तेहरान– अमेरिकी ‘कठोर’ आर्थिक प्रतिबन्धका बाबजुद इरानले तेलको कच्चा पदार्थ अन्तर्राष्ट्रिय बजारमा बेच्ने राष्ट्रपति हसन रौहानीले सोमबार जनाएका छन् । इरानले वासिङ्टनद्वारा आफूमाथि लगाएको प्रतिबन्धलाई ‘उचित’ रूपले तोड्नेछ, अमेरिकाले इरानविरुद्ध सोमबारदेखि लागू हुनेगरी लगाएको नयाँ प्रतिबन्धको केही घन्टापछि राष्ट्रपति रौहानीले बताए ।
हाम्रो समाजमा रहेको एकता र इरानी जनताको सहयोगमा हामीले अमेरिकीहरूलाई इरानविरुद्ध दबाब र चेतावनीको भाषा प्रयोग गर्न नहुने पाठ सिकाइनेछ । रौहानीलाई उद्धृत गरी राज्य सञ्चालित टेलिभिजनले उल्लेख गरेको छ ।
‘अमेरिकी अधिकारीहरू यो बुझेका छन् कि इरानी तेल बजारलाई विस्थापित गर्न सकिँदैन,’ उनले भने, ‘इरानसँग पहिल्यै सम्झौता गरिसकेका केही मुलुकलाई अमेरिकीहरूले कारोबार गर्न निषेध गरेपनि हामीले हाम्रो तेललाई बेच्न सक्छौँ । त्यसका लागि उपयुक्त क्षमता हामीसँग छ ।’
अमेरिकाले सन् २०१५ मा उसकै नेतृत्वमा अन्य विश्व शक्तिराष्ट्रहरू चीन, रूस, बेलायत, जर्मनी र फ्रान्सलगायतले गरेको सम्झौतापछि इरानविरूद्ध लगाइएका सम्पूर्ण प्रतिबन्ध फुकुवा गरेको वासिङ्टनले गत शुक्रबार अर्को घोषणा गर्दै सोमबारबाट अझ कठोर भनिएको प्रतिबन्ध लागु गरिएको जनाएको छ ।
अमेरिकाको प्रतिबन्धले विश्वका उर्जा, जलयात्रा, पानीजहाजको निर्माण र आर्थिक क्षेत्रजस्ता केही मुलुकका संवेदनशील क्षेत्रलाई लक्षित गरेको बताइने गरेको छ । वासिङ्टनले इरानले उक्त क्षेत्रमा अस्थिरता तथा हिंसा सिर्जना गरेको दाबी गरेको छ भने यसको तेहरानले खण्डन गर्ने गरेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।