कम्युनिस्ट एकता सम्भव छ : विप्लव

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले कम्युनिस्ट पार्टी एकता सम्भव रहेको बताएका छन् । विप्लवले धनगढीमा भएको नेपाल दलित मुक्तिमोर्चाको पाँचौँ राष्ट्रिय सम्मेलनका उद्घाटन कार्यक्रममा यस्तो बताएका हुन् । 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट पार्टीबीच एकता गर्ने तयारी रहेको बताइरहेको बेला विप्लवले माओवादी केन्द्रसँग मात्र एक नभई समग्र कम्युनिस्ट पार्टी एक हुने बताए । 

आफूहरुले कुर्सीको लागि लड्नेभन्दा पनि जनताको लागि लड्नेसँग एकता गर्न चाहेको उनले दाबी गरे । उनले सहिदका नाममा व्यापार भइरहेको आरोप लगाए । सत्तामा गएपछि सहिदका सपना बिर्सिने गरेको उनले बताए ।

 ‘सत्ताबाहिर हुँदा सहिदका कुरा गर्ने, तर सत्तामा पुगेपछि सहिदलाई बिर्सिने गरेको छन्,’ उनले भने, ‘नेपाल कम्युनिस्ट पार्टी सहिदका सपना पूरा गर्नतर्फ उन्मुख छ ।’ 

यस्तै, नेता विप्लवले जातीयवादविरुद्ध नेपाल कम्युनिस्ट पार्टी डटेर लाग्ने बताए । जातीय भेदभाव गर्नेहरु अरुको पसिना लुटेर खान खोज्नेहरु रहेको बताउँदै चन्दले तरबार र बन्दुकको बलमा विभेद गर्न खोजिन्छ भने तरबारको समाना तरबारबाटै गर्ने चेतावनी दिए । 

उनले कसैको पनि रगत, श्रममा कुनै भेदभाव नभएको बताउँदै दलित शब्दलाई खारेज गर्नुपर्ने बताए ।
 
नेपाल कम्युनिस्ट पार्टीनिकट दलित मुक्ति मोर्चाको पाँचौँ राष्ट्रिय सम्मेलन धनगढीमा सुरु भएको हो । २९ कात्तिकसम्म हुने सम्मेलन उद्घाटनअघि धनगढीमा प्रदर्शनसमेत गरिएको थियो । 



सम्मेलनमा देशका ७७ वटै जिल्ला तथा भारत प्रवासबाट प्रतिनिधि, पर्यवेक्षक, स्वयंसेवक गरी साढे तीन सयजनाको सहभागिता रहको मोर्चाले जनाएको छ ।

सम्मेलनमा मुक्ति मोर्चाको आन्दोलनको समीक्षा, नयाँ विचार, रणनीति, कार्यदिशा, संगठनको नयाँ नाम र संरचना, नीति तथा कार्यक्रमलगायत विषयमा छलफल हुनेछ ।



  • प्रकाशित मिति : कात्तिक २७, २०७८ शनिबार १८:५७:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया