सडक निरीक्षण गरेर फर्किने क्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादव चढेको गाडीलाई स्थानीयले रोकेका छन् । भक्तपुरदेखि नगरकोट पुग्ने सडक निरीक्षण गरेर फर्कने क्रममा मन्त्री यादवलाई स्थानीयले रोकेका हुन् ।
मन्त्रीले गुनासो नसुनी ठेकेदारको मात्रै कुरा सुनेर फर्केको स्थानीयको आरोप छ । स्थानीयले ‘ठेकेदारले एक महिनामा काम सक्छु भन्यो पत्याएर फर्किनु भो हैन?’ भन्दै प्रश्न गरेका थिए ।
साथै, उनीहरूले सडक विस्तारका नाममा सात वर्षदेखि अलपत्र पार्दा धुवाँधुलोको सास्ती खेप्नु परेको, स्वास्थ्यमा प्रतिकूल असर पारेको, भएका काम पनि गुणस्तर कायम भएको, मन्त्रीहरू निरीक्षणमा आउँदा मात्रै ठेकेदारले काम गरेजस्तो गर्ने गरेको भन्दै गुनासो गरेका थिए ।
गुनासो सुनेपछि मन्त्री यादवले दुई महिनाभित्र निर्माण नसके ठेकदारलाई कारबाहीको दायरमा ल्याउने आश्वासन दिएकी थिइन् । २१ दिनमा फेरि निरीक्षणका लागि आउने प्रतिबद्धता जनाएर उनी त्यहाँबाट फर्किएकी थिइन् ।
कमलविनायकदेखि नगरकोट पुग्ने यो १६.५ किलोमिटरको सडक दुई वर्षमा सक्ने भन्दै २०७१ मा शैलुङ कन्स्ट्रक्सनले हात पारेको थियो । तर सात वर्ष बितिसक्दा पनि काम पूरा भएको छैन ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।