logo-img

जो घरमा बिएससी पढ्दैछु भनेर तबला बजाउन गए

१० कक्षा पढ्दासम्म शम्भु बानियाँले तबला देखेकै थिएनन् । एसएलसीमा राम्रो नम्बर ल्याएपछि शम्भुलाई घरमा बाबुले भने– काठमाडौं जानू र इन्जिनियरिङ पढ्नू । 

शम्भु काठमाडौं आए । पुल्चोक इन्जिनियरिङ कलेजमा ‘इन्ट्रान्स’ पनि दिए । उनको नाम निस्कियो । अब ‘आई’ पढ्न उनी पोखरा जानु पर्ने भयो । 

आई पढ्ने योजना यत्तिकै तुहियो । शम्भुलाई घरबाट नै पोखरा नपठाउने भए । लैनचौरमा दाइ र दिदीसँग बस्न आएका शम्भुलाई पोखरामा एक्लै हुनु पर्ने डर थियो । 

त्यसपछि उनले आईको सट्टा आइएससी पढ्ने भए । त्यसका लागि त्रिचन्द्र क्याम्पसमा भर्ना हुने भए ।

लमजुङबाट काठमाडौंसम्म ‘साइन्स’ पढ्ने योजना बनाएर काठमाडौंको यात्रा गरेका शम्भुको जीवन लैनचौरबाट त्रिचन्द्र क्याम्पससम्मको यात्राले चाहिँ मोडिदियो, उनी हिँड्ने बाटो अलग गरिदियो । 

एक दिन त्रिचन्द्र जाँदै थिए, शम्भु । नाचघर अगाडि पुगे उनी । त्यसको भित्तामा एउटा पोस्टर टाँसिएको थियो– संगीत प्रशिक्षण, विभिन्न वाद्यवादन सिकाइन्छ ।



दिउँसो आइएससी पढ्दै थिए, शम्भु । उनको मनले भन्यो– कलेजभन्दा एकघन्टा अगाडि संगीत सिकेर कलेज जाँदा हुन्छ होला नि त ।

त्यही पोस्टरमा भएको सूचना पछ्याउँदै शम्भु संगीत प्रशिक्षण केन्द्रमा पुगे । 



संगीतप्रतिको उनको यो मोह चाहिँ पहिले देखिकै हो । उनले स्कुलमै हुँदा गितार बजाउन सिकिसकेका थिए । 

‘तीन कक्षादेखि होस्टल बसेर पढेँ म,’ उनी सम्झिन्छन्, ‘स्कुल सकिएपछि होस्टलको समयमा मादल, गितार बजाउने चलन थियो । त्यही अलिअलि सिक्न पाएँ ।’ उनी सात कक्षामा पुग्दा त स्कुलले संगीत शिक्षक नै ल्यायो । त्यसपछि मनमा पसेको सानो झङ्कारले तरङ्गित हुन पायो, शम्भुको । 

‘जुजु गुरुङ आउनु भएको थियो,’ उनले आफूलाई संगीतको ‘लत’ लगाइदिने शिक्षकलाई सम्झिए, ‘उहाँले गितार सिकाउनु भयो, गुनगुनाउन सिकाउनु भयो ।’

त्यही ‘अलिअलि’ संगीतको ज्ञान लिएर काठमाडौं पसेका थिए, शम्भु । त्यसो त संगीतमा शम्भुको परिवारको पनि ‘थोरैथोरै’ साथ थियो । उनले एसएलसीमा राम्रो नम्बर ल्याएपछि पहिले वाचा गरेअनुरुप बाबुले उनलाई गितार ‘गिफ्ट’ नै पनि दिएका थिए ।

त्यति बेला उनले सोचेका पनि थिएनन, अहिले उनी तबला बजाइरहेका हुनेछन् । शम्भुको जीवनमा नसोचेको भयो । अहिले त उनी नेपालका राम्रा तबलावादकमा पर्छन् । कृपा अनप्लग्ड, नेपाल आइडललगायतका कार्यक्रममा शम्भुले नै तबलाको सुर मिसाइरहेका छन् । 

तर, राष्ट्रिय नाचघरको भित्तामा देखिएको त्यो विज्ञापनपछि पनि शम्भु सोझै तबलामा लागेका होइनन् । राष्ट्रिय नाचघरको त्यो प्रशिक्षणमा जाँदा पनि शम्भुलाई तबलाबारे थाहा नै थिएन, उनले त त्यहाँ ‘भ्वाइलिन’ सिक्न थाले । 

‘हिन्दी फिल्महरुमा हिरोले भ्वाइलिन बजाएको देखेको थिएँ,’ उनले भने, ‘त्यसले आकर्षित त गरेको थियो । सँगसँगै मलाई भ्वाइलिनको धून पनि निकै मन पथ्र्यो ।’

यही कारणले हुनुपर्छ, शम्भुले थप एक वर्ष भ्वाइलिन सिक्ने सोचे । साथीहरुले पनि सल्लाह दिए । 

‘भ्वाइलिनमा रस पस्न थाल्यो,’ शम्भु थोरै मुस्कुराए, ‘पढाइ सबै बिग्रियो । आइएससी पहिलो वर्षमै ब्याक लाग्यो ।’

तर, यो कुरा न उनले लमजुङमा रहेका बाबुआमालाई भने न लैनचौरमा एउटै कोठामा बस्ने दाइदिदीलाई । 

‘पछि अलिक राम्रोसँग पढेँ, पास पनि भएँ,’ उनले भने, ‘घरमा थाहा नदिँदा नि खासै फरक नै परेन ।’ उनको पढाइ बिग्रिँदै गएको छ भन्ने उनको परिवारमा कसैलाई पनि थाहा भएन । शम्भुले चाहिँ यो महसुस गरेका थिए ।

महसुस गरेकै भए पनि शम्भुले पढाइलाई भन्दा बढी प्राथमिकता संगीतलाई दिए । फलस्वरुपः दुई वर्ष भ्वाइलिन सिकिसकेपछि उनले ललितकला क्याम्पसमा इन्टरमिडियटमा भर्ना हुने र संगीत नै पढ्ने निर्णय गरे । 

‘खासमा त्रिचन्द्रमा पढाइभन्दा बढी राजनीति हुन्थ्यो,’ उनले भने, ‘मलाई त्यो राजनीतिले वाक्क बनाएको थियो, त्रिचन्द्रको माहोलले पनि मलाई ललितकलासम्म पुस गर्यो ।’ अनि उनका साथीहरु पनि उनलाई संगीतमा नै लागेर केही गर्न सकिने बताउँथे । 

त्रिचन्द्रको माहोलप्रति वितृष्णा, साथीहरुको सल्लाह र सुझावका कारण उनी अब संगीतमै लाग्न ‘डिटरमाइन्ड’ भइसकेका थिए । त्यसैले बिएससी पढ्न छाडेर ललितकलामा इन्टरमिडियटमा भर्ना भए । 

अनि जीवनमा पहिलो पटक तबला छोए, शम्भुले । 

‘खासमा तबला कम्पलसरी थियो,’ शम्भुले भने, ‘भोकल र सितारसँगसँगै मैले तबला पनि सिक्न थालेँ । घरमा चाहिँ यो कुरा थाहा दिइनँ ।’

घरबाट बाबुले शम्भुलाई बिएससी पढ्न आवश्यक खर्च पठाइरहेका थिए । यता, शम्भु ललितकलामा वाद्यवादनका विभिन्न साधनबाट आएका मीठा धुनसँग दिनहरु बिताइरहेका थिए ।

अब उनलाई कहिलेकांही होटलहरुमा हुने कार्यक्रमका लागि अफर आउन थाल्यो । ‘साथीहरु जाउँ भन्थे, हामी जान्थ्यौँ,’ उनले भने, ‘त्यसले मलाई पकेट मनी जुटाउन थाल्यो ।’

घरमा चाहिँ उनले भनिरहेका थिए– म बिएससी नै पढिरहेको छु । शम्भुले संगीत पनि सिकिरहेका छन् भन्ने घरमा थाहा त थियो तर बिएससीको पढाइ नै छाडेर उनी त्यता लागेका छन् भन्ने कल्पना पनि गरिएको थिएन ।  

घरमा त सोचिएको थियो– शम्भुले इन्फर्मल रुपमा संगीत सिकिरहेका हुन् । 

‘म संगीतकै औपचारिक अध्ययन गरिरहेको छु भन्न चाहन्थेँ,’ उनले भने, ‘तर, मौका पाइरहेको थिइनँ । इन्टरमिडियट दोस्रो वर्षमा तबलाको प्राक्टिकलमा मेरो राम्रो नम्बर आयो, घरमा लड्डु बाँड्दै मैले भनिदिएँ– म संगीत औपचारिक रुपमा पढ्दै छु है ।’ त्यति बेला शम्भुले तबलाको प्राक्टिकलमा १०० पूर्णाङ्कमा ९२ नम्बर ल्याएका थिए ।

‘यो नम्बर रेकर्ड हो,’ उनले भने, ‘यही कुराले मलाई हौसाएको थियो, घरमा भनेँ ।’

यसको अर्थ के होइन भने शम्भुले आफूले बिएससी पढ्न छाडेको कुरा पनि भने । उनले त बिएससी पनि पढिरहेको छु है भनेका थिए । त्यसैले पनि परिवारले उनलाई केही भनेन । 

संगीतमा इन्टर सकिएपछि शम्भु स्नातकमा पनि संगीत नै पढ्ने निर्णय गरे । 

तबलाको प्राक्टिकलमा राम्रो अंक ल्याएका शम्भुले स्नातकमा तबलाकै गुरु रविनलाल श्रेष्ठ भेटे । त्यसपछि शम्भुका औंलाहरु अन्य वाद्यवादनभन्दा तबलामा नै बढी भुलिरहेका छन् । 

‘उहाँबाट आजसम्म पनि तबला नै सिकिरहेको छु,’ उनले भने, ‘संगीतको साधन सिकेर कहिल्यै नसकिने साधना हो ।’ यो कुरा त उनले भारतीय तबला वादक जाकिर हुसेनबाट पनि सिकेका छन् । ‘गुरुकै रिकमेन्डेसनमा जाकिर हुसेनका भिडियो हेरेँ, उहाँबाट पनि निकै प्रभावित छु, उहाँको काम अत्यन्त राम्रो छ,’ शम्भुले भने, ‘तबलामा म यो ठाउँमा आउनुमा मेरो गुरुको ठूलो भूमिका छ, म सधैं उहाँप्रति नतमस्तक हुन्छु ।’

शम्भुले अहिलेसम्म एक हजारभन्दा बढी गीतका लागि तबला बजाइसकेका छन् । दर्जनभन्दा बढी लाइभ सोहरुमा काम गरिसकेका छन् । चर्चित गायकहरु दीप श्रेष्ठ, रामकृष्ण ढकाल, एड्रिन प्रधान, निमा रुम्बालगायत धेरैसँग शम्भुले काम गरिसकेका छन् ।

‘तर, पुग्नु त धेरै माथि छ,’ उनले भने, ‘संगीत त निरन्तर साधना हो । यसको सीमा कहिल्यै तोकिनु हुँदैन ।’

  • प्रकाशित मिति : मंसिर २, २०७८ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया