सेयर बजार अन्य चिजभन्दा फरक छ, बुझेर लगानी गरौं

सेयर बजारमा समयसमयमा निकै उतार चढाव भइरहन्छ ।  अर्थात् विभिन्न कम्पनीमा लगानीकर्ताहरूले गर्ने लगानीको फ्लो कहिले बढी त कहिले घटी भइरहन्छ । यो नयाँ कुरा बिलकुलै होइन । खासगरी बजारमा राजनीतिक परिवर्तन, सरकारको नयाँ नीति अर्थात् नियामक निकायको आधिकारिक धारणा वा कुनै निर्देशनहरूले यस्ताखाले उतारचढाव ल्याउने गर्छ । 

स्वभावतः पछिल्लो समय पनि सेयर बजारमा निकै उतारचढाव देखिएको छ । नेपाल राष्ट्र बैंकले जारी गरेको नयाँ निर्देशनले झनै पछिल्लो समय बजारमा अस्वाभाविक उतारचढावको अवस्था आएको हो । खास यसको कारण, देशको अर्थ बजारमा तरलता अभाव नै हो । अहिले सेयर बजार ३२ सयबाट घटेर २५ सयभन्दा तल आइसकेको छ । यसको अर्थ लगानीकर्ताहरूसँग पर्याप्त लगानीको अभाव भएको पनि हो । ब्याजदर घट्दा कम ब्याजदरमा रकम पाइने हुँदा लगानीकर्ताहरु पैसा हाल्न तयार हुन्छन् भने ब्याजदर बढ्दा लागत बढ्ने हुँदा अन्य मार्केट जस्तै सेयर बजारमा लगाइने लगानी पनि घट्छ ।   

यसको अर्थ बजारमा ठूलो प्रभाव देखिने भनेको अलि बढी लगानी गर्ने मानिसहरुले गर्दा हो । एकदमै थोरै लगानी गर्नेहरुका कारण त्यति धेरै असर गरेको देखिँदैन । नेपाली सेयर बजार विस्तारै माथि उठेको छ, बजार परिपक्व भइरहेको छ । बजारमा कम लगानी गर्ने र बढी लगानी गर्ने लगानीकर्ताहरु निरन्तर आइरहेका नै हुन्छन्  । तर सबै लगानीकर्ताले नाफा कमाउनका लागि नै बजारमा आउने भएकाले सेयरको मूल्य बढ्दा आकर्षण बढ्ने र मूल्य घट्दा आकर्षण घट्ने हुन्छ । समग्रमा बजारमा लगानीकर्ताको स्वभावले नै सेयर मूल्य घटबढ वा उतारचढाव हुने हो । 

सेयर बजारमा दुई किसिमका लगानीकर्ता रहन्छन् । एकथरि, लामो समयका लागि बढी लगानी गर्ने र अर्काथरिचाहिँ अलिकति मूल्य बढ्नेबित्तिकै बेच्ने र घट्नेबित्तिकै किन्ने हुन्छन्  । बजार स्थायी बन्ने भनेको दीर्घकालीन सोेच राखेका लगानीकर्ताहरूका कारण हो ।  छोटो समयका लागि लगानी गर्नेहरु डराउने गर्छन् । खासगरी, दीर्घकालीन रुपमा लगानी गर्नेहरु सेयर घट्दा पनि डराउँदैनन्, किनकि उनीहरुसँग समय हुन्छ । तर छोटो समयका लागि लगानी गर्नेहरु केही अप्ठेरोमा पर्छन् । बजारमा लामो समयको लागि लगानी गर्दा कम जोखिम हुन्छ भने बजारको इन्डिकेटर हेरेर लगानी गर्नेहरू चाहिँ अलि बढी जोखिममा रहन्छन् । लगानीकर्ताहरूले व्यक्तिगत रुपमा जे आवश्यकताका लागि बजारमा लगानी गरे पनि यसको उद्देश्य नाफा कमाउनु नै हो । 

सेयर बजारमा नियामक निकायका आधिकारिक व्यक्तिले बोल्ने कुरा र नयाँ नीति–निर्देशनले विशेष असर पारेको हुन्छ । यो कुरा यहाँ मात्रै होइन अन्तर्राष्ट्रिय सेयर बजारमा पनि हुने गर्छ । हाम्रोमा अर्थमन्त्री वा केन्द्रीय बैंकको गभर्नरले केही बोल्दा बजारमा असर परेको देखिन्छ । त्यसकारण बजारलाई व्यवस्थित बनाउन उहाँहरु संयम हुन जरुरी छ । किनभने नियामक निकाय त अभिभावक पनि हो नि । अभिभावकले नकारात्मक कुरा गरेमा नकारात्मक असर पर्छ भने सकारात्मक कुरा गरे सकारात्मक असर पर्छ । कुनै अभिव्यक्ति वा नीतिहरुले तत्काल असर देखाउँछ भने कुनैले लामो समयपछि असर देखाउने गर्छ ।  

नेपाली सेयर बजार विस्तारै उकालो लागिरहेको छ । तर यो क्षेत्रमा बजारबारे ज्ञान लिएर आउनेहरु निकै कम छन् ।  पछिल्लो समय धमाधम लगानी बढिरहनुको कारण डिजिटल प्रणालीले हो ।  अहिले घरमा बसीबसी एक/दुई हजार रुपैयाँ लगानी गर्ने चलन बढेको छ । उनीहरू आए आउँछ, गए जान्छ भन्ने तरिकाले बजारमा आएका हुन्छन् । प्राविधिक ज्ञान लिएर आउनेहरु निकै कम छन् । लगानीकर्ताले आफूले लगानी गर्न लागेको कम्पनीबारे पहिल्यै ध्यान दिएको हुन्छ । यद्यपि, अझै पनि प्रायः साना लगानीकर्ताले अध्ययन गरेर लगानी गर्ने अवस्था बनेको छैन ।



पछिल्लो समय बैंकिङ प्रणाली डिजिटल बन्दै गएपछि लगानीकर्ताहरूलाई निकै सजिलो भएको छ । यही कारण लगानीकर्ताहरुको फ्लो बढिरहेको देखिन्छ । तर बजारमा नयाँ लगानीकर्ताहरूले प्राविधिक विश्लेषण गरेर आउन भने सकिरहेका छैनन् ।  

सेयर बजार अन्य चिजभन्दा बेग्लै र बढी प्राविधिक (टेक्निकल) छ । हामीले दैनिक जीवनमा खरिद गर्ने अन्य चिजजस्तो सजिलो सेयर बजार छैन । त्यसकारण चाहना राख्दैमा यसबारे बुझ्न पनि गाह्रो छ ।  तर पछिल्लो समयमा प्रविधिले सहज बनाएको छ । इन्टरनेटमै पनि बजारबारे बुझ्नका लागि पढ्ने थुप्रै सामग्री पाइन्छ । भिडियोहरू हेर्न पाइन्छ । यतातिर ध्यान दिएर मात्रै लगानी गर्नु उपयुक्त हुन्छ । 



अहिले लगानीकर्ताहरूले कम्पनी कसको हो, यसमा कसले लगानी गरिरहेका छन् भन्नेतिर बढी ध्यान दिएको हो कि जस्तो पनि देखिन्छ । यसो भन्दा पनि सेयर बजार के हो र यहाँ कस्ता विषयले अर्थ राख्छ भन्ने कुराबारे अध्ययन गर्न सक्दा यो क्षेत्र थप परिपक्व बन्नेछ । 

(लेखक भट्टराई सेयर बजार विश्लेषक हुन् । उनका सेयर बजारसम्बन्धी थुप्रै किताब प्रकाशित छन् ।)

  • प्रकाशित मिति : कात्तिक २७, २०७८ शनिबार १४:२:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया