोमा हिँडाउन विभिन्न रूपमा असर गरिरहेका हुन्छन् । भलै ती असरले तत्कालै परिणाम देखाउन सक्दैनन् । तर, बिस्तारै उनीहरूले बालेका तथा लेखेका विषयले समाजमा साझा चेतना ल्याउन ठूलो भूमिका खेलिरहेको हुन्छ ।

लेखक–साहित्यकार स्वतन्त्र भएर बाँच्न जरुरी हुन्छ । अहिलेको नेपाली परिपेक्षमा देशमा भएका विभिन्न घटनामाथि लेखक–साहित्यकार नबोल्नुले धेरै नकारात्मक अर्थ राख्छ ।



सरकारको पक्षमा रहेका लेखक–साहित्यकार यस्ता विषयमा बोलेमा आफूलाई असर गर्ने भएकाले पनि नबोल्ने गरेका छन् । कुनै सरकारी पेसामा नियुक्त हुन चाहने लेखक सरकारको विपक्षमा जान सक्दैन ।

सरकारको पक्षमा नरहेर लेखकले आफ्नै सार्वभौमिकताभित्र रहेर लेख्नु जरुरी हुन्छ । विभिन्न सामाजिक तथा सरकारी मुद्दामामिलामा आफ्नो धारणा प्रस्तुत नगर्ने साहित्यकार सरकारी कित्ताका लेखकभित्र पर्न जान्छन् । जुन यसै पनि लेखकको धर्मभन्दा विपरीत कुरा हो । 



कतिपय लेखक लेखनलाई एकान्तको साधनाका रूपमा लिने भएकाले पनि चुप रहन्छन् । यसलाई भने नकारात्मक रूपमा लिन मिल्दैन । उनीहरूले भएका घटनाका बारेमा तत्कालै विचार प्रस्तुत नगरे पनि लेखरचना प्रकाशित हुँदा कतै न कतै यस्ता कुरा उठाएकै हुन्छन् ।

दक्षिण एसियाली मुलुकका अविकसित सरकार साहित्यकारलाई निष्क्रिय बनाउन चाहन्छन् । गलत निर्णय तथा कामबारेमा साहित्यकार चूप बसोस् भन्ने चाहन्छन् ।  लोकतान्त्रिक व्यवस्थाभित्र भएका यस्ता अलोकतान्त्रिक सरकारले साहित्यकारलाई मौन रहन लगाएका हुन्छन् । साहित्यकार पनि सरकारी डरका कारण आवाज उठाउन, कलम चलाउन सक्दैनन् । 

वास्तवमा साहित्यकारको काम भनेको समाजमा चलिरहेका सिमाना भत्काउने, जमेर रहेका रुढि परम्परा हटाउने हो । समाजमा भएका सबै आवाजलाई बोल्ने काम लेखकको हो । उसको कलमबाट हरेकको आवाज जागरुक हुनुपर्छ । लेखकको दायित्व पूर्णरूपमा समाजमा भएका कुरीति परम्परालाई भत्काउने पनि हो । सत्ताको विपक्षमा गएर समाजका लागि बोल्न नसक्ने लेखक ‘लेखक’ हुन सक्दैन ।

एकजना पञ्जाबी कविले साहित्यकारहरूलाई सम्बोधन गर्दै आफ्नो कवितामा ‘सत्ताको विपरीत बोल्न नसक्ने तिमी के साहित्यकार भयौं र’ लेखेका छन् । वास्तवमा गलत निर्णय, काम, नीतिलगायतका अन्य समाजमा असर गर्ने विषयमा साहित्यकार बोल्न सक्दैन भने ऊ कदापि पनि लेखक हुन सक्दैन ।

विभिन्न सरकारी अवसरहरू पाउन यस्ता विषयमा बोल्न नचाहनेहरूको नाम भोलि राम्रा लेखकको रूपमा रहँदैन । हाम्रै देशमा पनि एकेडेमीलगायतका अन्य विभिन्न सरकारी पेसामा लाग्न चाहने साहित्यकार छन् । उनीहरू सामाजिक तथा राजनीतिक विषयमा मौन बस्छन् । यस्ता विषयमा बोल्दा उनीहरू ‘नियुक्ति’ पाइँदैन भन्ने डर पालिरहेका हुन्छन् । सरकारले दिने सेवासुविधाको लोभमा चुपचाप बस्नुले उनीहरूको ‘लेखक’को परिचय समाप्त हुन्छ । भोलिको दिनमा इतिहास पल्टाएर हेर्दा उनीहरूको नाम साहित्यकारको सूचीमा रहन लायक हुँदैन । 

लेखकको मुख्य धर्म नै बोल्नु हो । समाजलाई सचेत गराउनु हो । शक्तिशाली लेखकले जहिल्यै पनि समाज र देशमा भएका गलत कामको आलोचना गर्नुपर्छ । अन्यायविरुद्ध बोल्नु नै लेखकको मुख्य कर्तव्य र पेसा हो । 

जुन लेखकको कलमबाट गलतलाई गलत भन्दै आलोचना गर्ने शब्द निस्कन सक्दैन उनीहरू ‘लेखक’को परिचयमा बाँच्न लायक हुँदैनन् । आज कुनै सरकारी पदमा बसेर वा अन्य कुनै कारणले सामाजिक तथा राजनीतिक रूपमा भएका अन्यायविरुद्धमा आवाज नउठाउने लेखकको नाम इतिहासमा गतिलो नाम रहन सक्दैन ।
 

  • प्रकाशित मिति : कात्तिक २४, २०७५ शनिबार ७:२२:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया