रानीपोखरी पुनर्निर्माण : बालगोपालेश्वरको ‘गुम्बज’ शैलीमा पुनर्विचार गर्न निर्देशन
ग्रन्थकुट शैलीमा पुनर्निर्माण गर्न विज्ञ समितिकाे सुझाब

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले रानीपोखरीको बालगोपालेश्वर मन्दिरको गुम्बज शैलीमा पुनर्निविचार गर्न पुरातत्व विभागलाई निर्देशन दिएका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली, काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र पुरातत्व विभागका प्रतिनिधिहरूको उपस्थितमा आइतबार बसेको बैठकले मन्दिरको शैलीमा पुनर्विचार गर्न निर्देशन दिएको हो ।  

रानीपोखरीमा रहेको बालगोपालेश्वर मन्दिरको पुनर्निर्माण सम्बन्धमा काठमाडौं  महानगरपालिकाद्वारा गतवर्ष १३ पुसमा मा गठन गरेको विशेषज्ञ समिति तथा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट गत १७ कात्तिकमा गठन भएको विज्ञ समितिबाट प्राप्त प्रतिवेदनहरूले उक्त मन्दिरलाई ग्रन्थकुट शैलीमा पुनर्निर्माण गर्न सुझाब दिएकाले उल्लेखित प्रतिवेदनहरूलाई समेत आधार मानी पहिलेको गुम्बज शैलीमा पुनर्विचार गरी आवश्यक कार्य अघि बढाउन पुरातत्व विभागलाई निर्देशन दिने निर्णय बैठकले गरेको हो ।  

पछिल्लो समय बालगोपालेश्वर मन्दिर गुम्बज शैलीमा बनाउने कि ग्रन्थकुट शैलीमा बनाउने भन्ने विवाद थियो । पुरातत्व विभागले गुम्जब शैलीमा निर्माण थाले पनि विवादका कारण बीचमै काम रोकिएको थियो । 

बैठकले रानीपोखरीमा रहेको बालगोपालेश्वर मन्दिर र पोखरीको पुनर्निर्माणमा आवश्यक समन्वय, सहजीकरण र अनुगमनका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको संयोजनमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पुरातत्व विभाग, काठमाडौं महानगरपालिका एवं सम्बन्धित विज्ञहरूको समेत प्रतिनिधित्व रहने गरी रानीपोखरी पुनर्निर्माण समन्वय तथा अनुगमन समिति गठन गर्ने र यसका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण एवं काठमाडौं महानगरपालिकाले आवश्यक बजेटको व्यवस्था मिलाउने निर्णय पनि गरेको छ । 

पुरातत्व विभागका पूर्वमहानर्दिशक विष्णुराज कार्की, सम्पदाविद् डा. सुदर्शनराज तिवारी, स्ट्रक्चरल इन्जिनियर एवं प्राध्यापक डा. प्रेमनाथ मास्के, सहरी योजनाविद् एवं पूर्वमहानिर्देशक सूर्यभक्त साँगाछेसहितको विज्ञहरूको टोलीले सोमबार मात्रै ग्रन्थकुट शैलीमा मन्दिर निर्माणका लागि आधारसहितको प्रतिवेदन दिएको थियो ।



प्रतिवेदनमा मन्दिरको जीर्णोद्धार गर्दा हाल प्रयोग भएको सिमेन्ट कंक्रिटको संरचना हटाई मल्लकालीन स्वरूप तथा निर्माण सामग्री प्रयोग गरी निर्माण गर्ने, ग्रन्थकुट शैलीमा निर्माण गरिने मन्दिरको जग पुरानै सामग्री र विधिमा भारवहन क्षमता रहने गरी निर्माण गर्ने  र जगको किसिम तथा अवस्था यकिन गर्न गर्भगृहको उत्तर–दक्षिण वा पूर्व–पश्चिम क्रस उत्खनन गर्ने पनि उल्लेख छ ।

यसअघि गठन भएको विज्ञहरूको समितिले पनि बालगोपालेश्वरको मन्दिर ग्रन्थकुट शैलीमा निर्माण गर्न सुझाब दिएको थियो । त्यसमा पुरातत्व विभागको असहमति रहेकाले विवाद बल्झिएको थियो । विवादलाई अन्त्य गर्नका लागि प्राधिकरणले विज्ञ विष्णुराज कार्कीकै संयोजकत्वमा अर्को टोली बनाएको थियो ।



रानीपोखरी पुनर्निर्माणअन्तर्गत पोखरीको पुनर्निर्माण सम्बन्धमा काठमाडौं महानगरपालिकाद्वारा प्रस्तावित डिजाइन तथा यस सम्बन्धमा हाइड्रोलोजिस्ट तथा जियोलोजिस्टहरूको टिमले दिएको सुझाबअनुसार रानीपोखरीको पिँधमा कालो माटो र बालुवाजस्ता निर्माण सामग्रीहरूको प्रयोग गरी निर्माण कार्य अघि बढाउने, पोखरीको वरिपरिको सबैभन्दा तल्लो खण्डमा कालोमाटोको प्रयोग गर्ने र सबैभन्दा बाहिरी भागमा इँटाको क्लेडिङ गर्ने र पोखरीको वरिपरिको फुटपाथमा सुर्खी मोर्टारको सट्टामा ढुंगाको धुलो प्रयोग गर्ने याेजना छ । 

  • प्रकाशित मिति : कात्तिक २५, २०७५ आइतबार १७:११:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया