बझाङलाई विपदग्रस्त जिल्ला घोषणा गर्न माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापनपत्र

बाढीपहिरो क्षतिको विवरण बुझाउन र बझाङलाई विपदग्रस्त जिल्ला घोषणा गर्दै जिल्लाका जनप्रतिनिधिले मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् ।

गत ३१ असोजदेखि ३ कात्तिकसम्म परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोका कारण भाैतिक संरचना पुनःनिर्माण  र घरवारविहीनलाई रोजगारीको माग गर्दै जिल्ला समन्वय समितिका प्रमुख खडक खड्काको नेतृत्वमा १२ वटै स्थानीय तहका जनप्रतिनिधिले शुक्रबार मुख्यमन्त्री त्रिलोचन भट्टलाई ज्ञापनपत्र बुझाएका हुन् ।

‘बाढीपहिरोका कारण बझाङमा भएको ठूलो जनधनको क्षति भएकाले जिल्लालाई संकटग्रस्त जिल्ला घोषणा गर्न पहल गरिदिन आग्रह गर्न यहाँ आएका हौं,’ छबिसपाथिभेरा गाउँपालिका उपाध्यक्ष राधिका रतालाले भनिन्, ‘पीडित परिवारलाई राहत, क्षतिग्रस्त भौतिक संरचनाको निर्माण गर्नका लागि ध्यानार्कषण गराएका छौँ ।’ 

जनप्रतिनिधिको ज्ञापनपत्र बुझेपछि मुख्यमन्त्री भट्टले बाढीपहिरो पीडितको समस्या समाधान गर्न सरकार प्रयास गरिरहेको बताए ।

‘सुदूरपश्चिमका पहाडी जिल्लामध्ये सबैभन्दा धेरै भौतिक तथा मानविय क्षति बझाङमा भएको छ । म आफैं पनि बाढीपहिरो प्रभावित जिल्लाको अनुगमनमा गएको थिए । बझाङमा कैयौं परिवार भूमिहीन भएका छन्,’ उनले भने, ‘कतिपय परिवारहरू घरबारविहीन भएका छन् । त्यसैले सरकार यसप्रति प्रयासरत रहेको छ ।’



उनले क्षति भएका संरचनाको पुन:निर्माणका लागि कुनै कसर बाँकी नराख्ने र आफूहरूले गर्न नसक्ने कामका लागि संघीय सरकारलाई अनुरोध गर्ने बताए ।  

प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मा, नागरिक उड्यन तथा संस्कृती पर्यटन मन्त्री प्रेमबहादुर आले र गृहमन्त्री बालकृष्ण खाँणले बाढीपहिरोको अनुगमन गरेपनि हालसम्म सरकारले बझाङका बाढीपहिरो पीडितका लागि कुनै राहत प्याकेज नपठाएको  जिल्ला समन्वय समितिका प्रमुख खड्काले बताए ।



‘सुदूरपश्चिमका मुख्यमन्त्री भट्ट, सभामुख अर्जुनबहादुर थापा र अन्य प्रदेशका मन्त्रालयका मन्त्रीहरूले जिल्लामा अनुगमन गरेको भएपनि कुनै काम गर्न सकेको छैन्,’ खड्काले भने, ‘निरीक्षण गर्न गएका प्रदेश र संघका जनप्रतिनिधिले बिर्सिएपछि सम्झाउन धनगढी आएका हौं । अनुगमन गरेर मात्र हुँदैन, जिल्लालाई विपदग्रस्त जिल्ला घोषणा गर्नुपर्ने हाम्रो माग हो ।’  

बाढीपहिरोले गरेको क्षति अनुगमन गर्न आएका प्रधानमन्त्री देउवा प्रभावित क्षेत्रमै नपुगेर फर्किएका थिए । पहिरोमा २३ जनाको मृत्यु भएको थलारा गाँउपालिका–४ डिख्लाका पहिरो पीडितले  प्रधानमन्त्री निरीक्षणमा आउने भएपछि हेलिकोप्टर अवतरणका लागि हेलिप्याड बनाएका थिए । तर, उनी आकासबाटै फर्किएको स्थानीयले गुनासो गरेका छन् । 

‘प्रधानमन्त्रीसँग आफ्ना दुःख राखौँला भन्ने सोचेका थियौं । तर, उहाँ चैनपुर गएर सेनाको ब्यारेकमा अवतरण गर्नुभयो,’ स्थानीय नरेन्द्र पार्कीले गुनासो सुनाए ।

  • प्रकाशित मिति : मंसिर ४, २०७८ शनिबार ९:४९:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया