गोला प्रथा लागू नभए पनि शुक्रबारबाट सबै न्यायाधीश इजलासमा फर्कने

फुलकोर्ट बैठक बसेर गोलाप्रथाद्वारा मुद्दाको पेसी तोक्नेसम्बन्धी नियमावली र निर्देशिका संशोधन गरेका न्यायाधीशहरू शुक्रबारबाटै इजलास फर्कने भएका छन् । 

यसअघि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले तोकेको पेसीका मुद्दा सुनुवाइ नगर्ने अडानमा रहेका न्यायाधीशहरू नियमावली र निर्देशिका संशोधन राजपत्रमा प्रकाशित नभए पनि शुक्रबारबाट इजलास फर्कन तयार भएका हुन् । 

गोलाप्रथा सुरु भएपछि सबै मुद्दामा सुनुवाइ गर्ने निर्णय गरेका न्यायाधीशहरूले शुक्रबारबाटै बन्दीप्रत्यक्षीकरण, मुद्दा फिर्ता र मिलापत्र सम्बन्धी रिट र मुद्दाको भने सुनुवाइ गर्ने भएका छन् । 

‘हामी अब बन्दी, मिलापत्र र मुद्दा फिर्ताका विवादमा भने इजलास बसेर सुनुवाइ गर्छौँ । अन्य मुद्दामा भने राजपत्रमा सूचना आएर फुलकोर्टले गोला लागु गरेको दिनबाट मात्र मुद्दा हेर्छौँ,’ एक न्यायाधीशले भने । 

यी विवादमा कानुन व्यवसायीको उपस्थिति नभए पनि आदेश गर्न मिल्ने भएकाले न्यायाधीशहरू तीन प्रकारका विवाद हेर्न सहमत भएका हुन् । 

उनका अनुसार यी मुद्दामा प्रधानन्यायाधीशसँग बेञ्च सेयरिङ हुने छैन भने प्रधानन्यायाधीशले राजपत्रमा सूचना प्रकाशनको प्रक्रियाअघि नबढाए पुनः यी विवादमा सुनुवाइ हुने छैन । 



इजलास फर्किएर मुद्दा सुनुवाइ थाल्ने बताए पनि नेपाल बार बहसमा नआउने भएकाले उनीहरूले प्रधानन्यायाधीशसँग बेन्च सेयरिङ गर्ने निर्णय गरेका हुन् । 

‘राजपत्रको सूचनाअनुसार फुलकोर्टले गोलाबाट मुद्दा हेर्ने मिति तोकेपछि सबैखाले मुद्दा हेर्छौँ, तर प्रधानन्यायाधीश र बारबीच सहमति नभएसम्म जबरासँग इजलास सेयरिङ हुन्न,’ ती न्यायाधीशले भने । 



उनका अनुसार गोला लागु भएपछि कानुन व्यवायी बहसमा नआएपनि इजलास भने जाने विषयमा न्यायाधीशहरू एकमत छन् । तर, कानुन व्यवसायीबिना मुद्दा सुनुवाइअघि नबढ्ने भएकाले प्रधानन्यायाधीशले निकास नदिएसम्म सर्वोच्चमा नियमति सुनुवाइ भने प्रभावित हुनेछन् । 

  • प्रकाशित मिति : मंसिर २, २०७८ बिहीबार १७:४९:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया