पूर्वमाओवादी एक हुने प्रचण्ड अभिव्यक्तिः अस्तित्व संकटमा परेपछिको ‘अफवाह’

राम्ररी अँगालो पनि मार्न नपाउँदै नेकपा एमाले र माओवादी केन्द्र पुनः आ–आफ्नै बाटो लागेका थिए । ३ जेठ ०७५ मा यी दुई वामपार्टीबीच एकता भए पनि त्यसले पूर्णता नपाउँदै पूर्ववत् अवस्थामा फर्कनुपरेको थियो । एमाले अध्यक्ष केपी शर्मा ओलीसँग अन्तरसंघर्ष जारी राख्दै गर्दा ०७७ फागुन २३ मा सर्वोच्च अदालतले दुवै पार्टीलाई पूर्ववत् अवस्थामा फर्काइदिएको हो । 

त्यसयता, एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आ–आफ्नै रणनीतिमा जुटेका छन् । एमालेले चुनावलाई पनि प्रभाव पार्ने गरी आगामी मंसिर १० गतेदेखि राष्ट्रिय महाधिवेशन आयोजना गर्ने भएको छ । एमालेले यो महाधिवेशनलाई निकै भव्य बनाउने तयारी गरेको छ । उता, माओवादीले पनि पुससम्म पार्टीको राष्ट्रिय सम्मेलन गर्ने गरी आन्तरिक तयारी अघि बढाएको छ । 

राजनीति दलले आवधिक रुपमा महाधिवेशन गर्नु कुनै ठूलो कुरा भएन । देशका तीनवटै ठूला पार्टी (एमाले, नेपाली कांग्रेस र माओवादी) ले आवधिक महाधिवेशन गर्न अग्रसर हुनु स्वाभाविक छ । तर यही पृष्ठभूमिबीच माओवादी अध्यक्ष प्रचण्डले आफू भने केही समयअघिदेखि नै बृहत वामएकताको प्रयासमा लागिरहेको बताउँदै आएका छन् । हिजो सँगै जनयुद्ध लडेका सहयात्रीहरूले छाडेपछि कमजोर बनेका प्रचण्ड अब उनीहरुलाई नै फर्काएर माओवादी जगाउने अभियानमा जुटेका हुन् ।

टुक्राटुक्रामा विभक्त अन्य कम्युनिस्ट पार्टीबीच तत्काल एकता सम्भव नभए पूर्वमाओवादी पार्टीहरूबीच भने पनि एकता गर्नुपर्ने प्रचण्डको भनाइ छ । 

पूर्व माओवादीका आ–आफ्नै रुप 

२००६ सालमा नेपालमा कम्युनिस्ट पार्टी स्थापना भएपछि फुटका अनेक रुप देखिए । पहिलो पटक २०१९ को तेस्रो महाधिवेशनपछि नेकपामा विभाजन बीऊ रोपिएको थियो । त्यो बीऊले अहिले पनि फूल फुलाइरहेको देखिन्छ । २०४३ सालमा सेक्टर कान्डपछि पार्टी नेतृत्वमा उदाएका प्रचण्ड एकता र विभाजन दुवै परिघटनामा पार्टीको नेतृत्वमै रहे । 



माओवादी पृष्ठभूमिबाट आएका नेताहरुका अहिले आ–आफ्नै दल छन् । मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, नेत्रविक्रम चन्द ‘विप्लव’को नेकपा, विश्वभक्त दुलाल ‘आहुति’ नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी र गोपाल किराँती नेतृत्वको नेकपा माओवादी मोर्चा अहिले अस्तित्वमा छन् । 

माओवादी छाडेर नयाँ शक्ति हुँदै जसपामा समाहित भएका डा. बाबुराम भट्टराईले माओवादमात्र नभई मार्क्सवाद नै त्यागेको घोषणा गरिसकेका छन् ।  



रामबहादुर थापा ‘बादल’सहित केही नेता एमालेमा प्रवेश गरेकाले छुट्टै अस्तित्वमा छैनन् । नेकपा विभाजनपछि बादलसहित टोपबहादुर रायमाझी, प्रभु साह, लेखराज भट्ट, मणि थापाजस्ता सशस्त्र द्वन्द्वताका प्रभावशाली नेता एमाले प्रवेश गरेका छन् । यी सबै नेताहरुले प्रचण्डको नेतृत्व क्षमतामा कमजोरी देखाउँदै चर्को आलोचना अहिले पनि गर्न छाडेका छैनन् । 

विप्लवसँग एकता कति सम्भव ? 

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग ३ बुँदे सहमति गरेर शान्तिपूर्ण राजनीतिमा आएका विप्लव समूहसँग एकताका लागि छलफल भइरहेको प्रचण्डले बताएका छन् । 

०७१ मंसिरमा नयाँ पार्टी बनाएर प्रचण्डसँग छुट्टिएका विप्लव त्यसपछि गत ३० असारमा एकपटक मात्र उनीसँग भेटेका छन् । पार्टीका नेता धर्मेन्द्र बास्तोलालाई लिएर प्रचण्ड निवास पुगेका थिए, विप्लव । 

बिरामी भएर बसेकी प्रचण्डपत्नी सीता दाहाललाई भेटेको तस्विरको खुबै चर्चा पनि भएको थियो । विप्लव शान्ति प्रक्रियामा आएदेखि प्रचण्डले धेरैपटक एकताको कुरा कोट्याइसके । 

आज (शुक्रबार) मात्रै पार्टी कार्यालय पेरिसडाँडामा विप्लवकै कार्यकर्ता पार्टी प्रवेश गराउँदै प्रचण्डले सोही कुरा दोहोर्याए । विप्लवलगायतका नेताहरुसँग अंकमाल गर्नका लागि आफूलाई हतार भइसकेको उनले बताए । 

के भन्छन् प्रकाण्ड ?

विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ भने यसलाई प्रचण्ड ‘क्राइसिस’मा परेपछि फैलाएको अफवाहको रुपमा लिन्छन् । माओवादी केन्द्र फर्कनका लागि प्रचण्डसँग तपाईंहरुको छलफल भइरहेको हो ? भन्ने फरकधारको प्रश्नमा प्रकाण्डले भने, ‘यो अफवाह फैलाउने भाषणबाहेक अरु केही होइन ।’

उनले थपे, ‘त्यो उहाँहरु (प्रचण्ड)को कुरा हो । सायद उहाँ भयंकर क्राइसिसमा हुनुहुन्छ । विघटनको संघारमा हुनुहुन्छ । अस्तित्व रक्षाको संकटमा हुनुहुन्छ । सायद त्यसैले हल्लाखल्ला फैलाएर, अफवाह फैलाएर मत्थर गर्न खोज्नुभएको होला । चुनावसम्म कार्यकर्तालाई थेग्ने प्रयास पनि हुन सक्छ । उहाँले बाहिरचाहिँ एकता गर्दै छौं भन्ने, तलदेखि माथिसम्म हेर्ने हो भने उहाँको निशाना हाम्रा पार्टीको विरुद्धमा देखिन्छ । कांग्रेससँग गठबन्धनमात्र होइन, हिजो एमालेसँग त पार्टी एकता नै गर्नुभयो । अहिले कांग्रेससँग गठबन्धन गरेर, मधेसवादीहरुसँग गठबन्धन गरेर हाम्राविरुद्ध गाउँदेखि केन्द्रसम्म लागेको देखियो । सायद यही अपराधबोधको अभिव्यक्ति प्रचण्डले पटकपटक प्रकट गरेको पनि हुन सक्छ । यो अफवाह फैलाउने भाषणबाहेक अरु केही होइन ।’ 

माओवादीसँग एकता असम्भवः सीपी गजुरेल 

प्रचण्डसँगै युद्धको मोर्चामा कमान्डर बनेर हिँडेका मोहन वैद्य अहिले नेकपा क्रान्तिकारी माओवादी नेतृत्व गरिरहेका छन् । सो पार्टीका महासचिव सीपी गजुरेल माओवादीसँग तत्कालको अवस्थामा एकताको कुनै सम्भावना नभएको तर्क गर्छन् । तपाईंहरु प्रचण्डसँग एकताका लागि छलफल गरिरहनुभएको छ भन्ने प्रश्नमा गजुरेलले भने, ‘यथार्थमा हाम्रो पार्टी एकता हुन सक्ने आधार नै बनेको छैन । त्यो प्रयास पनि उन प्रचण्ड)ले गरेका छैनन् ।’ 

उनी माओवादीसँग एकता असम्भव देख्छन् । उनी थप्छन्, ‘अरूसँग हुन लागेको हो भने हामीले भन्ने कुरा भएन । यथार्थमा हाम्रो पार्टी एकता हुन सक्ने आधार बनेको छैन । त्यो प्रयास पनि उनले गरेका छैनन् । यति धेरै अन्तर छन्, विचार, राजनीति, योजना, कार्यदिशा केही मिल्दैन कसरी हुन्छ पार्टी एकता ? त्यो मिल्नका निम्ति आफूले गल्ती गरेको कुरालाई स्वीकार्न पर्यो, हामी सच्चियौं भन्नुपर्यो । अनिमात्र पार्टी एकता अब सम्भव छ भनेर प्रस्ताव ल्याउनुपर्यो । पार्टी एकता गर्नका निम्ति वार्ता कमिटी गठन गर्नुपर्यो । त्यस्तो केही नभई सार्वजनिक रुपमा एकता हुनै आँट्यो जसरी भाषण मात्र गरेर हुन्छ ? योचाहिँ जिम्मेवार पार्टीको नेताले गर्ने काम पनि होइन । यो गलत कुरा हो । यो तत्काललाई सम्भव देखिँदैन । 

माओवादीबाट छुट्टिएका विश्वभक्त दुलाल ‘आहुति’ अहिले वैज्ञानिक समाजवादी पार्टीको नेतृत्व गरिरहेका छन् । उनी पनि माओवादीसँग एकताको लागि कुनै सम्भावना नभएको बताउँछन् । 

प्रचण्डले त्यस्ता उत्तेजित भाषण गर्दै हिँड्नुचाहिँ अस्तित्वको संकट चुलिएपछिको अभिव्यक्ति भएको उनको भनाइ छ । उनले फरकधारसँग भने, ‘प्रचण्डले किन यस्तो बोलिरहनुभएको छ, त्यो उहाँलाई नै थाहा होला । हामीसँग एकताका लागि कुनै कुरा भएको छैन । हाम्रो केही अजेन्डा पनि छैन ।’ 

आहुति के भन्छन् ? 

प्रचण्डले किन यस्तो बोलिरहनुभएको छ त्यो उहाँलाई नै थाहा होला । हामीसँग एकताका लागि कुनै कुरा भएको छैन । हाम्रो केही अजेन्डा पनि छैन । उहाँहरुको कुनै योजना हामीलाई थाहा नभएको हुन पनि सक्छ । त्यसको  एउटा मुख्य कारणचाहिँ अस्तित्वको संकट र कार्यकर्तालाई चुनावको लागि उत्साहित पार्नेखालको नै देखिन्छ । बाबुराम पनि माओवादी हुन् र ? मार्क्सवाद नै नमान्ने मान्छेलाई कसरी पूर्वमाओवादी भएर एक हुन लागेको भन्ने ? वैद्यजीसँग सम्भावना म देख्दै देख्दिनँ । उहाँ (वैद्यजी) बाहेककाले प्रचण्डसँग कुरा गर्नुभएको भए मैले जानिन । अर्कोचाहिँ महराले पनि अस्ति दाङतिर बोलेका थिए । विप्लवजीहरुको औपचारिक–अनौपचारिक कुरा भएको हुन सक्छ महराले गरेको कुराकानी जोड्दा । 

प्रभु साहसहितका नेतालाई तान्ने प्रयास 

२३ फागुनमा सर्वोच्च अदालतले नेकपा विभाजन गरिदिएपछि प्रचण्डले नसोचेका आफूनजिकका पात्रहरू गुमाउनुपर्यो । जनयुद्ध छाडेर शान्ति प्रक्रियामा आएपछि प्रचण्डले वैद्य, गजुरेल र विप्लवलाई २०६९ सालमै गुमाएका थिए । त्यसबेला साथ छाडेका बादल पार्टीमा त फर्किए, तर अहिले आएर ओलीका बलियो सहयात्री बनिदिएका छन् । ५ पुसपछिको राजनीतिक घटनाक्रमपछि प्रचण्डले आफ्नै किचेन क्याबिनेटका खास व्यक्ति गुमाए । 

जनयुद्धदेखि लामो समय साथ दिएका रामबहादुर थापा ‘बादल’, सुदूरपश्चिमका कुशल कमान्डर लेखराज भट्ट, तराई–मधेसमा राम्रो प्रभाव जमाएका प्रभु साह, सुदूरपश्चिमका प्रभावशाली नेता गौरीशंकर चौधरी, नजिकका विश्वासपात्र मणि थापा, दावा तामाङसहितका सहयोद्धा पछिल्ला दिनमा गुमाएका हुन् । 

ओलीको क्याबिनेटमा सहभागी बनेका ती नेता अहिले प्रचण्डको आलोचनामा व्यस्त छन् । माओवादीका एक नेताका अनुसार तीमध्ये केही नेतालाई तान्ने गरी प्रचण्डले प्रयास गरिरहेका छन् । 

माओवादी स्थायी कमिटी सदस्य समेत रहेका ती नेताका अनुसार माओवादीबाट एमाले प्रवेश गरेकाहरूलाई ओलीले पार्टीमा राम्रो ठाउँ नदिने प्रचण्डको बुझाइ छ । ती नेताले फरकधारसँग भने, ‘विप्लवसहित आउने कुराचाहिँ म गर्दिनँ, तर पछिल्लो समय माओवादी छाडेर गएका नेताहरुलाई फर्काउने प्रयासचाहिँ भइरहेको छ ।’ 

विप्लवलगायतका नेताहरुलाई माओवादीमा फर्काउनका लागि पनि प्रयास भइरहेको हुन सक्ने उनको अनुमान छ । ‘भित्रभित्रै कुरा भइरहेको होला । नभए पनि वामपन्थीहरु एकठाउँमा आउनुस् भनेर हामीले त भन्नैपर्यो नि,’ ती नेताले भने । 

  • प्रकाशित मिति : कात्तिक २६, २०७८ शुक्रबार १६:१८:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया