भारतले अनुमति नदिएपछि नेपालकै बाटो भएर छाङरु र तिंकर हिँड्यो जनगणना टोली

२५ कात्तिकमा दार्चुलाको व्यास गाउँपालिका–१ छाङरु र तिंकरमा जनगणना गर्न टोली खटाइयो । छाङरु र तिंकर जानका लागि नेपालको बाटो कठिन र लामो भएपछि भारतलाई अनुमति माग्न खोज्दा उसले जान दिएन । 

पटकपटक आग्रह गर्दा पनि भारतले नमानेपछि शुक्रबार नेपालकै बाटो भएर छाङरु र टिंकरको गणकसहित ३ जनाको टोली हिँडेको जनगणना कार्यालय दार्चुलाका प्रमुख पदमराज पाण्डेले जानकारी दिए । 

‘जिल्ला प्रशासनबाट अनुमती मागेर पटकपटक भारतको बाटो भएर जान खोज्दा जान दिएन’, उनले भने, ‘अन्य प्रयोजनका लागि बाटो प्रयोग गर्न दिने तर, जनगणकका लागि जान खोज्दा रोक लगाउने गर्‍यो ।’ 

भारतले दार्चुला सदरमुकाम खलंगाबाट नेपाली बाटो भएर छाङरु र तिंकर पुग्न सजिलो छैन । बाढीपहिरोका कारण बाटो बन्द छ । खलंगाबाट तिंकर र छाङरु पुग्ने बाटो बिग्रिएको र निकै जोखिमपूर्ण रहेको स्थानीयको बताएका छन् ।

 ‘जनगणना कार्यालयको दुईजना स्टाफ र एकजना गणक गएका छन्,’ पाण्डेले भने, ‘सहायक जनगणना अधिकारी खगेन्द्र कार्की र कार्यालय सहयोग लोकेन्द्र केसी गणक राजेन्द्र कार्की गएका हुन् ।’ 

टोली गए पनि तिंकर/छाङरुमा पुग्ने/नपुग्ने ग्यारेन्टी नरहेको उनले बताए । ‘टोली गएको छ, दुम्लिङ भन्दामाथि मान्छे हिँडेका छैनन् । बाटो छ या छैन त्यो थाह छैन,’ उनले भने, ‘दुम्लिङबाट छाङरु पुग्दासम्म बीचमा बाटो पसल केही पनि छैन ।’ 



जनगणनाका लागि नेपाली भूमिको बाटो प्रयोग गरेर हिँडेरै जोखिमपूर्ण पैदल यात्रामा टोली तिंकर र छाङरु जाने प्रमुख पाण्डेले बताए ।  ‘नेपालबाट बाटो नै छैन, तिंकर र छाङरु पुग्न नेपाली बाटोबाट हिँडेर ३ दिन लाग्छ । भारतको बाटोबाट एक दिनमै पुगिन्छ,’ उनले भने ।

नेपालबाट ब्यास गाउँपालिका–२ दुम्लिङसम्म मात्र बाटो रहेको पाण्डेले बताए ।  ‘दुम्लिङसम्मको बाटो ठीक छ । त्यहाँ गणकहरू पुगेका पनि छन् । तर, त्यहाँबाट माथि बाटो निकै बिग्रिएको छ भन्ने कुरा आएको छ,’ उनले भने, ‘दुम्लिङबाट छाङरु पुग्न १ देखि डेढ दिन लाग्छ । त्यसबीच गाउँ नै छैनन् ।’  अन्य समयमा त्यहाँ भारतको बाटो वा हेलिकोप्टरमार्फत जाने गरिन्थ्यो ।



जिल्ला प्रशासन कार्यालय दार्चुलाले २५ र ३० कात्तिकमा जनगणनाका लागि गणक भारतीय बाटो भएर जाने भएकाले सहजीकरण गरिदिन धार्चुला प्रशासनलाई पत्राचार गरेको थियो । तर, भारतीय प्रशासनले भने बाटो बिग्रिएको बहाना झिक्दै अनुमति दिन आनाकानी गर्दै अनुमति दिएन । 

भदौ ३ देखि १८ गते भएको सूचीकरणको बेला सुपरीवेक्षकलाई जान दिए अहिले आएर गणकलाई रोक लगाएको हो । भारतीय अतिक्रमित लिपुलेक, लिम्पियाधुरा समेटेर नक्सा जारी गरेपछि भारतीय पक्षले पछिल्लो समय सीमा क्षेत्रमा चेकजाँच तथा आवातजावतमा कडाइ गर्नुका साथै बाक्लो संख्यामा सुरक्षाकर्मी खटाएको छ । 

व्याँस गाउँपालिका–१ स्थित कुटी, नाभी र गुञ्जी भारतीय अतिक्रमणमा छन् । ती गाउँसँगै जोडिएका तिंकर र छाङरुमा नेपालको प्रशासनिक अधिकार कायमै छ । तर, ती बस्तीसम्म पुग्न नेपाली भूमिमा बाटो नहुँदा त्यहाँका स्थानीय बासिन्दामा सरकारको पहुँच पुग्न सकेको छैन ।  तिंकर र छाङरुमा १ सय १३ परिवारको बसोबास छ ।

भदौमा भएको सपुरिवेक्षणका बेला  छाङरुमा ८१ र टिंकरमा ३२ घरधुरी छन । टिंकर नेपाल–चीन सीमा क्षेत्र हो भने छाङरु नेपाल–भारत सीमावर्ती गाउँ हो ।

विभागले कात्तिक २५ देखि मंसिर ९ सम्म जनगणनाका लागि तथ्यांक संकलन सक्ने तालिका बनाएको छ ।

  • प्रकाशित मिति : मंसिर ३, २०७८ शुक्रबार १२:४०:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया