सर्वसम्मत हुने अवस्थामा ओली नै अध्यक्ष चयन हुनुहुन्छ : योगेश भट्टराई

नेकपा (एमाले)का सचिव एवं प्रचार विभाग प्रमुख योगेशकुमार भट्टराईले पार्टीको १०औँ महाधिवेशनले पार्टी अध्यक्षमा केपी शर्मा ओलीलाई नै सर्वसम्मति चयन गर्ने बताएका छन् ।

सचिव भट्टराईले पार्टीको नेतृत्व चयन सर्वसम्मतिले भए अध्यक्षमा ओली नै चयन हुने बताए । शुक्रबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै उनले विगतका आठौं र नवौं महाधिवेशनमा भएको खुला चुनावले पार्टीलाई विभाजनको तहसम्म पुर्‍याएकोले दशौं महाधिवेशनमा पार्टीको नेतृत्व सर्वसम्मत ढंगले चयन गर्नुपर्नेमा आफूहरू जोड रहेको तर्कसमेत गरे ।

सचिव भट्टराईले पार्टीमा समूह बन्दीको अवस्था आउन नदिन पनि सहमतिमै नेतृत्व चयन गर्न उपयुक्त हुने बताए । सहमतिमा नेतृत्व चयन नभए प्रतिनिधिहरू जो कोहीले पनि नेतृत्वको दाबी गर्न पाउने उनले स्पष्ट पारे ।

‘पार्टीको नेतृत्व सर्वसम्मत हुन्छ । त्यो सर्वसम्मत हुने अवस्थामा केपी ओली पार्टीको अध्यक्ष हुनुहुन्छ । मिसन के छ भने एमाले यस पटक सर्वसम्मत ढंगले नेतृत्व चयन गर्ने । किनकि हामीले आठौं महाधिवेशनमा खुला चुनाव गर्‍यौं । नवौंमा पनि खुला चुनाव गर्‍यौं । त्यो चुनावको अनकौं असल पक्षहरु पनि थिए, नेतृत्वको चुनाव हुँदा । तर त्यसको कमजोरी पक्ष के रह्यो भने त्यसले पार्टीमा तलदेखि माथिसम्म समानान्तर विभाजनको अवस्था ल्यायो । समूहबन्दीको अवस्था ल्यायो । पार्टी विभाजनसम्म हामी भोगी राखेका छौं । यो तितो अनुभवबाट शिक्षा लिँदै यस पटक हाम्रो जोड छ कि– पार्टीमा सहमतिका साथ नेतृत्व चयन गर्ने । एसो गर्दा ए, बी, सी जो पनि हुन सक्छ । त्यो हाम्रो कोसिस छ । र त्यो भएन भने हरेक मान्छेले आफूले चाहेको ठाउँमा प्रतिस्पर्धा गर्न पाउँछ । त्यसको निम्ति कुनै बन्देज छैन ।’

सचिव भट्टराईले पार्टीभित्र विभिन्न विचार समूहबाट आएका नेताहरु रहेको उल्लेख गर्दै महाधिवेशनले उनीहरु सबैको सम्मानजनक ढंगले व्यवस्थापन गर्ने पनि बताए ।





  • प्रकाशित मिति : मंसिर ३, २०७८ शुक्रबार १८:४७:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया