भाडाको निहुँमा सार्वजनिक यातायातमा दिनहुँ लफडा
राष्ट्र बैंक भन्छः अब क्युआर कोडको प्रयोग गर्नुस्

मंगलबार बिहान महाराजगञ्ज बस्ने निशा काफ्ले सुन्धाराको माइक्रो चढिन् । उनले जमल झरेर अफिस पुग्नका लागि अर्को गाडी चढ्नुपर्ने थियो । केशरमहल पुगेपछि उनले गाडीको भाडा उठाउने कर्मचारीलाई २० रुपैयाँ दिइन् । उनले हातमा समाएर बाहिर हेर्न थाल्यो । निशाले आफूले फिर्ता पाउनुपर्ने दुई रुपैयाँ मागेपछि गाडी कर्मचारीले भने, ‘मसँग छैन, आफैँ मिलाएर दिनुस् ।’ 

निशा प्रतिनिधि पात्र मात्रै हुन्, पछिल्लोपटक छोटो दूरीमा चल्ने सार्वजनिक यातायातको भाडा बढेसँगै सर्वसाधारण दिनहुँ ठगीमा पर्न थालेका छन् । सार्वजनिक यातायातमा चढ्दा यात्रुले दिएको पैसाबाट फिर्ता गर्नुपर्ने रकम फिर्ता नगर्ने र फिर्ता मागेमा उल्टै झगडा गर्न थालेका छन् । 

दिनहुँ यात्रुमा ठगीमा परे पनि नियामक निकायले भने बेवास्ता गरेको उपभोक्ता अधिकारकर्मी बताउँछन् । अधिकारकर्मी माधव तिमल्सिना भन्छन्, ‘दिनहुँ यस्ता समस्या आइरहेका छन् । हजारौँले दैनिक लाखौँ गुमाउनुपरेको छ । सरकार र नियामक निकाय मूकदर्शक बनेका छन् । कस्तो बिडम्बना !’ 

कारबाही गर्छौं खबर गर्नुस् : ट्राफिक प्रहरी

बाग्मती प्रदेश सरकारले दसैँअघि निर्णय गरेर कात्तिक १ गतेदेखि सार्वजनिक यातायातको भाडा बढाएपछि यो समस्या सिर्जना भएको हो । सार्वजनिक यातायातमा चढ्दा यात्रुले एकपटकमा दुई देखि ५ रुपैयाँसम्म छाड्नुपरेको बताउँछन् । तर, सार्वजनिक यातयातका कर्मचारी भन्छन्, ‘हामीसँग खुद्रा पैसा छैन । तपाईंहरु मिलाएर दिनोस् न ।’ यही कुरा यात्रुहरु पनि भन्छन्, हामीसँग खुद्रा हुँदैन, गाडीले व्यवस्था गर्नुपर्छ ।’ 

यही रडाको दिनहुँजसो सार्वजनिक यातायातमा पर्ने गरेको छ । तोकिएभन्दा बढी भाडा लिनेलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले कारबाही पनि गरिरहेको बताएको छ । बढेको भाडाअनुसार अहिले न्यूनतम भाडा १८ रुपैयाँ तोकिए पनि २० रुपैयाँ लिने गरेको, २३ रुपैयाँ भाडा तोकिएका स्थानमा २५ रुपैयाँ लिने गरेको गुनासो बढ्न थालेको छ । दिनहुँ भाडामा ठगी भए पनि कतै जानाजान यात्रुहरुले छाडिदिने र कतै झगडा परेपछि छाडिदिने गरेको पाइएको छ । 



केहीले मात्रै ट्राफिकलाई जानकारी दिने गरेको महाशाखाले जानकारी दिएको छ । यातायात व्यवस्था विभागले पनि ट्राफिक प्रहरीसँगको समन्वयमा व्यवस्थापन गरिने हुँदा आफू ठगिएको थाहा पाएमा प्रहरीमा उजुरी गर्न आग्रह गरेको छ । विभागका सूचना अधिकारी लोकनाथ भुसालले बढी भाडा लिने सवारीको नम्बर ट्राफिक प्रहरी महाशाखामा जानकारी गराउन आग्रह गरे । यसैगरी, ट्राफिक प्रहरी महाशाखाले पनि सार्वजनिक यातायातले ठगी गर्न लागेको थाहा पाएमा टोल फ्री नं १०३ मा टिपाउन आग्रह गरेको छ । 

महाशाखाले भने तोकिएभन्दा बढी भाडा लिने सवारीलाई कारबाही गरिरहेको जनाएको छ । अहिलेसम्म उजुरी आएका कैयौँ सवारीसाधनलाई जरिवाना गरिसकेको महाशाखाले जानकारी दिएको छ ।



खुद्रा होइन, क्युआर कोडको प्रयोग गर्नुस् राष्ट्र बैंक

सार्वजनिक यातायातमा खुद्रा पैसाको अभाव भएको भन्दै यात्रुहरुलाई फिर्ता नदिएको पाइन्छ । तर, नेपाल राष्ट्र बैंकले पनि कहीँकतै पनि खुद्राको अभाव नरहेको जनाएको छ । राष्ट्र बैंकका सूचना अधिकारी नारायणप्रसाद पाखरेलले भने, ‘पब्लिक भेहिकललाई आवश्यक परेमा सबै बैंकहरुबाट क्वाइन खुद्रा सहजै उपलब्ध हुन्छ ।’ 

यसबाहेक पछिल्लो समय सार्वजनिक यातायतमा क्युआर कोडकोडको प्रयोग पनि हुन थालेको राष्ट्र बैंकले जानकारी दिएको छ । खुद्रा रकम फिर्ता गर्नुपर्ने वा यात्रुहरुले पनि नगद बोक्नुपर्ने झण्झटबाट मुक्ति पाउनका लागि क्युआर कोडको प्रयोग बढ्न थालेको सूचना अधिकारी पोखरेलले जानकारी दिए । 
उनले फरकधारसँग भने, ‘पछिल्लो समय सार्वजनिक यातायातमा क्युआर कोडको प्रयोग हुन थालेको छ । यो क्रम बढाउँदै लैजानुपर्छ । यसले यात्रु र चालकलाई सहज हुनेछ ।’ 

सार्वजनिक यातायातमा प्रभु बैंकले क्युआर कोडको प्रयोगमा सहयोग गरेको छ । उक्त बैंकले काठमाडौँ उपत्यकामा चल्ने सफा ट्याम्पोमा यात्रा गर्दा क्युआर कोडमार्फत भाडा भुक्तानी गर्न सकिने सेवा सञ्चालनमा ल्याएको छ । उक्त बैंकले आइडिया स्टुडियो नेपालको सहकार्यमा काठमाडौँ उपत्यकामा महिला सवारी चालकले सञ्चालन गर्दै आएका सफा ट्याम्पोमा उपलब्ध हुने गर्ने गरी सबैभन्दा पहिला यस्तो व्यवस्था मिलाएको थियो ।

के हो क्युआर कोड ?

क्युआर कोडको पूरा रुप क्विक रेस्पोन्स कोड हो । यसमा सेतो पृष्ठभूमिमा स्क्वायर ग्रिडमा कालो चारकुने स्क्वायर समावेश हुन्छ । यसबाट पैसा तिर्नका लागि मोबाइलको प्रयोग गर्नुपर्ने हुन्छ । 

क्युआर कोड भुक्तानीका लागि हरेक व्यक्तिसँग बैंक खातासँगै मोबाइल बैंकिङ एप पनि हुनुपर्छ । ई–सेवा, खल्ती, आईएमई पेलगायतका वालेटबाट क्युआर कोड स्क्यान गरी भुक्तानी गर्न सकिन्छ । मोबाइल बैंकिङ एपभित्रै कुनै मर्चेन्टजस्तै फोन पे, युनियन पे इत्यादिको फिचर लिंक पनि भएको हुन्छ ।

यसबाट भुक्तानी गर्दा समयको बचत हुन्छ भने नगद बोक्दा हराउने र चोरी हुने डर पनि हुँदैन । क्युआर कोडमार्फत भुक्तानी गर्दा खुद्रा पैसाको झन्झट नहुने, जुनसुकै समयमा पनि निःशुल्क कारोबार गर्न सकिने र ग्राहकबाट भुक्तानी भएको रकम बैंक खातामै जम्मा हुने हुँदा सुरक्षितसमेत मानिन्छ ।
 

  • प्रकाशित मिति : कात्तिक २४, २०७८ बुधबार २०:४३:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया