परशुराम खापुङ : कम्युनिस्ट, निर्दलका पक्षपाती हुँदै गणतन्त्रमा प्रदेश प्रमुख

जतिवेला पञ्चायती व्यवस्थाले बहुदलको पक्षमा कुरा गर्नेलाई जहाँ भेट्यो त्यहीँबाट पक्राउ गर्थ्यो, त्यतिबेला तेह्रथमको मोरहाङ गाउँमा वामपन्थीहरुलाई सेल्टर दिन्थे, परशुराम खापुङ । स्थानीय गौर्थली माविका अंग्रेजी शिक्षक उनी विद्यार्थीलाई किताब मात्रै पढाउँदैन थिए, पञ्चायतविरुद्ध आन्दोलन गर्न र संगठित हुन उक्साउँथे पनि । दिनभरि शिक्षक उनी रात परेपछि क्रान्तिकारीका गुरु बन्थे ।
 
पूर्वी नेपालमा कम्युनिस्टहरुले स्थापना गरेको रातो झण्डाका सदस्य परशुराम पछि नेपाल कम्युनिस्ट पार्टी मालेमाको सदस्य भए । यो ४०को दशकको कुरा हो । जतिबेला पञ्चायतले बहुदलका पक्षमा कुरा गर्नेहरुलाई जेल र नेलको सजाय दिन्थ्यो । 

त्यहीबेला उनी वामपन्थी विचार राख्ने शिक्षकहरुको संगठन नेपाल शिक्षक संगठनको जिल्ला अध्यक्ष र केन्द्रीय सदस्य थिए । शिक्षकहरुको नेता र  क्रान्तिकारी भएका कारण खापुङलाई २०४३ सालको निर्वाचनमा उनलाई जनपक्षीय उम्मेद्वारको रुपमा उठाइयो । उनले प्रतिनिधिसभाको निर्वाचन पनि जिते । 

तर, जनपक्षीय उम्मेदवार बनेर जितेका खापुङ निर्दलको पक्षमा लागे । निर्वाचन जितिसक्दानसक्दै उनी पञ्चायती व्यवस्थाका पक्षपाती भए । निर्वाचन जितेपछि खापुङ खानेपानी सहायकमन्त्रीसमेत बने ।
 
पञ्चायती व्यवस्थाको पक्षपाती भएपछि उनी तत्कालीन प्रधानमन्त्री तथा राप्रपाका नेता सूर्यबहादुर थापाका विश्वासपात्र भए । ०४६ सालको जनआन्दोलनका बेला खानेपानी सहायकमन्त्री रहेका खापुङ प्रजातन्त्र पुर्नस्थापनापछि संयुक्त सरकारमा केही दिन मन्त्री पनि भए ।
 
सूर्यबहादुर थापा जीवित रहुन्जेल उनीसँगै रहेका खापुङ पछि भने बाबुराम भट्टाराईले नेतृत्व गरेको नयाँ शक्ति पार्टीमा लागे । बाबुराम भट्टराईसँगै जनता समाजवादी पार्टीमा लागेका खापुङ जसपाका कार्यकारणी सदस्य बने । उनै खापङुलाई सरकारले मंगलबार प्रदेश १को प्रदेश प्रमुखमा नियुक्त गरेको छ ।





  • प्रकाशित मिति : कात्तिक २३, २०७८ मंगलबार २०:५७:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया