‘आफ्नै देशमा कसैले पराया भन्दा चित्त त दुख्छ नि !’

कैलाली– बिहान ५ बजे नै सुरु हुन्छ, रवीन्द्र साह रौनियारको दैनिकी । बिहान सबेरै कोठाबाट निस्केका साह काँधमा दन (गलैँचा)को भारी बोकेर दिनभर केलालीको अत्तरिया बजारमा ग्राहक खोज्न दौडिन्छन् ।

करिब ५ वर्षअघि सर्लाहीबाट अत्तरिया बजार आएका रवीन्द्र अब सुदूरपश्चिमको स्थानीय भाषा पनि बोल्न सक्ने भएका छन् । ‘धेरै त बोल्न सक्दैन, दनको मोल भाउ गर्न सक्छु,’ रवीन्द्रले भने ।

सुुदूरपश्चिम अर्थात् प्रदेश ७ का पहाडी र तराई जिल्लाको संगम हो, अत्तरिया बजार । कैलाली जिल्लाको यो बजारलाई सुदूरपश्चिमको चोक पनि भनिन्छ । अत्तरिया बजारमा रवीन्द्रका मुख्य ग्राहक हुन्, भारतबाट फर्किने लाहुरे । यसबाहेक बाँकी छिटफुट ग्राहक हुन्, स्थानीय गृहिणी ।

सर्लाहीबाट अत्तरिया दन बेच्न आउने रवीन्द्र एक्लै होइनन् । अत्तरियामा रवीन्द्रका अरू ७ जना साथी पनि छन् । ‘हम सात जना छौँ, सातैजना दन बेच्छौँ,’ रवीन्द्रले मधेसी र पश्चिमेली लवजमा सुनाए । उनीहरूले व्यापारका लागि आ–आफ्नो क्षेत्र छुट्याउने गरेको कुरा पनि रवीन्द्रले सुनाए । 

कहिलेकाहीँ रवीन्द्र अत्तरियाआसपासका गाउँमा पनि दन बेच्न जान्छन् । अहिले चाडबाडको समय भएकाले उनी धेरैजसो अत्तरिया बसपार्क आसपासमै हुन्छन् । घर–घर गएर दन बेच्नुका दुःख पनि कम्ता छैनन् । 

काँधको दन बिसाउँदै रवीन्द्रले सुनाउन थाले, ‘अरूको घर घर जानु त कहाँ राम्रो हो र, जानैपर्छ,’ रवीन्द्र थप्छन्, ‘कोही–कोही त राम्रै हुन्छन्, चिया, पानी समेत खान दिन्छन् । कोही त चोर, फटाहा ठग भन्दै गाली पनि गर्छन् ,’ रवीन्द्रको अनुहार मलीन भयो ।



तर, रवीन्द्रलाई यस्ता कुराले केही फरक पार्दैन । किनभने रवीन्द्रको पेसा नै व्यापार गर्नु हो । ‘सबै मान्छे एउटै त कहाँ हुन्छन् र, कहीँ गाली पाइन्छ, कहीँ माया पाइन्छ’ रवीन्द्र चित्त बुझाउँछन्, ‘व्यापारमा यस्तै हो ।’

२८ वर्ष पुगेका रवीन्द्रले ७ कक्षा पढ्दापढ्दै बिहे गरे । आफ्नै कक्षामा पढ्ने सहपाठीसँग प्रेम बसेपछि रवीन्द्रले बिहे गरेका थिए । उनको बिहेको राम्रो पक्ष भनेको उनले दाइजो मागेनन् । 



दाइजो नमाग्नुको कारण सुनाउँदै रवीन्द्र भन्छन्, ‘उसको (श्रीमती) परिवार पनि गरिब छ, हाम्रो परिवार पनि गरिब छ । अब गरिबले कसरी गरिबको खुन चुस्नु ?’ दाइजोकै कारण तराई–मधेसमा धेरै परिवार बिग्रेको रवीन्द्रले देखेका छन् । त्यसकारण पनि उनले दाइजो नलिने निर्णय गरेका हुन् ।

अरूको सम्पत्ति लिएर कोही ठूलो र धनी नहुने तर्क दिँदै रवीन्द्र भन्छन्, ‘अर्काको सम्पत्ति लिएर पनि कोही धनी हुन्छ र ! कति दिन पुग्छ अर्काको सम्पत्तिले ? अर्काले दुःख गरेर कमाएको सम्पत्ति मुफतमा खानु त पाप हो ।’

खासमा रवीन्द्रको परिवारमा काम गर्ने सदस्यको कमी भएपछि रवीन्द्रले बिहे गरेका हुन् । बिहेपछि काम गर्ने हात बढी हुन्छन् र छाक टार्न सजिलो हुन्छ भन्ने उद्देश्यले आफूले बिहे गरेको रवीन्द्रले सुनाए ।

बिहे गरिसकेपछि उनको परिवारमा झन् आर्थिक संकट चुलियो । रवीन्द्रले विदेश जाने पनि सोचेका थिए । ‘पासपोर्ट बनाउने खर्च नभएपछि, विदेश जाने प्लान पूरा भएन,’ रवीन्द्रले हाँस्दै सुनाए ।

सुरुमा विदेश जान नपाउँदा रवीन्द्रलाई खल्लो लागेको थियो । तर, अहिले भने उनी खुसी छन् । किनभने अरूले विदेशमा जति कमाउँछन्, त्यति रुपैयाँ रवीन्द्र नेपालमै कमाउँछन् । 

अहिले रवीन्द्र कम्पनीको तलब छुट्टै पाउँछन् भने दन बेचेको कमिसन छुट्टै पाउँछन् । ‘तलब र कमिसन गरेर महिनामा ६० हजार रुपैयाँसम्म पुग्छ,’ रवीन्द्रले आफ्नो आम्दानी सुनाउँदा चिया पसलमा भएका सबैको कान टाठा भए । 

नेपालमै मनग्गे कमाइ हुने भएपछि रवीन्द्रलाई विदेश जाने बाध्यता छैन । देशमै बसेर दुःख गरे विदेशको जति कमाइ नेपालमै हुने ठान्छन्, उनी । अब उनले विदेश जाने सोचेका छैनन् । ‘आफ्नै देशमा पैसा कमाइन्छ भने किन विदेश जाने ?’ रवीन्द्र प्रश्न गर्छन् । ‘कोही बढी कमाउँछन् त कोही थोरै कमाउँछन् । जति कमाए पनि मन खुस राखेर कमाउनुपर्छ,’ रवीन्द्र भन्छन् । 

सर्लाही लालबन्दीमा रवीन्द्रको ८ धुर जमिनमा बनेको घर छ । आफ्नो कमाइले ६ जनाको परिवारलाई पुगेको उनी सुनाउँछन् । रवीन्द्र प्रत्येक वर्ष छठमा घर जान्छन् । यस वर्षको छठमा पनि रवीन्द्र घर जानेछन् । 

घर जाँदा उनी श्रीमतीलाई साडी किन्ने सोचमा छन् । पश्चिममा पाइनेजस्तो साडी पूर्वमा नपाइने हुनाले पनि उनी श्रीमती र आमाका लागि अत्तरियाबाटै साडी किनेर लगिदिने सोचमा छन् । काँधमा दन बोक्दा–बोक्दा उनको सर्ट खिइसकेको छ । तर, पनि उनलाई त्यसको कुनै पर्वाह छैन । किनभने ‘आफ्नै देशमा सानले काम गर्न पाएको छु, अरू के चाहियो र ?’ रवीन्द्र प्रश्न गर्छन् ।

सुदूरपश्चिमका सबै पहाडी जिल्लामा रवीन्द्र दन लिएर पुगेका छन् । लामो समय पहाडनजिकै बसेर होला, उनलाई आजभोलि तराईभन्दा पहाड राम्रो लाग्न थालेको छ । तर, कहिलेकाहीँ कसैले उनलाई ‘धोती’ भनिँदिदा उनको चित्त दुख्छ । ‘आफ्नै देशमा कसैले पराया भन्दा चित्त त दुख्छ नि !’ रवीन्द्र मन बुझाउँदै भन्छन्, ‘देश आफ्नै हो, कहिलेकाहीँ यस्तै हुन्छ ।’
 
 

  • प्रकाशित मिति : कात्तिक २५, २०७५ आइतबार १५:३५:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया