Wed, 20 Nov, 2019


राप्रपा : कतिपटक फुटे, कतिपटक जुटे ?
फरकधार / कात्तिक २६, २०७५

काठमाडौं– पूर्वपञ्चहरूको पार्टीको रूपमा चिनिन्छ, राष्ट्रिय प्रजातन्त्र पार्टी अर्थात् राप्रपा । नेपालको राजनीतिक इतिहासमा कमयुनिस्ट पार्टीमा झैँ राप्रपामा पनि फुट्नु र जुट्नु नौलो कुरा रहेन । 



२७ वर्षे इतिहासमा राप्रपाको फुट र जुटको शृंखला लामो छ । 

पञ्चायतको अन्त्यसँगै ०४७ सालमा यो पार्टीको स्थापना भयोे । स्थापनाकालमै नेतृत्वमा विवाद आएपछि यसको टुट्ने प्रक्रिया सुरु भयो । ०४७ सालमा बहुदलको स्थापना भएसँगै पञ्चायतकालमा प्रधानमन्त्री भइसकेका नेताहरू सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्द एकै ठाउँ उभिए । मन्त्रीहरू पशुपति शमशेर जबरा, कमल थापा, रवीन्द्रनाथ शर्मालगायतले पनि हातेमालो गरे । 

देशमा आएको बहुदलीय व्यवस्थाअनुरूप उनीहरूले पार्टी स्थापना गरे । पार्टीको नामका सन्दर्भमा सहमति भयो, राष्ट्रिय प्रजातन्त्र पार्टी । 

पार्टी गठनको सुरुआती समयमै नेतृत्व चयनमा विवाद देखिएपछि पार्टी दुई समूहमा विभाजित भयो । त्यतिवेला पार्टीमा विकास भएका दुई धारको नेतृत्व दुई पूर्वप्रधानमन्त्रीले गरे । एउटाको नेतृत्व सूर्यबहादुर थापाले गरे भने अर्कोको नेतृत्व लोकेन्द्रबहादुर चन्दले । 

०४७ जेठ १५ गते यी दुई समूहले अलग–अलग पार्टीको रूप लिए । फलस्वरूप, राप्रपा (चन्द) र राप्रपा (थापा) नामका दुई पार्टी जन्मिए ।

एकैदिन पार्टी घोषणा गरेका दुई पार्टी एउटै नाममा निर्वाचन आयोगमा दर्ता हुन गएपछि आयोगले नै उनीहरूको नामको पछाडि चन्द र थापा थपिदिएको थियो ।

त्यतिवेला नयाँ पार्टीका रूपमा परिचित थिए दुई राप्रपा । बहुदल आएपछिको पहिलो चुनावमा पनि दुवै राप्रपाले चुनावमा भाग लिएका थिए । तर, परिणाम भने दुःखद् हात परेको थियो । 

पञ्चायतकालमा शासन जमाएर बसेका नेताहरूले बहुदल आएपछि व्यहोरेको हारले दुवै पार्टीमा तरंग ल्यायो । देशभर २ सय ५ निर्वाचन क्षेत्र रहेकामा थापा पक्षले एक र चन्द पक्षले तीन सिट मात्र हात पारेका थिए । चुनावी परिणामबाट असन्तुष्ट दुई समूह एकताको प्रयासमा जुटे । 

चुनावी हारको रन्कोबीच पूर्वपञ्चहरूको पार्टी एकता सम्भव पनि भयो । ०४८ सालको माघमा पार्टी एकता भयो । पार्टीको नाम राष्ट्रिय प्रजातन्त्र पार्टी रह्यो भने अध्यक्ष सूर्यबहादुर थापा बने । 

तर, यो एकता लामो समय टिक्न भने सकेन । 

०५१ सालमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले मध्यावधि चुनाव गराए । देशभरबाट १९ सिट हात पारेको राप्रपा त्यतिवेला तेस्रो शक्तिको रूपमा उदायो । कुनै पनि पार्टीले बहुमत नल्याएपछि मनमोहन अधिकारीको नेतृत्वमा अल्पमतको सरकार गठन भयो । 

अधिकारीको नेतृत्वको सरकार गिराउने खेलमा नेपाली कांग्रेसलाई राप्रपाले साथ दियो । त्यतिवेला शेरबहादुर देउवाको नेतृत्वमा बनेको सरकारलाई राप्रपाले साथ दिएको थियो । देउवा नेतृत्वमा गठन भएको सरकार ढाल्ने खेलमा अब एमाले सक्रिय भयो । लोकेन्द्रबहादुर चन्दलाई प्रधानमन्त्री बनाउने आश्वासनपछि चन्द समूहले एमालेलाई साथ दियो । 

०५४ सालमा एमाले र राप्रपाको गठबन्धनबाट लाकेन्द्रबहादुर चन्द प्रधानमन्त्री बने । पार्टीभित्रको मनमुटावका कारण पार्टी स्थापना हुँदाकै अवस्था पार्टीमा पुनः देखियो । एकता भएको ६ वर्षपछि पार्टी एकतापूर्वकै अवस्थामा आइपुग्यो । ०५६ सालमा पार्टी थापा र चन्दको दुई समूहमा विभाजित भयो, जसका कारण ०५६ सालमा भएको आम निर्वाचनमा पार्टीले सुःखद् नतिजा निकाल्न सकेन । 

दुवै राप्रपाले निर्वाचनमा अप्रत्यासित हार व्यहोरे । थापा पक्षले ११ सिट जित्यो भने चन्द पक्षले एक सिट पनि निकाल्न सकेन । 

०४८ सालको निर्वाचनबाट सिकेको पाठ फेरि सम्झिन बाध्य भए, राप्रपाका नेतृत्व तहका नेताहरू । र, ०५७ सालको फागुनमा फेरि एकपटक पार्टी एकता भयो । पार्टी विभाजनको तीन वर्षपछि र पहिलो एकीकरणको ९ वर्षपछि पार्टी पुनः एकीकृत भयो । 

राप्रपाको यो एकीकरण पनि लामो समय टिक्न सकेन । राजा ज्ञानेन्द्रले देउवा सरकार बर्खास्त गरेसँगै राप्रपामा पुनः विभाजनको बीजारोपण भयो । 

लोकेन्द्रबहादुर चन्द र सूर्यबहादुर थापाको राजाप्रति बिल्कुल फरक विचार देखियो । प्रधानमन्त्री बन्ने आश्वासन पाएका लोकेन्द्रबहादुर चन्दले राजालाई साथ दिए, तर थापा भने राजाप्रति असन्तुष्ट थिए । त्यतिवेला थापा ज्ञानेन्द्रको हस्तक्षेपको विरुद्धमा थिए । 

ज्ञानेन्द्रको पक्षमा बसेकै कारण राजाकाे प्रस्तावमा चन्द प्रधानमन्त्री बने । 

त्यतिवेलासम्म सूर्यबहादुर थापाको साथमा थिए, कमल थापा । सूर्यबहादुर थापालाई साथ दिइरहेका कमल थापा पनि राजाकै पक्ष लागे । उनले राजालाई साथ मात्रै दिएनन्, छुट्टै पार्टी स्थापनाको निर्णय पनि गरे । दुई समूहमा विभाजनमा रहेको राप्रपालाई कमल थापाले फुटाएर तीन धारमा विभाजन गरे । 

त्यतिवेलासम्म पशुपति शमशेर जबरा राप्रपाका अध्यक्ष थिए । पार्टीभित्र विभाजन रहे पनि वैधानिक रूपमा भने राप्रपा एक नै थियो । 

०६२ पुसमा कमल थापाले आफ्ना पक्षका नेता–कार्यकर्ताको भेला बोलाए । भेलाले उनलाई राप्रपाको अध्यक्ष चुने पनि निर्वाचन आयोगले त्यसलाई मान्यता नदिएपछि ‘राप्रपा नेपाल’ नाममा छुट्टै पार्टी खोलेर कमल थापा अध्यक्ष बने । 

राजालाई साथ दिनकै लागि पार्टी फुटाएका कमल थापाले राजाको शासनकालमा गृहमन्त्रीको जिम्मेवारीसमेत पाएका थिए ।

कमल थापाले नयाँ पार्टी गठन गरेलगत्तै सूर्यबहादुर थापा र पशुपति शमशेर जबराबीच पनि मनमुटाव भयो । थापा पनि नयाँ पार्टी खोल्ने निर्णयमा पुगे । थापाले ‘राष्ट्रिय जनशक्ति पार्टी’ नाम दिएर राप्रपालाई चौथोपटक फुटाए । 

पार्टी स्थापनाको एक दशकमा राप्रपा तीन धारमा विभाजित भयो । राप्रपा, राप्रपा नेपाल र राष्ट्रिय जनशक्ति पार्टी । ०६४ सालको संविधानसभाको चुनावमा पनि यी तीनै पार्टीले सहभागिता जनाएका थिए । 

०४८ र ०५६ सालमा एकताको पाठ पढिसकेका राप्रपा नेताहरूले ०७० सालमा पनि उही पाठ पढे । 

पहिलो संविधानसभाको चुनावमा ३ सिट हात पार्न सफल राष्ट्रिय जनशक्ति पार्टी र पशुपति शमशेर जबरा अध्यक्ष रहेको राप्रपाबीच ०७० सालमा एकता भयो । र, नयाँ पार्टीको नाम राप्रपा नै राखियो । राणा र थापा एकैठाउँ आइपुगे ।

०७२ वैशाखमा सूर्यबहादुर थापाको निधन भयो । 

०७० सालको दोस्रो संविधानसभाको चुनावमा राप्रपा र राप्रपा नेपाल दुवैले भाग लिएका थिए । कमल थापाको राप्रपा नेपाल राप्रपाभन्दा निकै अगाडि देखियो । यी दुई पार्टीबीच पनि ०७३ मंसिरमा एकता भयो । यो चौथोपटक भएको एकता थियो ।

यो एकता पनि लामो समय भने टिक्न सकेन । 

कमल थापासँग असन्तुष्टि राख्दै पशुपतिशमशेर राणाले राप्रपा (प्रजातान्त्रिक) गठन गरे । राप्रपाको इतिहासमा यो पाँचौपटक भएको विभाजन थियो ।

टुटफुट र जुट चलिरहने राप्रपामा यतिवेला फेरि एकताको तयारी भइरहेको नेताहरूले बताएका छन् । आइतबार पार्टी एकता गर्ने तयारी गरे पनि अन्तिम समयमा आएर प्रक्रिया एकाएक टरेको छ । पार्टी एकीकरण भएको एक वर्ष नपुग्दै फुटेर तीन टुक्रा भएको राप्रपाको यतिवेला जोडिने प्रयास सफल होला कि नहोला ? हेर्न बाँकी छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्