विदेशी सम्बन्धनबाट चलेका कलेज, विद्यार्थीमाथि ब्रह्मलुट
प्राडा विद्यानाथ कोइराला
फरकधार / २७ कात्तिक, २०७८

विदेशी डिग्रीको नाममा नेपालमा सन्चालन भइरहेका विदेशी विश्वविद्यालय वा कलेजबाट सम्बन्धन लिएका शिक्षण संस्थाले नेपाली शिक्षामा सिर्जना गरेको अवस्था अहिले दयनीय भएको छ । विदेशी डिग्रीको नाममा यस्ता कलेजले अहिले विद्यार्थी ठग्ने काम मात्र गरिरहेका छन् । तर, उनीहरुमाथि निगरानी गर्नु पर्ने सरोकारवाला निकाय, राज्य वा शिक्षा मन्त्रालय कसैले पनि उचित ध्यान दिन सकेका छैनन् । यता नेपालमा यो कमजोरी छ भने उनीहरुलाई सम्बन्धन दिने विश्वविद्यालयले पनि यसबारे ध्यान दिन सकेका छैनन् ।



यस्तो बदमासीले निम्त्याएको समस्याबारे बारम्बार विज्ञहरुले सुझाव नदिएका पनि होइनन् । तर, अहिलेसम्म कसैले यस्ता सुझाव सुने पनि कार्यान्वयन गरेको छैन । समस्याहरु समाधान भएका छैनन् ।

अलिक पहिलेको कुरा हो, म विश्वविद्यालय अनुदान आयोगमा थिएँ । त्यति बेला म आफैंले पनि यस्ता शिक्षण संस्थाबारे मैले एउटा विशेष नियम ल्याऔँ भनेको थिएँ । विश्वको र्याङ्किङमा एक हजारभन्दा तल परेका विश्वविद्यालयको मात्रै सम्बन्धन हामीले लिनु ठिक हुन्छ भनेको थिएँ । तर, यो विषयमा त्यति बेला चर्चा भए पनि कार्यान्वयन हुन सकेन ।
त्यही भएर अहिले जस्तो पायो त्यस्तो कलेजको, जस्तो पायो त्यस्तो विषयमा सम्बन्धन ल्याएर यहाँका व्यवसायीले लुट मच्चाइरहेका छन् । विद्यार्थीहरु माथि उनीहरुको ठगी चलिरहेको छ ।

अर्को कुरा, हामीले हामीसँग नभएका विषयहरुलाई मात्र सम्बन्धन दिन सकियो भने पनि यो क्षेत्रमा सुधार आउने थियो । हाम्रै विश्वविद्यालयमा भएका विषयहरुको सम्बन्धन लिन नदिऔँ, त्यस्ता कलेज वा विश्वविद्यालयलाई नेपालमा आउन नदिऔँ । हामीसँगै भएको विषयका कलेज थप्नुको अर्थ के हुन्छ र ? बरु हामीले त यतै भएकाहरुलाई थप बलियो बनाएर अगाडि बढ्नु पर्ने होइन र ?



उताबाट आउने वा विदेशबाट सम्बन्धनको नाममा पनि विद्यार्थीलाई मात्र ठग्ने र यताकाले पनि गुणस्तरमा ध्यान नदिने हुँदा थप समस्या बढ्दै जाने निश्चित छ । विदेशी सम्बन्धनको नाममा नेपालमा अभिभावक, विद्यार्थीहरु ढाँटिएका छन्, ठगिएका छन् । तर, सरकारले यसबारे पनि निश्चित नियम बनाउन सकेको छैन । सरकार लाचार बनिदिँदा व्यवसायीहरुले आफ्नो पैसा कमाउने भाँडोको रुपमा कलेज खोलिरहेका छन् । कतिसम्म भने उनीहरुले सम्बन्धन पाएपछि त्यहाँका विश्वविद्यालयलाई तिर्नु पर्ने पैसा पनि यहाँ विद्यार्थीहरुबाट नै उठाइरहेका छन् । आफ्नो सबै खर्च विद्यार्थीको टाउकोमा थोपरेर विदेशी सम्बन्धनका कलेजहरुले शिक्षालाई थप महङ्गो बनाएका छन्, थप अपारदर्शी बनाएका छन् ।

यस्ता कलेज चलाउनेहरुले राजनीति गर्नेहरुसँग सोझो सम्बन्ध बनाएका हुन्छन् । त्यही भएर पनि हुनुपर्छ, उनीहरुले गर्न खोजेका कामलाई राजनीति गर्नेले वा पदमा हुनेले पनि निर्धक्क छोडिदिएका छन् । यसले गर्दा उनीहरुलाई अनुगमन गर्ने कोही पनि भएनन् । यस्ता कलेजलाई अनुगमन गरेर कडिकडाउ नगर्ने हो भने केही वर्षमा नै नेपालमा शिक्षाको स्तर निकै खस्किन्छ, यहाँको शिक्षा क्षेत्र बेहाल हुन्छ ।

हो, सम्बन्धन दिएका विश्वविद्यालयहरूले पनि यहाँको गुणस्तरलाई ध्यान दिएका छैनन् । उनीहरुले पनि पैसा कमाउन पाए पुग्छ भन्ने धारणालाई प्रश्रय दिएको बुझिन्छ । यस्तो किन पनि भने उनीहरुले आफ्नो विश्वविद्यालयमा पढिरहेका विद्यार्थीको संख्या बढाउन पाउँछन् । तर, यता हिजोसम्म हाम्रो विश्वविद्यालयमा पढिरहेको एक जनाले त्यहाँ पढाउन थाल्छ । सर्टिफिकेटको नाममा विद्यार्थीसँग ती विश्वविद्यालयको डिग्री त होला तर विज्ञता, अनुभव र एउटा विद्यार्थीलाई जे चाहिने हो, त्यो उनीहरुसँग कहिल्यै नहुने भयो ।

देशमा विद्यार्थी ठगिरहेका यस्ता कलेजहरुलाई कसरी नियन्त्रण गर्ने भन्ने विषयमा अहिले व्यापक चर्चा गर्नु पर्ने आवश्यकता छ । निश्चित मानक भएका विश्वविद्यालयबाट मात्र नेपालमा सम्बन्धन आउन पाउने, यहाँ हामीसँग नभएका विषय मात्र ल्याउन पाउने व्यवस्था सरकारले जतिसक्दो छिटो गर्न सक्छ । यस्तो भयो भने अहिले देखिएको यो क्षेत्रको विकृति हट्दै जान्छ ।
यसका लागि विश्वविद्यालय अनुदान आयोगको सहयोग लिन सकिन्छ । यस्तो भएमा देशमा विदेशी सम्बन्धनका कलेजहरुले बढाइरहेको विकृतिलाई नियन्त्रण गर्दै समाधान गर्न सकिन्छ । तर, अहिलेकै जस्तो बेवास्ता गर्ने हो भने अहिले स्थिति जस्तो छ, त्यही नै निरन्तर अगाडि बढ्नुको अर्को विकल्प हुँदैन ।

यसरी विदेशी सम्बन्धन लिएका शिक्षण सँस्थाले यो पढाउँछु, त्यो पढाउँछु भनिरहेका छन् । तर, ती सम्बन्धित विश्वविद्यालयको पाठ्यक्रमअनुसार यहाँ पठनपाठन हुन सकेको छ त ?
यसको सहज जवाफ हो, सकेको छैन । त्यसका लागि पढाउने शिक्षकहरुको अवस्था के हो ? कसले पढाइरहेका छन् ? यो प्रश्नमाथि पनि गम्भीर चर्चा हुन जरुरी छ ।

अब नेपालमा विदेशी सम्बन्धनमा पठनपाठन गराइरहेका कतिवटा कलेजले आफ्ना शिक्षकलाई सम्बन्धित विश्वविद्यालयमा अध्ययन गर्न पठाएका छन् त ? यो पनि त छैन । यसको अर्थ हो उनीहरुले अहिले गुणस्तरीयतामा कुनै ध्यान दिएका छैनन् । नेपालीले नै पढाउने र अनि त्यो नेपालीलाई पनि कलेजले विश्वविद्यालयमा अध्ययनका लागि वा तालिमका लागि नपठाउँदा उसले राम्रोसँग पढाइरहेका छ भन्नका लागि पनि कुनै आधार हुने भएन ।

अर्को कुरा, कोर्ष विदेशी डिग्री भन्ने तर परीक्षा चाहिँ यहाँका कलेजहरुले नै लिने पनि गरेका छन् । अनि उनीहरुले लिने परीक्षा पनि विदेशका विश्वविद्यालयस्तरको हुँदैन । त्यसैले यसरी विदेशी सम्बन्धन लिएका कलेजहरुले गुणस्तरीयतालाई कहिल्यै ध्यान दिएका छैनन्, पैसा कमाउने मात्र उनीहरुको सोच छ, प्राथमिकतामा परेको छ ।

एउटा प्रसंग जोडौँ । कुनै बेला हामीले डेनिस युनिभर्सिटी अफ एजुकेसनसँग त्रिभुवन विश्वविद्यालयको सम्झौताअनुसार काम गरेका थियौँ । एमफिल र पिएचडीका कक्षाहरुका लागि सम्झौता भएको थियो । त्यति बेला त्यहाँका प्रोफेसरहरू यहाँ आएर पढाउँथे, हामी पनि उता गएर पढाउँथ्यौँ । यसले हामीहरुलाई दुई देशका विद्यार्थी, शिक्षाको तौरतरिकाबारे बुझ्न सहयोग गथ्र्यो ।

तर, अहिले विदेशी सम्बन्धनको नाममा सञ्चालकले विद्यार्थीमाथि ब्रह्मलुट मच्चाउने काम मात्र भइरहेको छ । यसले यस्ता शिक्षण संस्थाको औचित्यमाथि, सन्चालकमाथि, विश्वविद्यालय अनुदान आयोग र सम्बन्धन दिने विश्वविद्यालयको नियतमाथि नै प्रश्न उठाउन थालेको छ ।

यस्ता कलेजका अरु थुप्रै कमजोरी छन् । यसबारे सरकारले, सरोकार वाला निकायले समयमा नै ध्यान दिओस् ।

(काेइराला नेपालका शिक्षाविद् हुन् ।)

यही विषयका यी समाचार पनि पढ्नुहोस्--

सम्बन्धन लिनै नपाउने लिंकनको सम्बन्धनमा पठनपाठन गराइरहेका छन् यी कलेज​

मन्त्री र उच्च अधिकारीको मिलमतोमा हुँदैन विदेशी सम्बन्धनप्राप्त कलेजको अनुगमन

विदेशी सम्बन्धनप्राप्त कलेजमा छात्रवृत्ति कार्यान्वनयमा समस्या, अन्यौलमा शिक्षा मन्त्रालय

विदेशी सम्बन्धनको नाममा नेपालमा कलेजहरु गर्दैछन् मनोमानी

 

  • प्रकाशित मिति : कात्तिक २७, २०७८ शनिबार २१:७:५७,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया