निर्मला कुर्मी बेपत्ता घटनाका मुख्य आरोपीलाई पक्राउ गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय बाँकेमा अनिश्चितकालीन धर्ना सुरु गरिएको छ ।
महिला अधिकार मञ्च बाँकेको नेतृत्वमा आजदेखि जिल्ला प्रशासन कार्यालयअगाडि अनिश्चितकालीन धर्ना दिन थालिएको मञ्चकी अध्यक्ष रुवी खानले बताइन् । शनिबार दिउँसो २ः३० बजेदेखि अनिश्चितकालीन धर्ना सुरु गरिएको उनले बताइन् ।
निर्मलाको अपहरण, शरीर बन्धक गरी कर्तव्य ज्यान मुद्दामा छानबिन समितिले मुख्य अभियुक्तसहित सबैलाई पक्राउ गरेर थप अनुसन्धान गर्न सुझाब दिएको थियो । सोही आधारमा मुख्य अभियुक्त रहेका संविधानसभा सदस्य बादशाह कुर्मीलाई अहिलेसम्म पनि पक्राउ नगरेको भन्दै बाँकेका अधिकारकर्मी आन्दोलित बनेका हुन् ।
प्रहरीले उक्त घटनाका आठजना अभियुक्तलाई भने पक्राउ गरेर अनुसन्धान अगाडि बढाइसकेको छ । तर, बादशाहलाई पक्राउ गर्न अदालतले नै हाजिरी जमानीमा रिहा गरेकाले पक्राउ गर्न नमिल्ने बताउँदै आएको छ ।
मृतक महिलाका आफन्त, स्थानीय तथा अधिकारकर्मीले भने उनलाई पक्राउ गरेर हिरासतमा लिएर आवश्यक अनुसन्धान गर्न माग गर्दै आएका छन् ।
यसअघि कात्तिक २६ गते प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाइएको थियो । निर्मला बेपत्ता घटनाका मुख्य आरोपीलाई उन्मुक्ति दिन खोजिएको भन्दै २४ घण्टाभित्रमा पक्राउ गरी कानुनी कारबाही अगाडि बढाउन माग गरेका थिए ।
उनीहरुले बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीलाई ज्ञापनपत्र बुझाउँदै २४ घण्टाभित्र पक्राउ नगरे पुनः आन्दोलन अगाडि बढाउने चेतावनी दिएका थिए । यसअघि उक्त घटनाका आरोपितलाई पक्राउ गर्न माग गर्दै १९ दिन जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिइएको थियो ।
त्यस्तै, स्थानीयसहित अधिकारवादी २० दिन पैदल हिँडेर काठमाडौंसम्म आएका थिए । उनीहरु १२ दिनसम्म आमरण अनसन बसेपछि गृह मन्त्रालयले छानबिन समिति गठन गरेको थियो ।
छानबिन समितिले उक्त घटनाको मुख्य अभियुक्त नै बादशाह भएकाले उनीसहित सबैलाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाउनुपर्ने सुझाब दिएको थियो । समितिको उक्त प्रतिवेदनपछि घटनामा मुछिएका ८ जनाले नै प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए । तर, बादशाह भने अदालतबाट हाजिरी जमानीको आदेश लिएर बाहिर छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।