Mon, 19 Nov, 2018


तिहारबारे मेनुका प्रधान – बत्तीजस्तै आफू पनि चम्किरहेको अनुभूति हुन्छ
मेनुका प्रधान  |  कात्तिक २२, २०७५

तिहार मलाई सबैभन्दा धेरै मन पर्ने पर्व हो । तिहारको वेला जताततै चम्किने बत्ती औधी मन पर्छ । तिहारको समयमा चम्किरहने बत्तीजस्तै आफू पनि चम्किरहेको अनुभूति हुन्छ । मनै उज्यालो भएको आभाष हुन्छ । 

लाग्छ, बत्तीले आफूभित्र भएका सम्पूर्ण नेगेटिभ इनर्जी लगिदिन्छ । तिहारले वर्षभरि हामीभित्र उत्पन्न भएका सबै कुविचार र आफूबाट भएका गल्ती सबै लगेर सुविचार, सुभावना, राम्रो काम गर्नका लागि प्रेरणा दिन्छजस्तो लाग्छ ।  तिहारले ममा राम्रो कार्य गर्न प्रेरणा र उत्साह जगाइदिन्छ ।

सानो छँदा म तिहार आउने दिन गन्दै बस्थेँ । लाग्थ्यो, दसैँमा त टीका लगाएर पैसा मात्र पाइन्छ, तर तिहारले पैसासँगसँगै खुसी, रमाइलो, उत्साहसमेत दिन्छ । त्यही भएर पनि मलाई तिहार एकदमै मन पर्थ्यो ।

तिहार कहिले आउला र भैलो खेल्न पाइएला भनेर तिहार आउने दिन गन्दै बस्थेँ । तिहारमा बालिने बत्तीबाहेक मलाई अर्काे मन पर्ने कुरा भैलो हो । तिहार मन पर्नुको अर्को कारण थियो, तिहारमा पाक्ने मीठामीठा परिकार र सेलरोटी । तिहारमा सबैजना मिलेर भैलो खेलेको देखेर मलाई पनि भैलो खेल्न पाए हुन्थ्योजस्तो लाग्थ्यो । आफूभन्दा ठूला दाइदिदीहरू क्लबबाट भैलो खेल्थे । मलाई पनि उहाँहरूसँगै भैलो खेल्न मन लाग्थ्यो, तर क्लबबाट भैलो खेल्ने टिममा साना मान्छेलाई संलग्न गराइँदैनथ्यो । त्यसो भइसकेपछि म आफ्नै उमेरका साथीहरूसँग भैलो खेल्थेँ । 

भैलो खेल्नका लागि हामी दसैँ सकिएको केही दिनपछिदेखि नै जम्मा भएर रिहर्सल गथ्र्याैं । तिहारअघि नै सबै कुराको बन्दोबस्त मिलाइसकेका हुन्थौँ । हामी भैलोमा गाउने गीत पनि तिहारभन्दा अगाडि नै प्राक्टिस गथ्र्यौं । तिहारको पहिलो दिन भैलो खेल्न जाँदा घरबाट धेरै अबेरसम्म भैलो नखेल्नु भनेका हुन्थे । तर, हामी अटेर गरेर राती अबेरसम्म खेल्थ्यौँ । राती ढिलो आएपछि अर्काे दिन हामीलाई खेल्न जान दिँदैनथे । तर, हामी जसोतसो आमाबाबाको आँखा छलेर खेल्न गइहाल्थ्यौँ ।

तिहारमा हामीसँग एक रुपैयाँको नोट र सिक्का पैसा यत्ति धेरै जम्मा हुन्थे कि, हामीलाई राख्न र सम्हान नै धौ–धौ पर्थ्यो । 

तिहारमा भेलौ खेलेर जम्मा गरेको पैसा लिएर हामी सबै वनभोज जान्थ्यौँ । 

ठूलो भएपछिचाँहि क्लबबाट भैलो खेल्ने अवसर पाएँ । क्लवबाट खेलेर जम्मा गरेको रकम भने पूर्णरूपमा वनभोज गएर सक्दैनथ्यौँ । त्यसरी संकलन भएको रकमको केही अंश सामाजिक कार्यका लागि खर्च गर्थ्यौँ । केही वर्ष त एउटा विशेष काम गर्नकै लागि पनि भैलो खेल्यौँ । 

हरेक भाइटीकाको दिन म भाइलाई टीका लगाउथेँ । मेरो एउटा मात्र भाइ छ । भाइले दक्षिणास्वरूप मलाई पैसा र अरु थुप्रै कोसेली दिथ्यो । त्यसपछि म मख्ख हुन्थेँ । तर, गएको तिहारमा मैले भाइलाई टीका लगाउन पाइनँ । यसपालीको तिहारमा पनि ऊ नेपाल आउन नपाउने भएकाले यसपटक पनि टीकाको दिन भाइलाई मिस गर्नेछु । भाइलाई तिहारमा धेरै मिस गर्छु । आजभोलि समाजिक सञ्जालले सात समुन्द्रपारि भएका मान्छेलाई सहजै जोड्न सहयोग गरेको छ । हामी पनि वेला–वेलामा कुरा गर्छौं, त्यसैले टाढा भएर पनि कहिल्यै टाढा भएजस्तो लाग्दैन ।  

ठूलो हुँदै गएपछि काम र जिम्मेवारी बढ्दै जाँदा रहेछन् । ठूलो भइसकेपछि सानोमा रमाए जसरी रमाउन सकिँदैन रहेछ । सानोमा जे पनि रमाइलो लाग्ने रहेछ । सानो कुरा पाउँदा पनि संसारै जितेजस्तो लाग्ने । सानोमा सानो कुरा पाउँदा पनि धेरै खुसी मिल्ने ।

तर पनि काम र जिम्मेवारी बढ्दैमा रमाउन नसकिने भने होइन । मान्छेलाई काम र उसको जिम्मेवारीले कहिले पो छोड्छ र ? काम र अन्य सबै कुरालाई सन्तुलनमा राख्न सक्नुपर्छ जस्तो लाग्छ मलाई । म अलि फरक स्वभावको भएर पनि होला, कहिल्यै नगएको ठाउँ र कहिल्यै नचिनेका मान्छेहरूको भिडमा बस्नुपरे पनि मलाई एक्लोपन र अनौठो लाग्दैन । म काममा जति नै व्यस्त भए पनि रमाउन भने कहिल्यै छोड्दिन । लाग्छ, मभित्रै रमाइलो छ । त्यसैले, रमाउनलाई यही नै हुनुपर्छ र त्यही नै गर्नुपर्छ जस्तो लाग्दैन । म जहाँ हुन्छु, त्यहीँ रमाउन सक्छु । 

सानोमा जसरी रमाउन नसके पनि फरक तरिकाले अहिले पनि रमाइलो गर्छु । त्यसरी भैलो खेलेर रमाउन नपाए पनि भैलो खेलेको हेरेर रमाउने गर्छु । मान्छेको जीवन सधैँ एकैनासको हँुदैन । जीवन गतिशील र परिवर्तनशील कुरा हो । सधैँ एउटै काम गरेर खुसी भइँदैन । र, खुसी हुनका लागि एउटै काम गर्नुपर्छ भन्ने पनि छैन । हामी जहाँ हुन्छौँ, जे गरिरहेको हुन्छौँ, त्यसैमा खुसी र सन्तुष्ट हुन सक्नुपर्छ । केही कुरा सधैँ एकैनासको नहुनु नै जीवनको रीत हो । यो नियमलाई सबैले आत्मसात् गर्नुपर्छ । 

तिहार मनाउने शैली र प्रवृत्तिमा अहिले धेरै बदलाब आएको छ । पहिले हामी मुखैले देउसी गाउथ्यौँ । मान्छेहरू अहिले भैलो र गीतहरू मुखले गाउनभन्दा स्पिकरमा बजाएर नाच्छन् । अहिले बालिने बत्ती पहिलेजस्तो माटाको दियोमा तेल हालेर बालिँदैन । अहिले बालिने सबैजसो बत्ती बिजुलीबाट चल्ने हुन्छन् । त्यसैगरी, भाइटीकामा भाइलाई लगाइदिने मालामा पनि परिवर्तन आएको छ । पहिले फूलका माला मात्रै बनाइन्थे ।

यस्ता धेरै कुरामा परिवर्तन आएको छ । समयसँगै मनाउने शैली र तरिकामा परिवर्तन हुन्छ । संसार नै परिवर्तनशील छ । समयसँगै सबै कुरा परिवर्तन हन्छन्, जसलाई स्वीकार गर्नुपर्छ ।

तर, समयसापेक्ष परिवर्तन हुँदै गर्दा आफ्नो मौलिकता, सभ्यता, परम्परा, संस्कृतिमा नराम्रो असर पर्ने गरी केही गर्नुहुँदैन । हाम्रो सभ्यता र कला नै हाम्रो पहिचान हो ।  हाम्रो धन हो । त्यसैले, आफ्नो मौलिकता र सभ्यतामा आँच र नकारात्मक प्रभाव आउने गरी कुनै पनि पर्व मान्ने–मनाउने शैलीमा परिवर्तन गर्नुहुँदैन । 
 



यो पनि नछुटाउनुहोस्