रहेनन् सुपरहिरोका जन्मदाता स्टेन लि

एजेन्सी– मार्बल कमिकका पूर्वअध्यक्ष तथा स्पाइडरम्यान, एक्स मेन, आइरन मेनजस्ता सुपरहिरोका जन्मदाता ‘कमिक्स स्टोरी’ लेखक स्टेन लिको निधन भएको छ । ९५ वर्षको उमेरमा सोमबार बिहान उनको निधन भएको हो ।

ज्याक किर्बी तथा स्टेभ डिट्कोजस्ता कलाकारसँग समन्वय गरेर उनले ‘सुपरहिरो’ जन्माएका थिए । कमिक स्टोरी लेखनको सुरुवातमा निकै त्रासमा आफ्नो संघर्ष थालेका उनले वास्तविक नाम लुकाएका थिए । पछि त्यही नामलाई आफ्नो कानुनी रूपमा स्विकारे । 

सन् १९२२ मा अमेरिकाको उत्तरी भेगमा जन्मिएका लिको बाल्यकाल निकै तनावपूर्ण बितेको थियो । सन् २००२ मा प्रकाशित आत्मकथा ‘एक्सेलसिअर’मा आफ्नो बुबाले गरेको संघर्षले सधैं असर गरेको लेखेका छन् । आत्मकथामा उनले लेखेका छन्, ‘मान्छेलाई सबैभन्दा चाहिने भनेको काम हो । अर्थात् व्यस्त हुनु हो ।’

१७ वर्षको उमेरमा लिले आफन्त मार्टिन गुडम्यानको कम्पनीमा काम गर्न थालेका थिए । त्यहाँ उनले सुपरहिरो र रहस्यमय कमिक्सका लागि ‘स्क्रिप्ट’ लेख्ने काम गरे । सन् १९४१ मा गुडम्यानका इडिटर हटेपछि लिले १९ वर्षको उमेरमा प्रमुख सम्पादकको रूपमा काम गर्न थालेका थिए । 

दोस्रो विश्वयुद्धको समयमा उनले सेनाका लागि लेख्ने काम गर्नुबाहेक अर्को दुई दशक कैद गरिएका ‘काउब्वाई’, ‘प्रहरी’ हरूको सफलताका लागि आवाज उठाएका थिए ।

सुपरहिरोका बारेमा लेखिएका ‘कमिक्स’ले राम्रो बजार लिएपछि गुडम्यानले लिलाई अन्य पुस्तक लेख्न भनेका थिए । सन् १९७४ मा लिले फरक गर्ने सोचमा विभिन्न सुपरहिरोलाई जन्म दिए । 



तीन दशकभन्दा बढी ‘कमिक्स’ लेखनमा बिताएका उनी सन् १९७२ बाट ‘मार्बल कमिक्स’ को प्रकाशकको रूपमा रहे । लि सन् १९८० बाट आफूले जन्माएका सुपरहिरोलाई टेलिभिजन तथा चलचित्रमा प्रस्तुुत गर्ने सोचमा लस एन्जल्स पुगेका थिए । त्यहाँ अर्को दुई दशक संघर्ष गरेपछि उनले सफलता चुम्न सुरु गरे ।

अहिलेको पुस्तामाझमा निकै लोकप्रिय ‘स्पाइडर म्यान’, ‘सुपरम्यान’, ‘क्याप्टेन अमेरिका’, ‘थोर’, ‘डक्टर स्ट्रेन्ज’ जस्ता थुप्रै सुपरहिरो उनले जन्माएका छन् । अपराध र थ्रिलरका कथा लेखेर युवापुस्तामाझ उनले आफ्नो स्थानलाई लामो समयसम्म कायम राख्न सफल रहे । उनको चलचित्र ‘स्पाइडर म्यान’ र ‘स्पाइडर म्यान–२’ ले विश्वव्यापी रूपमा १.६ अर्ब डलर कमाइ गरेका थिए । ‘कमिक्स’बाहेक उनले ‘ग्राफिक्स’ उपन्यास पनि लेखेका छन् ।



सोमबार बिहान उनको ‘हलिउड हिल्स’मा एम्बुलेन्स बोलाइएको जानकारी भए पनि उनको मृत्युको कारण अझै खुलेको छैन । उनकी छोरी जेसीले पनि पिताको मृत्युको कारण सञ्चारमाध्यमलाई नबताएको विभिन्न सञ्चारमाध्यमले जनाएका छन् । लिको मृत्यु लस एन्जल्सस्थित ‘सेडारस–सेनाइ मेडिकल सेन्टर’मा भएको बताइएको छ ।
 

  • प्रकाशित मिति : कात्तिक २८, २०७५ बुधबार १०:२८:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया