विदेशी सम्बन्धनको नाममा मनोमानीः सम्बन्धन लिनै नपाउने लिंकनको सम्बन्धनमा पठनपाठन गराइरहेका छन् यी कलेज
शिक्षाविद् भन्छन्– नेपालमा व्यवसायीले शिक्षा क्षेत्र तहसनहस बनाए

विदेशी विश्वविद्यालयको सम्बन्धनको नाममा नेपालमा कलेजहरुले मनोमानी गर्ने क्रममा केही कलेजहरु नियमविपरित सन्चालन भइरहेको समेत पाइएको छ ।

विदेशी शिक्षण संस्थाको सम्बन्धनमा उच्च शिक्षा सन्चालन गर्ने सम्बन्धी निर्देशिका, २०५९ ले विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएका शिक्षण संस्थालाई स्नातक र स्नातकोत्तर तहको पठनपाठन गराउन अनुमति दिएको छ । तर, नेपालमा विदेशी सम्बन्धनको नाममा सन्चालित १२ शिक्षण संस्थाले भने कानुनबमोजिम आफूलाई सन्चालन गरिरहेका छैनन्, उनीहरुलाई कानुनविपरित भए पनि सन्चालनको अनुमति दिइएको छ ।

यीमध्ये सबैले मलेसियाको लिंकन युनिभर्सिटी कलेजबाट सम्बन्धन लिएर नेपालमा पठनपाठन गराउँदै आएका छन् । कुनै समय मलेसियाली सरकार र मलेसियाको शिक्षा मन्त्रालयको ब्ल्याक लिस्टमा समेत परेको यो कलेज मलेसियामा सन् २००२ मा खोलिएको थियो । सन् २०१२ देखि मात्र मलेसियाको शिक्षा मन्त्रालयले यो कलेजलाई विश्वविद्यालयका कार्यक्रम सन्चालन गर्ने अनुमति दिएको थियो ।

सामन्यतया पूर्णरुपमा विश्वविद्यालय नभइसकेका कलेजहरुले विश्वविद्यालय सरह अरु कलेजलाई सम्बन्धन दिन मिल्दैन । नेपालकै शिक्षा नीति तथा शिक्षासम्बन्धी कानुनले पनि यसलाई बर्जित गरेको छ ।

तर, नेपालका १२ शिक्षण संस्थाले यही लिंकनबाट सम्बन्धन लिएर नेपाली विद्यार्थीहरुमाथि जालझेल गरिरहेका छन् ।

शिक्षाविद् डा. विद्यानाथ कोइरालाले पनि यस्ता कलेजबाट सम्बन्धन लिन नमिल्ने भए पनि नेपालमा यस्तो मनोमानी चलिरहनु चिन्ताको विषय भएको बताए ।



यता नेपालमा चाहिँ यही युनिभर्सिटी कलेजबाट सम्बन्धन लिएर लगनखेलमा रहेको एकेडेमी अफ कलिनरी आर्ट्सले चार वर्षे बिएचएम (ब्याचलर अफ साइन्स इन हस्पिटालिटी म्यानेजमेन्ट) कार्यक्रम सन्चालन गरिरहेको छ । 

बिजुलीबजारमा रहेको फिनिक्स कलेजले पनि चार वर्षे स्नातक र दुई वर्षे स्नातकोत्तरका कक्षा यही युनिभर्सिटी कलेजको सम्बन्धनको नाममा पढाइरहेको छ । रिपब्लिका इन्टरनेसनल कलेज प्रालि अन्तर्गतको यो कलेजले लिनै नमिल्ने सम्बन्धन लिएर चार वर्षे बिबिए, बिआइटी र दुई वर्षे एमबिए तथा मास्टर इन कम्प्युटर साइन्सका कक्षा सन्चालन गरिरहेको छ ।



यही युनिभर्सिटी कलेजबाट पोखरामा लिंकन इन्टरनेसनल कलेज, विराटनगरमा नेपाल बिजनेस स्कुल, चावाहिलमा टेक्सस इन्टरनेसनल एजुकेसन नेटवर्क, बुटवलमा वेस्टर्न मेगा कलेज, काठमाडौंमा लिंकन इन्टरनेसनल कलेज अफ म्यानेजमेन्ट एन्ड नेटवर्क, बानेश्वरमा इलिट इन्स्टिच्युट अफ फाइनान्स एन्ड एकाउन्टेन्सी, सुनसरीमा ग्रिनपिस लिंकन कलेज, झापामा बालकुमारी लिंकन कलेज, पाल्पामा पाल्पा इन्टरनेसनल कलेज अफ म्यानेजमेन्ट एन्ड आइटीले विभिन्न कोर्समा पठनपाठन गराइरहेका छन् ।

यी सबै कलेजले लिएको सम्बन्धन मलेसियाकाले त्यस्तो कलेजको हो जसलाई सन् २०१५ मा नै त्यहाँको शिक्षा मन्त्रालयले कालो सूचीमा राखेको थियो । एकातिर सम्बन्धित देशकै सरकारले कलेजलाई कालो सूचीमा राखेको थियो भने अर्कोतिर त्यही कलेजको सम्बन्धन लिएर नेपालमा शिक्षाको नाममा माथि उल्लेखित कलेजहरुले व्यापार गरिरहेका छन् ।

यस्तो कलेजको सम्बन्धन नेपाली कलेजले पाउनुमा ठूलै चलखेल भएको शिक्षाविद् प्राडा. विद्यानाथ कोइरालाको ठहर छ । ‘त्यो कुनै विश्वविद्यालय नै होइन,’ शिक्षाविद् कोइराला भन्छन्, ‘अनि त्यस्तो कलेजको सम्बन्धन लिएर नेपालमा पठनपाठन गराउनै नपाउनु पर्ने हो । तर, यहाँ यसका लागि ठूलो चलखेल पक्कै भएको हुनुपर्छ ।’

अरुलाई सम्बन्धन दिनै नपाउने कलेजले सम्बन्धन दिएको र हाम्रो देशमा शिक्षामाथि भएका बेथितिका कारण यहाँका कलेजले त्यसको सम्बन्धन लिनु र विद्यार्थी पढाउनुलाई शिक्षामा व्यवसायीको रजाइँका रुपमा लिन्छन् कोइराला ।

‘नेपालको शिक्षा प्रणालीलाई नै व्यवसायीले चलाइरहेका छन्,’ उनले भने, ‘यसले गर्दा उनीहरु अनुकूल काम भइरहेको छ ।’शिक्षा मन्त्रालयले भने कानून सम्वत नै अनुमति दिइएको बताएको छ । शिक्षा मन्त्रालयको उच्च शिक्षाका उप–सचिव लक्ष्मीकुमार खड्काले कानून सम्वत नै शिक्षण संस्थाले अनुमति पाएको बताए । 

अर्कोतिर शिक्षा मन्त्रालयका जिम्मेवार अधिकारी यस विषयमा बेखबर छन् । ‘म यो शाखामा आएको ९ महिना मात्र भएको छ, त्यसैले पनि यस विषयमा धेरै जानकार छैन म,’ शिक्षा मन्त्रालयका उच्च शिक्षा विभागका उपसचिव लक्ष्मीकुमार खड्का भन्छन्, ‘तर, मलाई लाग्छ जति संस्थाले अनुमति पाएका छन्, उनीहरुले कानुनसम्मत नै अनुमति पाएका होलान् ।’

कानुनअनुसार नै यसरी विदेशी डिग्रीको नाममा नेपाली कलेजले मनोमानी गरेको विषयमा चाहिँ शिक्षाविद् प्राडा कोइराला विश्वस्त छन् । ‘कानुनका केही छिद्र (लुपहोल) छन्, त्यसलाई प्रयोग गरेर व्यवसायीहरुले मनोमानी गरिरहेका हुन्,’ उनले फरकधारसँग भने ।

तर, यसले गर्दा विद्यार्थीले पाउनु पर्ने स्तरीय शिक्षा र गुणस्तरबारे कसले जवाफ दिने ? यसको जवाफ शिक्षा मन्त्रालय, सम्बन्धित कलेज र सरोकार निकायहरुसँग पनि छैन ।

 

यही विषयका यी समाचार पनि पढ्नुहोस्--

मन्त्री र उच्च अधिकारीको मिलमतोमा हुँदैन विदेशी सम्बन्धनप्राप्त कलेजको अनुगमन

विदेशी सम्बन्धनप्राप्त कलेजमा छात्रवृत्ति कार्यान्वनयमा समस्या, अन्यौलमा शिक्षा मन्त्रालय

विदेशी सम्बन्धनको नाममा नेपालमा कलेजहरु गर्दैछन् मनोमानी

  • प्रकाशित मिति : कात्तिक २४, २०७८ बुधबार २:१६:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया