हंसपुरका प्रमुख प्रशासकीय अधिकृतको आरोप : मेयरले मलाई ज्यानमार्ने धम्की दिए

धनुषाको हंसपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशवकुमार अधिकारीले नगरप्रमुख रामज्ञान मण्डलले आफूमाथि दुर्व्यवहार गरेको आरोप लगाएका छन् । 

कर्मचारी खटनपटनमा जनप्रतिनिधिलाई वेवास्ता गरेपछि नगरप्रमुख मण्डलले आफूमाथि दुर्व्यवहार गरेको प्रमुख प्रशासकीय अधिकृत अधिकारीको आरोप छ । मेयर मण्डलले आफूलाई दुर्व्यवहार गर्दै ज्यानमार्ने धम्कीसमेत दिएको उनको आरोप छ ।

नगरपालिकाको विभिन्न शाखामा कर्मचारी भर्ना गर्दा आफूलाई नसोधेको भन्दै मेयर मण्डललगायत उनी निकटकाले आफूलाई गालीगलौज गर्नुका साथै कुटपिटसमेत गर्न खोजेको प्रमुख प्रशासकीय अधिकृत अधिकारीले बताए ।

आइतबार कार्यालय पुग्दा मेयरले आफ्नो कार्यकक्षमा बोलाएर गालीगलौज गर्दै धम्की दिएको उनले बताए । ‘म यहाँ साउन महिनामा हाजिरी भएर आएँ । तर, मलाई उनले सुरुमा हाजिरसमेत गर्न दिनु भएन । पछि अदालतको आदेश आउँदा मात्र हाजिर हुन दिए । त्यसैबेलादेखि कार्यालयको काम कारवाहीमा उनले धेरै बाधा अवरोधहरू गर्दै आएका छन्,’ अधिकारीले भने ।

प्रशासन शाखा, योजना र जिन्सी शाखामा नयाँ कर्मचारी भर्ना गरेको विषयलाई लिएर समस्या उत्पन्न भएको उनको दाबी छ । 

मेयर मण्डलनिकटका ललन यादव र सुजीत कापन्डीले आफूमाथि दुर्व्यवहार गरेको भन्दै अधिकारीले इलाका प्रहरी कार्यालय तारापट्टी र अस्थायी प्रहरी पोस्ट बेल्हिमा उजुरीसमेत दिएका छन् ।



यो विषयमा मेयर मण्डलले प्रमुख प्रशासकीय अधिकृत अधिकारीलाई आफूले कुनै प्रकारको धम्की नदिएको प्रतिक्रिया दिएका छन् ।



‘एउटा निर्वाचित जनप्रतिनिधिलाई वेवास्ता गर्दै प्रमुख प्रशासकीय अधिकृत अधिकारीले आफूखुसी निर्णयहरू गर्न थालेपछि मैले सामान्य हस्तक्षेप मात्र गरेको हुँ,’ उनले भने ।

मेयर मण्डल र प्रमुख प्रशासकिय अधिकृत अधिकारीबीचको आपसी विवादका कारण अहिले पालिकाको दैनिक कामकाजसमेत प्रभावित भएको छ । 

  • प्रकाशित मिति : कात्तिक २९, २०७८ साेमबार १९:४५:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया