सर्वोच्चमा प्रहरी दमनः प्रधानमन्त्री–गृहमन्त्रीले चाहेका थिएनन्, आइजिपी हुने खेलले निम्त्यायो

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै धर्ना दिएका नेपाल बार एशोसिएसनका सदस्य तथा कानुन व्यवसायीमाथि आज प्रहरीले बल प्रयोग गर्यो । प्रहरीको दमनमा केही अधिवक्ताहरु घाइते भएका छन् । घाइतेहरुको माइतीघरमा रहेको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार भइरहेको छ ।

सर्वोच्च अदालत परिसरमा प्रहरीले बल प्रयोग गरेको यो पहिलो पटक भने होइन । तर, केही दिनअघि प्रहरीले बल प्रयोग गरेपछि गृहमन्त्री बालकृष्ण खाँणले धर्नामा बसेका तथा आन्दोलन गरिरहेका कानुन व्यवसायीहरुमाथि बल प्रयोग नगर्न प्रहरीलाई निर्देशन दिएका थिए । प्रधानमन्त्री शेरबहादुर देउवाले पनि गृहमन्त्री खाँणलाई यही निर्देशन दिएको चर्चा चलेको थियो । गृहमन्त्री खाँणको निर्देशनपछि सर्वोच्च परिसरमा त्यस दिन रहेका सशस्त्र प्रहरीहरुलाई हटाइएको थियो । 

तर, बिहीबार फेरि सर्वोच्च परिसरमा रहेका कानुन व्यवसायीहरुमाथि प्रहरीले बल प्रयोग गरेको छ ।

गृहमन्त्री तथा प्रधानमन्त्रीले नचाहँदा नचाहँदै पनि आखिर किन सर्वोच्च परिसरमा रहेका कानुन व्यवसायीमाथि प्रहरीले बल प्रयोग गर्यो त ? हामीले यो विषयमा सोधखोज गर्ने प्रयास गर्यौँ ।

स्रोतका अनुसार गृह मन्त्रालयले आज पनि बल प्रयोग गर्न कुनै निर्देशन दिएको थिएन । तर, महानगरीय प्रहरी प्रमुख अतिरिक्त महानिरीक्षक (एआइजी) हरिबहादुर पालले आज बल प्रयोग गर्न ठाडो निर्देशन दिएका थिए । पालकै एकल र ठाडो निर्देशनमा आज सर्वोच्च परिसरमा घम्साघम्सी भएको स्रोतको दाबी छ ।

‘माथिको आदेश बारको धर्नामा बल प्रयोग नगर्नू भन्ने थियो,’ स्रोतको दाबी छ, ‘तर, आज फिल्डमा त्यस्तो देखिएन । महानगरीय प्रहरी प्रमुखकै ठाडो निर्देशनमा यस्तो भएको हो ।’
यसमा आइजिपी बन्ने खेलको मुख्य भूमिका रहेको पनि स्रोतको दाबी छ । स्रोतका अनुसार प्रधानमन्त्री देउवासँग असन्तुष्टि बढेकाले महानगरीय प्रहरी प्रमुख पालले यस्तो निर्णय लिएका हुन् । ‘पालको प्रधानमन्त्री देउवासँग असन्तुष्टि बढ्दै गएको छ,’ स्रोत भन्छ, ‘भावी प्रहरी महानिरीक्षक (आइजिपी)को खेलले यस्तो अवस्था सिर्जित भएको हो ।’



पाल नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग निकट छन् । दाहालकै आडमा उनी आइजिपी बन्ने दौडमा अघि बढेका पनि थिए । तर, देउवाले नचाहँदा उनको यो दौड बीचमा नै रोकिएको छ ।

यसका लागि थोरै आइजिपीको विषयमा पनि चर्चा गरौँ । 



वर्तमान आइजिपी शैलेश थापा क्षेत्रीको कार्यकाल २०७९ साल वैशाख १९ गते सकिँदै छ । त्यसपछि आइजिपी हुने लाइनमा अहिलेका पाँच जना अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) निरजबहादुर शाही, विश्वराज पोखरेल, हरिबहादुर पाल, प्रद्युम्नकुमार कार्की र सहकुल थापा छन् । यी पाँच जना मध्ये कार्की, पाल र शाहीको कायएकाल पनि २०७९ वैशाख १९ गते नै सकिँदै छ । त्यही दिन अवकाश पाउने भएकाले अब आइजिपीको दौडमा दुई जना मात्र बाँकी हुनेछन्– पोखरेल र थापा ।

सत्ता साझेदर दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चाहिँ नेपाल प्रहरीमा रहेका १९ डिआइजीमध्ये ७ जनाको बढुवा गरेर एआइजी बनाउन चाहन्थे । यीमध्ये १२ जनाले पनि २०७९ वैशाख १९ गते अवकास पाउँदै छन् । त्यसभन्दा अगाडि बढुवा गरेर प्रहरीको आइजिपीमा जसरी पनि पाललाई लैजान खोजेको प्रचण्डको ध्येय बुझेर प्रधानमन्त्री देउवाले यसलाई अस्वीकार गरेको स्रोतको दाबी छ । 

प्रचण्डको प्रस्ताव अस्वीकार गरेको र आफ्नो बढुवा हुनसक्ने सम्भावना सकाएको भन्दै पालले देउवाको निर्देशनलाई समेत बेवास्ता गरेर बिहीबार सर्वोच्चमा धर्नामा बसेका कानुन व्यवसायीमाथि प्रहरीले बल प्रयोग गरेको स्रोतको दाबी छ ।


  • प्रकाशित मिति : मंसिर २, २०७८ बिहीबार १४:५६:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया