बाह्रौं राष्ट्रिय जनगणनाः कालापानी, लिपुलेक, लिम्पियाधुराको जनसंख्या समेत जोडेर रिपोर्ट सार्वजनिक गरिने

बिहीबारदेखि सुरु हुने बाह्रौं राष्ट्रिय जनगणनाको सम्पूर्ण तयारी पूरा भएको केन्द्रीय तथ्यांक विभागले जनाएको छ । 

प्रत्येक १० वर्षमा सञ्चालन हुने राष्ट्रिय जनगणना भोली (बिहीबार) देखि सुरु हुँदैछ । 

जनगणनाको सम्पूर्ण तयारी पुरा भएको बुधबार पत्रकार सम्मेलन गरी केन्द्रीय तथ्यांक विभागले जानकारी गराएको हो । सम्मेलनमा विभागका महानिर्देशक नेबिनलाल श्रेष्ठले जनगणनाको लागि आवश्यक सम्पूर्ण तयारीको काम सम्पन्न भइसकेको जानकारी दिएका थिए। 

जनगणना कार्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म १५ दिनको अवधि हुने उनले जनाए । जनगणना सञ्चालन गर्नका लागि देशभरमा ७ प्रदेश जनगणना कार्यालय, ८७ जिल्ला जनगणना कार्यालय र ३४९ स्थानीय जनगणना कार्यालय स्थापना गरिएको छ । 

काठमाडौं जिल्लामा भने ५ वटा जनगणना कार्यालय स्थापना गरिएको र धेरै जनसंख्या भएका जिल्ला मोरङ, झापा, सुनसरी, ललितपुर, रुपन्देही र कैलाली लगायतका जिल्लामा भने २÷२ वटा जिल्ला जनगणना कार्यालय रहेको महानिर्देशक श्रेष्ठले बताए । 

जनगणनाका लागि देशभर ४० हजार गणक र ८ हजार ५०० सुपरिवेक्षकहरु परिचालन हुने उनले जनाए ।



तथ्यांक विभागका महानिर्देशक श्रेष्ठले नेपालको नक्सामा समेटिएको भूगोल लिपुलेक, लिम्पियाधुरा र कालापानीमा भारत सरकारले सहज रुपमा आवतजावत गर्न दिएमा भौतिक रुपमा उपस्थित भएर जनगणना गरिने र त्यसरी आवतजावत गर्न नदिएमा अन्य स्रोतहरुको प्रयोग गरेर जनगणना गरी सो क्षेत्रको अनुमानित विवरण प्रकाशन गरिने बताए । 

‘भारतीय सरकारबाट सहज आवतजावत दिने र जनगणना गराउने अवस्था रह्यो भने हामी फिजिकली गएर त्यहाँ जनगणना गर्छौ । कारणवश गर्न नसकेको अवस्था रह्यो भने त्यत्तिकै छोड्ने हुँदैन,’ उनले भने । 



बिभिन्न स्रोतबाट कालापानी, लिपुलेक, लिम्पियाधुरा क्षेत्रमा लगभग ७०० देखि ८०० सम्मको हाराहारीमा जनसंख्या रहेको प्रारम्भिक  जानकारी प्राप्त भएको उनले बताए । उनले अगाडि भने, ‘अहिले प्रविधिको विकास साह्रै राम्रो भएको छ । स्याटेलाइटहरु प्रयोग गरिकन ति क्षेत्रहरुमा कति घर छ भन्ने त सजिलैसँग काउन्ट गर्न सक्छौँ । एउटा घरमा एभरेज परिवार कति बस्दो रहेछ भन्ने ति विवरणहरू लिन पनि हामीलाई गाह्रो हुँदैन । यसरी त्यहाँको केही अनुमानहरु हामी निकाल्न सक्छौँ । त्यो अनुमान सहितको रिपोर्ट हामी प्रकाशन गर्नेछौँ ।’ 

राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुयाँलले संघीयता कार्यान्वयन पछिको पहिलो राष्ट्रिय जनगणना भएकाले यो जनगणनाको निकै महत्व रहेको बताए । 

सबै तहमा चाहिने खण्डिकृत विवरणहरू जनगणनाबाट आउने उनले जनाए । आगामी दिनमा विकासका योजना तर्जुमा गर्न र बजेट बनाउनका लागि यो जनगणना माउ ग्रन्थको रुपमा रहने धारणा उनले राखे ।

  • प्रकाशित मिति : कात्तिक २४, २०७८ बुधबार १७:९:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया