कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले यातायात व्यवस्था कार्यालय सुर्खेतको आकस्मिक अनुगमन गरेका छन् ।
उनले यातायात व्यवस्था कार्यालयले प्रदान गर्ने सेवा सुविधाको जानकारी लिन आकस्मिक अनुगमन गरेका हुन् ।
त्यसक्रममा मुख्यमन्त्री शाहीले सेवाग्राहीसँग सेवा लिने क्रममा देखिएका समस्या र समाधानको उपायका बारेमा छलफल गरेका छन् ।
उनीसँग सेवाग्राहीहरूले अनुसूची फारम कार्यालयले भर्न नदिएको, दलालमार्फत भर्दा १५ रुपैयाँ लाग्ने फारमलाई १०० रुपैयाँ लिने गरेको, पैसा तिर्नका लागि पनि घण्टौंसम्म लाइनमा बस्नुपर्ने बाध्यता रहेको गुनासो गरेका थिए ।
सेवाग्राहीका गुनासा सुनेपछि मुख्यमन्त्री शाहीले अनलाइनमार्फत शुल्क तिर्ने व्यवस्था तत्काल मिलाउन, आवश्यक जनशक्ति प्रदेश सरकारसँग माग गर्न कार्यालय प्रमुखलाई निर्देशन दिए । उनले कार्यालय आफैँले गर्न सक्ने न्यूनतम कामहरू पनि नभएको भन्दै तत्काल सुधार र सेवाका कामहरूलाई अघि बढाउन निर्देशन दिए ।
उनले सेवाग्राहीको गुनासा सम्बोधनका लागि सुर्खेतका प्रमुख जिल्ला अधिकारी छवि रिजालसँग पनि छलफल गरेका थिए ।
मुख्यमन्त्री शाहीले यातायात कार्यालय बाहिर अनुसूची फारम भर्ने प्रयोजनका लागि खोलिएका अवैध पसल तत्काल बन्द गर्न, सवारी साधन र पार्किङको व्यवस्था मिलाउन निर्देशन दिए ।
उनको निर्देशनलगत्तै जिल्ला प्रशासन कार्यालयले यातायात कार्यालय बाहिरका पसलहरू तत्काल हटाउने र ट्राफिक व्यवस्थापन मिलाउने प्रक्रिया सुरु गरिएको बताएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।