धनुषाको रमदैयास्थित जानकी मेडिकल कलेजमा कर्मचारीले लगाएको ताला प्रहरीले तोडेको केही घण्टा नबित्दै पुनः तालाबन्दी गरिएको छ । कलेज व्यवस्थापनले आन्दोलनरत कर्मचारीसँग गरेको सहमति कार्यान्वयन नगरी श्रम शोषण गरेको भन्दै कलेजका कर्मचारीहरूले बुधबार बिहान तालाबन्दी गरेका थिए ।
त्यसको केहीबेरमै प्रहरीले सो ताला फोडेको थियो । तर, पुनः कर्मचारीहरुले त्यहाँ तालाबन्दी गरेका छन् ।
कर्मचारी हकहित संरक्षण संघर्ष समितिका संयोजक उमेश यादवले कलेजमा कार्यरत १२५ कर्मचारीमध्ये १०० जना कर्मचारी आन्दोलनमै रहेको बताए । कर्मचारीले विगत १५ वर्षदेखि सञ्चालनमा रहेको जानकी मेडिकल कलेज आजको मितिसम्म पनि जनअपेक्षित रूप लिन नसकेको दाबी छ ।
संस्थाका सञ्चालक ओमप्रसाद पाण्डेयले विभिन्न मितिमा गरिएको लिखित तथा मौखिक सम्झौता एकतर्फी रुपमा पटक–पटक उल्लंघन गरेको कर्मचारीको आरोप छ ।
यसअघि पनि उनीहरू कलेजमा कार्यरत कर्मचारी, चिकित्सक तथा फ्याकल्टीबीच तलबभत्ता, सञ्चयकोष, दसैँभत्तालगायत बाँकी बक्यौता भुक्तानी एवं संस्था सुदृढीकरणका लागि भन्दै कात्तिक १६ गतेदेखि मंसिर १३ गतेसम्म आमरण अनशनमा बसेका थिए ।
आमरण अनशनमा बसेका कर्मचारीद्वय जानकीशरण यादव र कुलदीप साहले ३ बुँदे सहमतिपश्चात् गत मंसिर १३ गते अनशन तोडेका थिए । तर, सो त्रिपक्षीय सहमति आजको मितिसम्म पनि संस्था सञ्चालक पक्षद्वारा कार्यान्वयन नगरिएकाले बाध्य भएर आफूहरू दोस्रोपटक रिले अनशनमा बसेको उनीहरूले बताए ।
आन्दोलनरत कर्मचारीले आफूहरूको ७ महिनाबराबरको तलब, ६ वटा दसैँ खर्च, ७ वर्षको सञ्चयकोष, अस्पतालको गुणस्तरीय सेवा सुविधा सुधार, कर्मचारीउपर गरिएको कारबाही फिर्ता र विगतमा भएका सहमतिको पालना गराउन सम्बन्धित निकायसँग माग गरेका छन् ।
कलेज प्रशासनले विगतमा गरेका सम्झौता कार्यान्वयन नगरेको भन्दै कर्मचारीले आकस्मिकबाहेकका सबै सेवा गत असोज १२ गतेदेखि नै ठप्प गरेका थिए ।
कर्मचारीहरुले १५ दिनभित्र आफूहरुको माग पूरा नगरिए कलेजको शैक्षिक लगायतका सम्र्पूण क्रियाकलाप ठप्प पार्ने चेतावनी दिएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।