एमाले कैलालीमा लफडा, रावल पक्षले छान्यो समानान्तर महाधिवेशन प्रतिनिधि

कैलालीमा भीम रावलनिकटका एमाले कार्यकर्ताले समानान्तर महाधिवेशन प्रतिनिधि छनोट गरेका छन् । झपट रावलको निर्वाचन क्षेत्र रहेको क्षेत्र नम्बर २ मा रावल निकटहरुले समानान्तर महाधिवेशन प्रतिनिधि छनोट गरेका हुन् ।
  
बुधबार बोलाइएको भेलाले सर्वसम्मत रुपमा प्रतिनिधि छनोट गरेको पार्टीका प्रदेश कमिटी सदस्य तथा महाधिवेशनका प्रत्यासी महादेव बजगाईंले जानकारी दिए । मंसिर १०–१२ गतेसम्म चितवनमा हुन गइरहेको दशौँ राष्ट्रिय महाधिवेशनमा कैलाली क्षेत्र नं २ बाट ६ पुरुष र ३ महिला गरी जम्मा ९ जना प्रतिनिधि छनोट गरिएको बजगाईंले बताए ।

कैलालीमा रतन थापाले कम्पनी चलाएझैँ पार्टी चलाएको भन्दै उनले आपत्ति जनाए । उनले भने, ‘पार्टीको पद्धतिअनुसार नचली एकलौटी ढंगले होटेलको कोठामा बसेर महाधिवेशन प्रतिनिधि छानिएका छन् । हामीलाई त्यो मान्य हुँदैन, पार्टीका सबै संगठित सदस्यको बैठक बसाएर हामीले महादिवेशन प्रतिनिधि छानेका छौँ ।’

लम्की–चुहा–९ बाट यज्ञराज ढुंगाना, ८ बाट मनोज खड्का, १ बाट सूर्यबहादुर थापा, मोहन्याल गाउँपालिका–७ बाट वीरेन्द्रबहादुर रावल, बर्दगोरिया गाउँपालिका–१ बाट भीम कुँवर र जानकी गाउँपालिका–९ बाट रुप रावत महाधिवेशन प्रतिनिधिमा चयन भएका छन् । 

यसैगरी, महिलातर्फ लम्की–चुहा नगरपालिका–१ बाट बसुन्धरा भण्डारी, ५ बाट ममता रावल र जानकी गाउँपालिका–८ बाट गंगा थापालाई महाधिवेशन प्रतिनिधि चयन गरिएको छ ।

महाधिवेशनका लागि प्रतिनिधि छनोटमा असन्तुष्टि जनाउँदै अर्को पक्षले भेला बोलाएपछि एमाले कैलालीका अध्यक्ष रतन थापाले कारबाहीको चेतवनी दिएका छन् । पार्टीविरोधी गतिविधिमा संलग्न भए कारबाही गर्ने चेतावनी दिएका हुन् ।

पार्टीको नाम प्रयोग गरी कुनै पार्टीविरोधी गतिविधि गरेमा कारबाही गर्ने उनले बताएका छन् । सोही निर्वाचन क्षेत्रबाट जिल्ला अध्यक्ष रतन थापा पक्षले यसअघि नै महाधिवेशन प्रतिनिधि चयन गरेर केन्द्रलाई पठाइसकेको छ ।





  • प्रकाशित मिति : मंसिर १, २०७८ बुधबार १९:४७:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया