भारतको अनुमति नपाएपछि कालापानीमा स्थलगत जनगणना नहुने, स्याटलाइटबाट अनुमान गरिने

केन्द्रीय तथ्यांक विभागले भारतद्वारा अतिक्रमित नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानीमा स्थलगत जनगणना नगर्ने भएको छ ।

आजदेखि सुरु हुन लागेको १२औं राष्ट्रिय जनगणनामा नेपालको नक्साभित्र समावेश लिम्पियाधुरा, लिपुलेक र कालापानीका गाउँमा स्थलगत तथ्यांक संकलन नहुने विभागले जनाएको छ ।

भारतले अनुमति नदिएपछि सो क्षेत्रमा प्रविधिको प्रयोग गरेर अनुमानका भरमा जनसंख्या गणना गरिने भएको छ । 

'त्यो हाम्रो भूभाग हो । हाम्रो नक्साभित्र परेको भूभाग हो । तर हाम्रो सहज आवतजावत छैन । भारतको आर्मीले घेरेर बसेको छ । हामीलाई भित्र छिर्न दिँदैन',  केन्द्रीय तथ्यांक विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले भने ।  

उनले जनगणना गर्न तीन वटा विकल्प भएको र त्यसमा एउटामात्र राम्रो विकल्प भएको सुनाए । 

'एउटा उपाय भनेको उनीहरुको सेना र हाम्रो सेना झैझगडा हुनेगरी गएर जनगणना गराउने भन्ने हो । त्यो त सम्भव भएन । दोस्रो विकल्प पहिला जस्तो केही पनि नगर्ने । केही पनि हुने भएन', उनले भने ।



तेस्रो विकल्पका रूपमा उनले भारतसँग कूटनीतिक पहल गर्नुपर्ने बताए । 'यसका लागि कुटनीतिक पहल जरुरी छ । हामीले छलफल गरिसकेका छौं । परराष्ट्र मन्त्रालयले भारतसँग उच्च तहमा पहल गरेर सहज आवतजावत भयो भने हामी जनगणना गराउन तयार छौं । राम्रो विकल्प यहीँ हो', उनले भने ।

तर यो विकल्प पनि तत्काल सम्भव छैन। त्यसैले उनले अनुमानका आधारमा लिम्पियाधुरा, लिपुलेक र कालापानीका गाउँमा जनगणना गर्ने योजना रहेको उनले सुनाए ।



उनकाअनुसार विभिन्न स्रोतहरु, त्यहाँ सम्बन्धित व्यक्ति र नजिक पहुँच भएका ठाउँहरुबाट प्राप्त सूचनाले ८ सयसम्म जनसंख्या रहेको देखाएको छ । 

यहाँका कुटी, नाभी र गुञ्जी नेपाली गाउँ हुन् । अधिकांशले भारतीय नागरिकता लिएका छन् । भारतले आरक्षणमा उनीहरुलाई प्राथमिकतामा राखेको छ । यस्तो अवस्थामा तथ्यांक विभागले स्याटलाइटबाट जनसंख्याको अनुमान गर्ने भएको छ ।

'प्रविधिको विकास साह्रै राम्रो भएको छ । स्याटलाइटको प्रयोग गरेर ती क्षेत्रमा कति घर छ भनेर काउन्ट गर्न सकिन्छ । घर काउन्ट भइसकेपछि एउटा घरमा औसत कतिजना बस्छ भन्ने विवरण लिन हामीलाई गाह्रो हुँदैन । केही अनुमानसहित रिपोर्ट प्रकाशन गर्नेछौं', महानिर्देशक श्रेष्ठले भने । –न्युज कारखाना
 

  • प्रकाशित मिति : कात्तिक २५, २०७८ बिहीबार ८:७:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया