अर्गली मगरले मनाए भुस पोल्ने पर्व

बागलुङको ताराखोला गाउँपालिकाका मगर समुदायले ऐतिहासिक भुस पोल्ने मेला भव्यताका साथ मनाएका छन् । 

कोरोनाको कारण विगतका दुई वर्ष औपचारिकतामा सीमित उक्त पर्व यो वर्ष हर्षोल्लासका साथ मनाइएको हो । ताराखोला वडा–२ अर्गलमा प्रचलित सो पर्व वर्षेनी कात्तिक २४ देखि २६ गतेसम्म मनाइन्छ ।

सदियौंअघि पाल्पाको अर्गलीबाट बसाइसराइ गरी आएका मगरका पूर्वजले पर्वको चलन बसालेको वडाध्यक्ष भद्रबहादुर घर्ती बताए । अर्गलमा खोरिया खनी थातथलो बसाएको र खेती सुरु गरेको दिनको सम्झनामा भुस पोल्ने पर्व मनाउने गरिन्छ ।

पर्वका अवसरमा प्रकृति पूजाका साथै भुस पोल्ने, छापे खन्ने, मृत्यु संस्कारलगायत सांस्कृतिक गतिविधि हुन्छन् । ताराखोला क्षेत्रमा त्योसँगै परम्परागत सिस्नो खोस्ने, असारे, भदोरै जस्ता मेला, पर्व प्रचलित छन् । त्यहाँको मगर समुदायले सयौं वर्ष पुरानो सांस्कृतिक परम्परालाई धान्दै आएको छ ।

भुस पोल्ने पर्वतको नेतृत्व अर्गल संस्कृति संवर्द्धन समितिले नेतृत्व गर्दै आएको छ । पर्वको अवसरमा ताराखोला गाउँपालिकाले शुक्रबार सार्वजनिक बिदा दिएको थियो । ताराखोला गाउँपालिका–२ अर्गलमा मनाइने उक्त पर्व अर्गली मगरको चर्चित पर्व हो ।
 
ताराखोला क्षेत्रको अमरभूमि, अर्गल, हिल र तारा क्षेत्रका मगर समुदायले हरेक वर्ष कात्तिक २४ गते भुस पोल्ने र शंखुवारी खन्ने, २५ गते पितृ कार्य र २६ गते छापो खन्ने वा अर्गासी खनेर मनाउने अर्गलका वडाध्यक्ष घर्तीले बताए ।  स्थानीय बुढापाकाले बारीमा जौ छरेपछि युवायुवतीले बारी खन्ने गर्छन् ।

कात्तिक २४ गते अर्गलको शंखुवारीमा आगो बालेको धुवाँ देखेपछि हिल र हिलको धुवाँ देखेपछि ताराखोलामा भुस पोल्ने चलन रहेको अर्गल माविका शिक्षक सूर्यबहादुर घर्तीले जानकारी दिए । भुसको रूपमा वर्खेबाली मकै, कोदोको डाँड पोल्ने गरिन्छ ।





  • प्रकाशित मिति : कात्तिक २६, २०७८ शुक्रबार १८:३७:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया