रिहाइ माग्दै सर्वोच्च पुगे शोभराज, सर्वोच्चले दियो कारण देखाऊ आदेश

काठमाडौं– १५ वर्षदेखि नेपाली जेलमा रहेका कुख्यात इन्टरनेसनल सिरियल किलर चाल्र्स शोभराज रिहाइको माग गर्दै सर्वोच्च अदालत पुगेका छन् । रिहाइको मागसहित उनले निवेदन दिएकै दिन सर्वोच्चले सरकारको नाममा कारण देखाऊ आदेश जारी गरेको छ ।

शोभराजले नेपालको संविधान, कारागार नियमावली, सजाय माफी मुल्तबी, परिवर्तनसम्बन्धी कार्यविधि, ज्येष्ठ नागरिक ऐन र सर्वोच्च अदालतकै विगतका नजिरका आधारमा आफूले छुट पाउनुपर्ने निवेदनमा दाबी गरेका छन् । २६ प्रतिशत मात्र कैद भुक्तान गर्न बाँकी रहेको अवस्थामा समेत सजाय माफी नभएको उनले निवदेनमा जिकिर गरेका छन् । 
शोभराजको निवेदनमा पहिलो सुनुवाइ गर्दै सर्वोच्चले सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको हो । न्यायाधीश राणाको इजलासले सरकारसँग लिखित जवाफ माग्दै १५ दिनभित्र जवाफ दिन भनेको छ ।

२ असोज ०६० देखि १ असोज ०८० सम्म २० वर्ष कैद भुक्तान गर्नुपर्नेमा १५ वर्ष भुक्तान गरेको निवेदनमा शोभराजले दाबी गरेका छन् । केन्द्रीय कारागार प्रमुखले २० वैशाख ०७५ मा कारागार नियमावलीअनुसार ज्येष्ठ नागरिकले पाउने छुट सुविधाअन्तर्गत २६ प्रतिशत मात्र कैद बाँकी रहेकाले सिफारिस गरेको तर सुविधा नपाएको उनको दाबी छ । 

शोभराजले यसअघि नेपालको कारागारमा रहेका अमेरिकी नागरिक फेनिज मेसिनटोसको नजिरलाई देखाउँदै छुट माग गरेका थिए । मेसिनटोसको मुद्दामा सर्वोच्चले ७ वर्ष कैद सजाय भएकोमा ३ वर्ष ८ महिना २१ दिन जेल बसेपछि छुट दिएको थियो । 
क्यान्सरको गम्भीर बिरामी भएका र ७५ वर्षको वृद्ध अवस्थाका आधारमा उनलाई ३ वर्ष ३ महिना ७ दिन कैद छुट दिने फैसला सर्वोच्चले गरेको थियो । कारागारमा रहेका उनी सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण निवेदन लिएर गएका थिए । 
२५ भदौ ०७५ मा उनी रिहा भएको तर आफू भने ७० वर्ष उमेर पार गर्दासमेत उक्त सुविधावाट वञ्चित भएको शोभराजको जिकिर छ । शोभराजले आफू मात्र त्यस्तो विदेशी कैदी भएको, जो १५ वर्षदेखि नेपालको जेलमा रहेको दाबी गरेका छन् । अन्य विदेशी कैदीहरू ८ देखि १० वर्षमा रिहा भएका तर आफूमाथि भने अन्याय भएको उनको दाबी छ ।

६ पुस ०३२ मा क्यानेडियन नागरिक लोरेन्ट क्यारियरको हत्या गरेर शव टुक्रा पारी भक्तपुरको मनोहरा खोलामा फालेको प्रकरणमा शोभराज भक्तपुर जिल्ला अदालतबाट दोषी ठहर भएका थिए । 





  • प्रकाशित मिति : कात्तिक २०, २०७५ मंगलबार १९:२७:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया