गत सिजनमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले उपविजेतामा चित्त बुझाउनु पर्यो ।
लिगको अन्तिम खेलमा मछिन्द्र क्लबसँग बराबरी गरे पनि आर्मी लिग विजेता बन्न सक्थ्यो । तर १–० ले पराजित हुँदै आर्मीले खेल मात्र नभएर लिग उपाधि पनि मछिन्द्रलाई सुम्पियो ।
यसपटक पनि आर्मी लिगको प्रमुख दाबेदार हो । उसले यो वर्ष पनि आफ्नो अधुरो सपना पूरा गर्न हरसम्भव प्रयास गर्नेछ ।
सन् १९८८ मा स्थापना भएको त्रिभुवन आर्मी फुटबल क्लब आधिकारिक रूपमा सन् २००४ देखि एन्फामा आवद्ध भएको हो ।
आर्मीले २००४ देखि वाइल्ड कार्ड इन्ट्रीमार्फत शीर्ष डिभिजन खेल्न थाल्यो ।
नेपाली सेनाको त्रिभुवन आर्मी क्लब एएफसीको लाइसेन्स प्राप्त गर्ने पहिलो नेपाली व्यावसायिक फुटबल क्लब हो ।
गत सिजन एएफसीको क्लब लाइसेन्सिङ प्रक्रिया पूरा गर्ने पहिलो नेपाली क्लब बनेको आर्मीले यो सिजन पनि त्यसको नवीकरण गरिसकेको छ ।
आर्मीले मङ्सिर ६ गते अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँगको खेलबाट प्रतियोगिताको सुरुवात गर्नेछ ।
आर्मीको ‘ए’ डिभिजन यात्रा
सन् २००४ देखि लिग खेल्न थालेको भए पनि आर्मीले हालसम्म उपाधि हात पार्न भने सकेको छैन ।
सन् २००४ को डेब्यु सिरिजमा चौथो स्थान हाँसिल गरेको आर्मी २००५–०६ मा तेस्रो स्थानमा रह्यो ।
२००६–०७ मा उपविजेता बनेको आर्मीले २०१० मा चौथो स्थान हाँसिल गर्यो ।
सन् २०११ ‘ए’ डिभिजन लिगमा आठौँ स्थान रहेको आर्मी २०११–१२ को राष्ट्रिय लिगमा भने पाँचौ स्थानमा थियो ।
सन् २०१२–१३ को शीर्ष डिभिजनमा तेस्रो स्थानमा रहेको आर्मीले २०१३–१४ मा १० औँ स्थानमा रहँदै लिगको अन्त्य गरेको थियो ।
सन् २०१४–१५ को राष्ट्रिय लिगमा उपविजेता बनेको आर्मी सन् २०१८–१९ को शीर्ष लिगमा चौथो स्थानमा थियो ।
आर्मीले सन् २०१९–२०को पछिल्लो सिजनमा उपविजेतामा चित्त बुझायो ।
एन्फाको सहयोग र अन्तरिक स्रोतबाट लिगको तयारी
आर्मीले एन्फाको सहयोग, विभागले विनियोजन गरेको केही बजेट तथा स्पोन्सरसिपबाट आएको रकमले लिगको तयारी गरिरहेको छ ।
एन्फाले लिगमा सहभागी प्रत्येक टोलीलाई तयारी स्वरूप २० लाख उपलब्ध गराएको छ ।
मुख्य प्रायोजकसँगको सम्झौता अन्तिम चरणमा पुगेको छ । स्पोनरसिप रकम र विभागको बजेट भने गोप्य राखिएको छ ।
लिग जित्दै पुरानो घाउमा मल्हम लगाउने सोचमा आर्मी
गएको सिजन नजिक पुगेर पनि लिग उपाधिको स्वाद चाख्न नपाएको आर्मी यो वर्ष भने त्यो सपनालाई पूरा गर्ने लक्ष्यमा छ ।
त्यसका लागि राष्ट्रिय खेलाडीले भरिएको आर्मीले लगनखेलस्थित सेनाको शारीरिक तालिम तथा खेलकुद केन्द्रको मैदानमा अभ्यास गरिरहेको छ ।
आर्मी लिग उपाधि जित्दै पुरानो घाउमा मल्हम लगाउने सोचमा छ ।
आर्मीका स्टार खेलाडी
आर्मी स्टार खेलाडीले भरिएको टोली हो । यहाँ नेपाली फुटबलमा नाम चलेका थुप्रै खेलाडी छन् ।
चोटका कारण मुख्य खेलाडी नवयुग श्रेष्ठ र विकास खवासले यो वर्ष लिग गुमाउने भए पनि आर्मी अरू स्तरीय खेलाडीको साथ रहनेछ ।
यहाँ केही खेलाडीको मात्र चर्चा गरिएको छ ।
भारत खवास
आर्मीले नेपाली राष्ट्रिय टोलीको समेत कप्तानी गरिसकेका भरत खवासको नेतृत्वमा खेल्नेछ ।
भरत टोलीका मुख्य फरवार्ड हुन् । सन् २००८ मा पाकिस्तानविरूद्धको मैत्रीपूर्ण खेलमार्फत अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेका भरतले नेपालका लागि ५६ खेलमा १० गोल गरेका छन् ।
आर्मीले भरतको अनुभवको भरपूर सदुपयोग गर्दै लिगमा उत्कृष्ट प्रदर्शन गर्ने विश्वास लिएको छ ।
विकेश कुथु
अनुभवी गोलरक्षक विकेश कुथु विपक्षका लागि बाधक बन्न सक्ने खेलाडी हुन् ।
नेपाली राष्ट्रिय टिममा दोस्रो रोजाइका गोलरक्षकका रूपमा रहेका कुथु सन् २०१२ देखि नेपाली टोलीको हिस्सा बन्दै आएका छन् ।
कुथुको कप्तानीमा काठमाडौं रेजर्सले नेपाल सुपर लिगको उपाधि हात पारेको थियो ।
गौतम श्रेष्ठ
नेपाली फुटबलमा उदाउँदै गरेका युवा डिफेन्डर श्रेष्ठ यही वर्ष जावलाखेल युवा क्लबबाट आर्मीमा अनुबन्धित भएका हुन् ।
यही वर्षको जुन ३ मा चाइनिज ताइपेइविरुद्धको खेलमार्फत अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेका श्रेष्ठले नेपालका लागि १० खेल खेलेका छन् ।
जगजित श्रेष्ठ
नेपाली राष्ट्रिय टोलीका पूर्वमडिफिल्डर जगजित नेपाल फुटबलमा नाम कमाएका खेलाडी हुन् ।
अस्ट्रेलियामा बस्दै व्यावसायिक फुटबल खेल्दै आए जगजित यसै वर्ष आर्मीमा आवद्ध भएका छन् ।
हाल अस्ट्रेलियाको एड्लेट क्रोएसिया राइडर्सबाट खेल्दै आएका जगजितले हिमालयन शेर्पा, फ्रेन्ड्स, मनाङ मर्स्याङ्दी थ्रीस्टार क्लबबाट नेपाली शीर्ष डिभिजनको अनुभव लिइसकेका छन् ।
जगजितले नेपालका लागि २६ खेल खेल्दा १ गोल गरेका छन् ।
यीबाहेक आर्मीलाई सुमन अर्याल, सन्तोष तामाङ, सेसेहाङ आङ्दम्बे, टङ्कबहादुर बस्नेत, जर्ज प्रिन्स कार्कीलगायतका खेलाडीको साथ रहनेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।