वृद्धाश्रम जाने संख्या घटोस् भन्ने सोचले जन्मिएको एउटा पुरस्कार

बुवा सानैमा बिते । छोराछोरी हुर्काउन, पढाउन आमाले निक्कै संघर्ष गर्नु पर्‍यो । आमाको सम्पूर्ण जीवन नै अभावमा बित्यो । आमा हुँदासम्म आमाले भोगेको अभावभित्रको अन्तर्संघर्ष राम्रोसँग नियाल्नै सकेनन् गायक कन्हैया सिंह परियारले । उनी आफैंले पनि जिन्दगीका विभिन्न उतारचढाव देखे ।

संघर्षकै चरणमा कन्हैया अमेरिका पुगे । उताको संघर्षले उनको जीवनयापन सहज बनायो । आफ्नो जीवन सहज बन्दै गएपछि कयौं सपना र रहर अधुरै छोडेर बितेकी आमाको संघर्ष ताजा बनेर आउन थाल्यो उनको आँखामा । आमाबुवाको सेवा गर्न नपाएका कन्हैयाले यो अभाव पूर्तिका लागि देशका विभिन्न वृद्धाश्रममा पुगेका बृद्धबृद्धासँग भेटेर मेट्ने सोच बनाए । उनले बुवाआमाको नाममा ‘टीकागोपाल क्रियसन’ नामक संस्था खोले । उनी हरेक वर्ष नेपाल आउँछन् । देशका विभिन्न वृद्धाश्रममा पुग्छन् । सकेको सहयोग गर्छन् ।

यो वर्ष कन्हैयाले अमेरिकामा आफ्नो ५०औँ जन्मोत्सव मनाए । उनकी श्रीमती अन्जना गुरुङले आयोजना गरेको उक्त कार्यक्रममा केही रकम संकलन भयो । कन्हैयालाई अमेरिका बस्न मन लागेन । उक्त रकम बोकेर नेपाल आए । उनी त्यो पैसा वृद्धाश्रममा लगेर सहयोग गर्ने सोच बनाएका थिए । नेपाल आएपछि संगीतकार सन्तोष श्रेष्ठसँग भेट भयो । सन्तोषले भने, ‘वृद्धाश्रममा नै पुगिसकेका आमाबुबालाई भन्दा वृद्धाश्रममा जाने अवस्थामा रहेका मान्छेको त्यहाँसम्मको बाटो बन्द गर्ने तरिकाले सयोग गर्न सके कस्तो होला ?’

सन्तोषको यो प्रस्ताव कन्हैयालाई मन पर्‍यो । उनले पुनः सोचे ‘जसले आफ्नो सम्पूर्ण जीवन गीत संगीतमा खर्चियो, जीवनको उत्तराद्ध अभावमा बिताइरहेको छ, सामान्य रहर पूरा गर्न नसकेर खुम्चिएर बाँचिरहेका छन्, त्यस्ता स्रष्टालाई वार्षिक रूपमा सहयोग गर्न सके अझ राम्रो हुन्थयो ।’

त्यसपछि सुरु भयो स्रष्टाको खोजी । खोजीका क्रममा पहिलोपटक उनले गायिका तथा संकलक चन्द्रकला शाहलाई छनोट गरे । चन्द्रकलाले सम्पूर्ण जीवन नेपाली गीत/संगीतमा बिताएर पनि अभावको जिन्दगी बाँचिरहेकी छिन् । लगभग ३२ वर्ष रेडियो नेपालमा करारमा काम गरेकी उनको नमिठो बिदाइ भयो । अघिल्लो दिनसम्म काम गर्न गएकी उनलाई भोलिपल्ट रेडियो नेपाल पुग्दा तपाईंको जागिर गयो भनेर बिदा गरियो । त्यसपछि चन्द्रकलाको दैनिकी थप कष्टकर बन्न पुग्यो ।

७७ वर्षको उमेर पार गरेकी चन्द्रकलाको जीवनमा बाँकी एउटा रहर थियो । त्यो रहर हो आफूले लेखेका सिर्जनाको एउटा किताब निकाल्ने । कन्हैयासँगको भेटमा चन्द्रकलाले बाँकी रहर पनि सुनाइन् । कन्हैयाको सोच थियो, चन्द्रकलालाई घरमा भेटेर सहयोगका रूपमा रकम दिएर फर्किने । त्यहाँ पुगेपछि उनको मन फेरियो । उनले पुनः सोचे, ‘यसलाई पुरस्कारका रूपमा स्थापना गरेर एउटा समारोहमा दिन सकियो भने सम्पन्नले विपन्नलाई यसैगरि सहयोग गर्ने परम्परा बस्थ्यो कि !’



त्यसपछि उनले पुरस्कारको नामकारण गरे, ‘कन्हैया सिंह परियार राष्ट्रिय संगीत पुरस्कार ।’ मंगलबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी ५१ हजार राशिसहितको उक्त सम्मान चन्द्रकलालाई प्रदान गरे । उक्त पुरस्कार पाएपछि चन्द्रकला निक्कै भावुक देखिइन् । उनले पुरस्कारमा पाएको उक्त रकमले ‘गीत र गजल’को किताब निकाल्नेसमेत घोषणा गरिन । थुप्रै संस्थाहरूले विभिन्न समयमा सम्मान तथा पुरस्कार वितरण गरे पनि स्रष्टाले स्रष्टालाई गरेको यो सम्मान विशेष लागेको छ उनलाई ।

आक्रोशित शम्भुजित बाँस्कोटा



‘कन्हैया सिंह परियार राष्ट्रिय संगीत पुरस्कार’ वितरण कार्यक्रममा वरिष्ठ संगीतकार शम्भुजित बाँस्कोटा प्रमुख अतिथिका रूपमा उपस्थित भएका थिए । कार्यक्रममा उनी कतै नोस्टल्जिक भए, कतै भावुक सुनिए, कतै आक्रोशित भए । चन्द्रकलासँगै करिअर सुरु गरेका बाँस्कोटाले आफ्नो संघर्षसँगै चन्द्रकलाको जीवनको उतारचढाव सम्झिए । बाँस्कोटाले गायिका शाहले रेडियो नेपालमा तीन दशक सेवा गरे पनि अन्त्यमा खाली हात फर्किनुपरेको दुखेसो व्यक्त गर्दै रेडियो नेपालका जीवन अर्पण गर्ने संगीतकर्मीलाई त्यही रेडियोमात्र होइन राज्यले समेत नहेरेकोमा दुःख व्यक्त गरे ।

बाँस्कोटा सम्पूर्ण राज्य व्यवस्थासँग भन्दा धेरै नेपाल प्रज्ञाप्रतिष्ठानसँग आक्रोशित भए । उनले चन्द्रकला शाहजस्ता स्रष्टाका सिर्जना प्रतिष्ठानले निकालिदिनु पर्ने बताए । स्रष्टाकै हितका लागि खोलिएको प्रतिष्ठानले पनि स्रष्टाको बेवास्ता गरेको भन्दै बाँस्कोटाले प्रतिष्ठानलाई चन्द्रकला शाहजस्ता स्रष्टालाई खोजेर उनीहरूको जर्गेना गर्न आग्रह गरे । दाङमा जन्मिएकी चन्द्रकलाले त्यस क्षेत्रबाट लोकगीत संगीतमा आएका स्रष्टालाई स्थापित गर्न गरेको संघर्षको चर्चा गर्दै त्यस क्षेत्रबाट अहिले राज्यको माथिल्लो तहमा पुगेका कलाकारले भेगिए हिसाबमा पनि सहयोग गर्नुपर्ने तर्क राखे ।

चन्द्रकलाको योगदानलाई कम नसोचौं

पुरस्कार वितरण कार्यक्रममा पुगेका संविधानविद् डा. भीमाजुर्न आचार्यले चन्द्रकलाले नेपाली गीत-संगीतको क्षेत्रमा धेरै योगदान गरेको चर्चा गरे । उनले चन्द्रकलाको योगदानलाई हल्का रूपमा नलिनसमेत आग्रह गरेका छन् । थुप्रै राष्ट्रिय पुरस्कार तथा अवार्ड चन्द्रकलाको योगदानले सम्बोधन गर्न सक्ने बताउँदै उनको दुःख देखेर दिएको मात्रै भन्दा अन्याय हुने बताए । उनले आर्थिक रूपमा आफूलाई सम्पन्न बनाएका स्रष्टाले विपन्न स्रष्टालाई सहयोग गर्नु निक्कै राम्रो काम भएको भन्दै प्रशंसासमेत गरे ।

राज्यले गाडी चढ्नेलाई मात्रै चिन्छ

यो कार्यक्रमको संयोजन संगीतकार सन्तोष श्रेष्ठले गरेका थिए । दाङबाटै सांगीतिक क्षेत्रमा आएका श्रेष्ठले भेगिए हिसाबले पनि चन्द्रकलाको जीवनसँग नजिक रहेको बताए । सानैबाट निक्कै कष्टकर जिन्दगी बिताएकी चन्द्रकलाले नेपाली गीत-संगीतका लागि गरेको योगदानको राज्यले उचित कदर गर्न नसकेकोप्रति उनी आक्रोशित सुनिए । उनले राज्यले चिल्लो गाडी चढेर हिँड्नेलाई मात्रै चिन्ने बताए ।

उनले भने, ‘राज्यले साँच्चै सम्बोधन गर्नुपर्ने मान्छे हुन चन्द्रकला शाह । विद्यालयको मुखसमेत नदेखेकी चन्द्रकलाले नेपाली गीत-संगीतको क्षेत्रमा ठूलो गुन लगाएकी छिन् । देशमा स्थापना भएका संगीत नाट्य प्रतिष्ठान, नेपाल प्रज्ञाप्रतिष्ठानलगायतका संस्थाका नजरमा पनि कहिल्यै चन्द्रकलाजस्ता असल सर्जक पर्न नसक्नु निक्कै दुखद् कुरा हो ।’

  • प्रकाशित मिति : मंसिर १, २०७८ बुधबार १६:२६:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया