आजबाट मूल जनगणना, राष्ट्रपतिबाट तथ्यांक संकलन गरेर सुरुवात गरिँदै

नेपालमा १२औँ राष्ट्रिय जनगणनाकाे मूल गणना आजबाट सुरु हुँदैछ । बिहान ९ बजेपछि राष्ट्रपति विद्यादेवी भण्डारीबाट १२औँ राष्ट्रिय तथ्यांक संकलन कार्यक्रमको सुरुवात हुनेछ ।

त्यससँगै उपराष्ट्रपति र प्रधानमन्त्रीसहित देशैभर जनगणना सुरु गरिने केन्द्रीय तथ्यांक विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले बताए । 

नेपालमा हरेक १० वर्षमा राष्ट्रिय जनगणना हुन्छ । तर, यो पटक कोरोनाका कारण ढिलोगरी जनगणना भइरहेको हो । जनगणनाको मूल नारा ‘मेरो गणना, मेरो सहभागिता’ तय भएको छ । मूल गणना ९ मंसिरमा सम्पन्न हुनेछ ।

२०७९ सम्ममा मुख्य प्रतिवेदन प्रकाशित गर्ने र २०८० भित्र सबै क्षेत्रगत र विषयगत प्रतिवेदन पनि प्रकाशित गरिने विभागले जानकारी दिएको छ । 

देशभित्र रहेका सबै घरपरिवार तथा व्यक्तिको तोकिएको समयसीमाभित्र गणना गर्नका लागि करिब ४० हजार गणक तथा आठ हजार पाँच सय सुपरिवेक्षक परिचालन हुँदै छन् । 

जनगणना अघिल्लो जनगणनाभन्दा निकै खर्चिलो हुने भएको छ । ११औँ जनगणना करिब डेढ अर्ब खर्च भएको थियो । तर, यस पटक ४ अर्ब खर्च हुने अनुमान गरिएको छ । यसपटक पूरा तलब दिएर गणकलाई खटाइएको छ ।



११औँ सम्म शिक्षकलाई गणकका रूपमा खटाइने गरिन्थ्यो । शिक्षकलाई आधा मात्रै भत्ता खुवाइने गरिन्थ्यो । तर, यसपटक तथ्यांक विभागले कक्षा १२ पास गरी बेरोजगार रहेका युवा, युवायुवतीलाई पूरा तलब दिएर गणकका रूपमा परिचालन गरेको छ ।

जसका कारण यस पटकको जनगणना धेरै खर्चिलो हुने छ । केन्द्रीय तथ्यांक विभागका उपसचिव हेमराज रेग्मीका अनुसार पहिलेको भन्दा यसपटक कर्मचारीको तलब वृद्धि भएको छ भने गणकलाई पूरा भत्ता दिइने छ । 



जसकारण यसपटक गणकमा मात्रै सबैभन्दा बढी खर्च हुनेछ । तथ्याङ्क विभागले यसपटक जनगणनाका लागि ४० हजार गणक देशभरि परिचालन गरेको छ । 

यस पटकको जनगणनामा ८० वटा प्रश्नावली रहेका छन् । लामो प्रश्नावली भएका कारण गणकलाई तथ्यांक संकलन गर्न धेरै समय लाग्ने छ । 

यसले पनि खर्च बढाएको उपसचिव रेग्मीले बताए । ‘विकसित देशमा सिस्टममै धेरै कुराको तथ्याङ्क आउने गरेको छ’, उपसचिव रेग्मीले भने,‘तर नेपालमा धेरै कुरा गणनाबाट नै संकलन गरेर तथ्यांक संकलन गर्नुपर्ने भएका कारण प्रश्नावली बढी भएका छन्, विस्तारै प्रश्नावली संख्या घटाइने छ ।’ –न्युज कारखाना
 

  • प्रकाशित मिति : कात्तिक २५, २०७८ बिहीबार ७:२५:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया