निर्मला पन्त हत्या प्रकरण
के बुबाआमाको धर्नाले देला निर्मलालाई न्याय?

निर्मला पन्तको हत्यारा सार्वजनिक गर भन्दै कञ्चनपुरमा धर्ना कार्यक्रम सुरु भएको छ । कञ्चनपुर जिल्ला प्रशासन कार्यालयअगाडि निर्मला पन्तका बुबा अनिश्चतकालीन धर्नामा धर्ना बसेका छन् । निर्मलाका बुबा यज्ञराज पन्तसँगै अन्य अधिकारकर्मी र कञ्चनपुरवासी पनि धर्नामा बसेका छन् ।

गत साउन १० गते बलात्कारपछि हत्या गरिएकी निर्मलाका हत्यारा अझै पत्ता लागउन नसकेको भन्दै यसअघि पनि देशभर विभिन्न विरोधका कार्यक्रम भइसकेका छन् । घटनाको अनुसन्धान तथा छानबिनका लागि सरकारले विभिन्न समिति गठन गरे पनि ती समितिले अपराधी पत्ता लगाउन सकेका छैनन् ।

अपराधी पत्ता नलागुन्जेल आफूहरू धर्नामा बस्ने निर्मलाका बुबा यज्ञराज पन्तले बताएका छन् ।

तर, के धर्ना बसेर न्याय पाइएला त ?

‘सबै जनताले चाहेपछि न्याय पाइन्छ,’ यज्ञराज पन्त भन्छन्, ‘हामी सबैले दबाब दियौँ भने न्याय पाउँछाैँ ।’ 

यता, अधिकारकर्मी शारदा चन्द पनि ढिलै भए पनि न्याय पाउने कुरामा आशावादी छिन् । चन्द भन्छिन्, ‘सरकारप्रति विश्वास छैन, तर, जनताप्रति भने विश्वास छ ।’ जनताको नैतिक दबाबमा आएर पनि सरकारले न्याय दिनुपर्ने चन्दको माग छ ।



निर्मला पन्तका लागि न्याय माग्दै यज्ञराजसँगै कञ्चनपुरवासी पनि धर्नामा बसेका छन् । ‘सारा जिल्ला नै धर्नामा बसेको छ, सरकारले न्याय नदिएर हुन्छ ?’ चन्द प्रश्न गर्छिन्, ‘यदि सरकारले धर्नालाई सामान्य रूपमा लियो भने यसको ठूलो मूल्य चुकाउनुपर्छ ।’

जनताको भोटको बलमा बनेको दुईतिहाई सरकारले जनतालाई न्याय दिन ढिलाइ गर्नु जनताको भोटको अपमान हुने पनि चन्द बताउँछिन् । जनताकै भोट लिएर  सरकार बनाउने र शक्तिमा पुगेपछि सार्वभौमिक अधिकार न्याय दिन पनि कञ्जुस्याइँ गर्ने प्रवृत्तिले सत्तासीन दललाई भविष्यमा राजनीति गर्न अप्ठ्यारो हुने चन्दको ठहर छ ।



न्यायका लागि अनशन बस्ने पन्त दम्पती पहिलो भने होइनन् । तत्कालीन नेकपा माओवादीको अपहरण परी ०६१, २४ जेठमा हत्या गरिएका कृष्णप्रसाद अधिकारीका आमा–बुबा नै आमरण अनशन बसेका थिए । 

कृष्णप्रसाद अधिकारीका बुबा नन्दप्रसाद अधिकारीको अनशनकै क्रममा २०७३ असोजमा मृत्यु भएको थियो । नेपालको सन्दर्भमा भने उनी सम्भवतः पहिलो व्यक्ति हुन्, जसले ३ सय ३० दिन अनशन बसेर मृत्युवरण गरेका थिए । अधिकारीले अझै न्याय पाएका छैनन् । 

यसबाहेक डा. गोविन्द केसी पनि १५ पटकसम्म आमरण अनशन बसिसकेका छन् । 

सत्तालाई गलाउन र न्याय माग गर्ने सबैभन्दा बलियो र अन्तिम हतियारको रूपमा अनशनलाई लिने गरिन्छ । 

भारतमा पनि महात्मा गान्धीले अनशनकै बलमा भारतबाट अंग्रेजको शासन हटाउन सफल भएका थिए ।  

न्याय दिने निकायले नै न्यायिक प्रक्रियामा त्रुटि गरेकाले अब कुनै उपाय नलागेर आफूहरू धर्नामा बस्नुपरेको यज्ञराज पन्तले बताएका छन् । ‘प्रहरी नै अपराधी बचाउन लागे, सरकारले केही गरेन । अब हामीले कसरी न्याय पाउने ? केही उपाय नदेखेरै हामी धर्नामा बसेका हौँ,’ पन्तले भने ।

अधिकारकर्मी चन्द पनि न्याय नपाउँदासम्म विरोध र दबाबका विभिन्न कार्यक्रम जारी राख्ने बताउँछिन् । ‘सडकमा उत्रेर पनि आन्दोलन गर्यौँ । तर, सधैँ सडकमा आन्दोलन गरेर पनि हुँदैन । अब नैतिक दबाब दिनुपर्छ भन्ने ठानेर धर्ना कार्यक्रम सुरु गरेका हौँ,’ चन्दले भनिन् ।

निर्मलाका बुवाआमा आजदेखि धर्ना बस्दै
 

  • प्रकाशित मिति : कात्तिक २५, २०७५ आइतबार १६:३८:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया