नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सुर्खेतका नौवटै स्थानीय तहमा नयाँ नेतृत्व चयन गरिएको छ ।
नयाँ विधानअनुसार गाउँ/नगरमा सभापति पदका साथै दुई उपसभापति, दुई सचिव र दुई सहसचिवसहित कार्यसमिति चयन गरिएको हो । क्रियाशील सदस्यता विवादले यसअघि निर्धारित मितिमा सम्पन्न हुन नसकेको अधिवेशन बुधबारबाट सुरु भएको थियो ।
बिहीबार सम्पन्न गाउँ/नगर अधिवेशनलगत्तै आज प्रदेशसभा क्षेत्रको अधिवेशन हुँदैछ । यहाँ प्रदेशसभाका चार निर्वाचन क्षेत्र छन् ।
कांग्रेसका सहायक जिल्ला निर्वाचन अधिकृत दुर्गाप्रसाद सापकोटाका अनुसार गुर्भाकोट नगरपालिकामा हस्तबहादुर पुन, लेकबेँसी नगरपालिकामा उमेश पौडेल, चिङ्गाड गाउँपालिकामा डोरप्रसाद शर्मा, भेरीगङ्गा नगरपालिकामा रामबहादुर सिंह, बराहताल गाउँपालिकामा भीमबहादुर भण्डारी र सिम्ता गाउँपालिकामा वीरेन्द्र रावत सभापति पदमा निर्वाचित भएका छन् ।
त्यस्तै, वीरेन्द्रनगरमा उपेन्द्र खड्का, पञ्चपुरी नगरपालिकामा कृपाराम थापा र चौकुने गाउँपालिकाको कार्यसमिति सभापति पदमा नरबहादुर बान्तोला निर्वाचित भएका छन् ।
गुर्भाकोट र लेकबेँसी नगरपालिकाबाहेक अन्य स्थानीय तहमा निर्वाचनमार्फत कार्यसमिति चयन गरिएको हो । प्रदेश राजधानी भएकाले वीरेन्द्रनगरको अधिवेशनलाई कांग्रेस नेताहरूले विशेष महत्व दिएका थिए ।
यहाँ कूल खसेका ३४९ मतमध्ये सभापतिमा विजयी उपेन्द्र खड्काले १९९ र उनका प्रतिस्पर्धी नारायणकुमार कोइरालाले १४७ मत ल्याएका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।