म्याग्दी– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीताको उपचारका लागि सोमबार म्याग्दीको तातोपानी कुण्ड आएका छन् ।
पत्नी सीतालाई भारत, सिंगापुर, थाइल्यान्डका अस्पतालमा उपचारबाट समेत सन्चो नभएपछि विश्वमै प्रख्यात बेनी नगरपालिका–४ सिंगा तातोपानीमा अवस्थित कुण्डमा प्रचण्ड पुत्री गंगा दाहाल, गृहमन्त्री रामबहादुर थापा, उनकी धर्मपत्नी नैनकला तातोपानी कुण्ड पुगेका हुन् ।
स्वास्थ्य अवस्था अनुकूल नभएपछि सीतालाई छोरी गंगा र सहयोगीले दुई हातमा समातेर कुण्डमा पु¥याएका थिए । सुगर, प्रेसरलगायतका समस्याबाट पीडित सीतालाई रोगले झन् चाप्न थालेपछि पारिवारिक भ्रमणका रुपमा तातोपानी कुण्ड पुगेको प्रचण्डका स्वकीय सचिव जोगबहादुर महराले बताए । ‘तातोपानी कुण्डमै स्नान गर्न आउनुभएको हो, केही दिन स्नान गरेर फर्किनुहुन्छ,’ महराले भने ।
महराले गृहमन्त्री थापा एक कार्यक्रममा म्याग्दी आउने भएपछि प्रचण्ड पनि सँगै आएको जानकारी दिए । छोरा प्रकाशको असामयिक निधनपछि बिरामी भएकी सीताको उपचारका लागि विदेशका विभिन्न अस्पताल पुग्ने गरेका प्रचण्डले कुण्डमा आउने बिरामी र उपचार पद्धतिका बारेमा कुण्ड व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रमान शाक्यबाट जानकारी लिएका थिए ।
स्वदेश तथा विदेशका विभिन्न अस्पतालमा उपचार गरे पनि सीतालाई सन्चो नभएपछि दाहाल परिवार चिन्तित छ । सीता सुगर, प्रेसरलगायतका समस्याबाट पीडित छिन् ।
कुण्डमा स्नान गरेर निको भएको विश्वासले सीताकै चाहनामा दाहाल बेनी आएका हुन् । गृहमन्त्री थापा जिल्ला प्रशासन कार्यालयमा स्थापना भएको जिल्ला विपद् व्यवस्थापन कार्यसञ्चालन केन्द्रको उद्घाटनलगत्तै कुण्डमा स्नान गर्न गएका थिए । कुण्ड व्यवस्थापन समितिले स्वागत गरेपछि दाहाल र गृहमन्त्री थापा कुण्डमा प्रवेश गरेका थिए ।
भिआइपी मुभमेन्ट हुने भएपछि कुण्ड खाली बनाइएको थियो । दाहाल परिवारको भ्रमणलाई राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष मीनबहादुर श्रेष्ठसहितको टोली खटिएको छ । श्रेष्ठ कुण्ड भएकै वडाका बासिन्दासमेत हुन् ।
कुण्डमा नियमित उपचारका लागि आउनेहरूले पनि प्रचण्ड र बादललाई कुण्डमा स्वागत गरेका थिए । स्वदेश तथा विदेशका ठूला अस्पतालमा प्याथोलोजी र आयुर्वेदिक उपचार पद्धतिबाट समेत रोग निको नभएपछि कुण्डमा बिरामी आउन थालेपछि राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा समेत चर्चा कमाउन सफल भएको छ ।
ग्यास्ट्रिक, बाथरोग, ढाड दुख्ने, छाला, सुन्निएको, बज्ररिएको, मर्किएको, पेट दुख्ने, नसा तथा शरीरमा देखिएका विभिन्न किसिमका रोग ठीक हुने कुण्डका सहसचिव कुमार केसीले बताए । उनका अनुसार कुण्डमा ठूला राजनीतिक दलका नेता, पूर्वमन्त्री तथा विशिष्ट कर्मचारी आउने गरेका छन् ।
कुण्डमा बिरेनुन र गन्ध (सल्फर) तत्त्वसहितको ४५ देखि ५७ डिग्री सेल्सियस तातोपानी निस्कने मुहान रहेको छ । गन्धक आफंैमा एक प्राकृतिक एन्टिबायोटिक भएको हुनाले कुण्डमा स्नान गर्दा एक व्यक्तिमा भएको रोग अर्को व्यक्तिमा सर्ने सम्भावना कम हुन्छ । बिरेनुन र गन्धकको मिश्रण भएको प्राकृतिक तातोपानी कुण्डमा कृत्रिम घरेलु उपचारको तुलनामा सहज र सुबिधायुक्त तरिकाले घन्टौंसम्म स्नान गर्न सकिन्छ ।
यसैबीच, गृहमन्त्री र पूर्वप्रधानमन्त्री दाहालको सुरक्षालाई मध्यनजर गरी उनीहरू बस्ने होटल याकमा कडा सुरक्षा व्यवस्था गरिएको छ । दाहाल परिवारले करिब तीनदिन कुण्डमा स्नान गर्ने बताइएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।