अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासमा आर्थिक वर्ष २०७७/०७८ मा कुल २ हजार ५९७ वटा प्रारम्भिक उजुरी दर्ता भएका छन् ।
ती उजुरीमध्ये १ हजार ४०१ वटा फछ्र्यौट भएको र यसमा ९ वटा स्टिङ्ग अपरेशन भएर १ करोड २९ लाख ९५ हजार ५९५ रुपैयाँ बरामद भएको आयोगले जनाएको छ ।
बर्दिबासमा १ साउन २०७३ देखि सेवा दिइरहेको आयोगको कार्यालयले १५ जना प्रतिवादी उपर मुद्दा दायर भएको र १ हजार १९६ वटा बाँकी उजुरी आगामी आर्थिक वर्षमा जिम्मेवारी सरेको उल्लेख गरेको छ ।
अख्तियारको कार्यालय बर्दिबासका कार्यालय प्रमुख कृष्णप्रसाद सापकोटा सोमबार प्रदेश २ का प्रमुख हरिशंकर मिश्रसमक्ष आयोगले गरेका क्रियाकलाप तथा वार्षिक गतिविधिको विवरण प्रस्तुत गर्दै यस्तो जानकारी दिए ।
उनले अख्तियार बर्दिबासमा चालू आर्थिक वर्षमा १ हजार ५२१ वटा उजुरी रहेको बताए । सापकोटाले गत वर्षको १ हजार १९६ र चालू आर्थिक वर्षको असोजसम्ममा ३२५ वटा उजुरी रहेको बताए । सोमध्ये १५६ वटा उजुरी फछ्र्यौट भइसकेका छन् ।
चालू आर्थिक वर्षमा सबैभन्दा बढी स्थानीय तहविरुद्धको उजुरी रहेको उनले बताए । स्थानीय तहविरुद्ध ९५२ वटा उजुरी परेका छन् । त्यस्तै, संघतर्फ ४९१ र प्रदेशविरुद्ध ७५ वटा उजुरी परेका छन् ।
प्रदेशतर्फ सबैभन्दा बढी उजुरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग सम्बन्धित रहेको छ भने प्रदेश नीति तथा योजना आयोग, प्रदेश लेखा नियन्त्रकको कार्यालय, प्रदेश प्रमुखको कार्यालय र मुख्यन्यायाधिवक्ताको कार्यालयविरुद्ध कुनै उजुरी नपरेको सापकोटाले जानकारी दिए ।
आर्थिक वर्ष २०७७/०७८ मा गरेका क्रियाकलाप तथा बार्षिक गतिविधि समेटी प्रकाशित भएको ३१ औँ वार्षिक प्रतिवेदन, नेपालको संविधानको धारा २९४ को उपधारा (३) बमोजिम प्रदेश प्रमुख मिश्रसमक्ष पेस गरिएको छ ।
अख्तियारको कार्यालय बर्दिबासको कार्यक्षेत्र धनुषा, महोत्तरी, सिन्धुली, सर्लाही, सिरहा, रामेछाप, संखुवासभा, खोटाङ र ओखलढुंगा गरी ९ वटा जिल्ला रहेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।