विद्यापति स्मृति पर्व सम्झनै छाडे सरोकारवालाले

विद्यापति स्मृति पर्वको अवसरमा जनकपुरधाममा यस वर्ष कुनै पनि संस्थाले औपचारिक रुपमा कुनै कार्यक्रमको आयोजना गरेको छैन ।

जनकपुरधामको विद्यापति चोकमा रहेको विद्यापति स्मारक संरक्षण समितिले ०५३ सालदेखि विद्यापति स्मृति पर्व अनवरत रुपमा आयोजना गर्दै आइरहेको थियो । यद्यपि यसपटक सो संस्थाले पनि यो स्मृति पर्वको अवसरमा कुनै कार्यक्रमको आयोजना गरेन । 

विद्यापति स्मारक संरक्षण समितिका अध्यक्ष चन्द्रमोहन चौधरीले पोहोर नै आफूहरुले यो पर्वको आयोजन संस्थागत रुपमा गर्नुपर्छ धारणा व्यक्त गरिसकेको र यसको जिम्मा जनकपुरधाम उपमहानगरपालिका, प्रदेश सरकार, बृहत्तर जनकपुर क्षेत्र विकास परिषदलगायतको संस्थाहरुले लिनुपर्ने बताए ।

यसका साथै मिथिला मैथिलीको नाउँमा खोलिएका संस्थाहरुले यो स्मृति पर्वलाई भव्यता पूर्वक मनाउनु पर्छ, चौधरीले भने ‘तर ती संस्थाहरु कमाई खाने भाँडो मात्रै रहेछ ।’ मैथिलीको आदिकवि विद्यापतिको स्मृति पर्वका दिन समेत जनकपुरधाम सुनसान देखिनु ती संस्थाहरुका लागि ठूलो दाग रहेको उनको भनाइ छ ।

मिथिला नाट्य कलापरिषदका अध्यक्ष परमेश झाले आफूहरु विद्यापति स्मृति पर्वको अवसरमा कुनै पनि वर्ष कार्यक्रम आयोजना नगर्ने गरेको प्रतिक्रिया दिए । उनले भने,‘विद्यापति स्मारक संरक्षण समितिले आयोजना गर्दै आएको कार्यक्रममै हाम्रो सहभागिता हुन्थ्यो, तर यस वर्ष कुनै कार्यक्रमको आयोजन हुँदैन भन्ने हामीलाई थाहा नै भएन ।’

जनकपुरधाममा त्रिभुवन विश्वविद्यालयको मैथिली केन्द्रीय विभाग समेत रहेको छ । नेपाल संस्कृत विश्वविद्यालयको क्याम्पसमा पनि मैथिली विभाग छ । विद्यापतिको स्मृति दिवस नमनाउनु दुःखद रहेको स्थानीय बुद्धिजीवीहरू बताउँछन् ।





  • प्रकाशित मिति : मंसिर १, २०७८ बुधबार १८:०:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया