युरोकप विजेता इटालीलाई पछि पार्दै स्वीट्जरल्यानले अर्काे वर्ष कतारमा हुने फिफा विश्वकपका लागि आफ्नो स्थान सुरक्षित गरेको छ ।
छनोट अन्तर्गत सोमबार भएको अन्तिम खेलमा स्वीट्जरल्यान्डले बुल्गेरियामाथि ४–० को शानदार जित निकाल्यो ।
यही समूहको अर्काे खेलमा इटाली नर्दन आयरल्यान्डसँग गोलरहित बराबरीमा रोकिएपछि स्वीट्जरल्यान्ड समूह ‘सी’ को विजेता बन्दै विश्वकपमा छनोट भएको हो ।
घरेलु मैदान स्विइसप्रो एरिनामा स्वीट्जरल्यान्डलाई जित दिलाउन नोआ ओकाफोर, रुवेन भार्गस, सेडरिक इटेन र रेमो फ्रिउलरले गोल गरे ।
खेलको ४८ औं मिनेटमा ओकाफोरले स्वीट्जरल्यान्डलाई अग्रता दिलाएका थिए । ५७औं मिनेटमा भार्गसले टोलीको अग्रता दोब्बर बनाए ।
७२औं मिनेटमा इटेन तथा थप गरिएको समयमा फ्रिउलरले गोल गरेपछि स्विट्जरल्यान्डले फराकिलो जित हात पारेको हो ।
यो जितसँगै स्वीट्जरल्यान्डले समूह ‘सी’ मा ८ खेलबाट १८ अंक जोड्दा पराजित बुल्गेरिया ८ अंकका साथ चौथो स्थानमा रह्यो ।
बराबरीसँगै १६ अंक जोडेर दोस्रो स्थानमा रहेको इटालीले विश्वकपमा स्थान बनाउन प्ले अफ खेल्नुपर्ने भएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।