विश्वबजारमा देखिएको तेलको राजनीतिले नेपालमा के प्रभाव पार्ला ?

 केही महिनायता अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियमको चर्चा चुलिँदो छ । विश्व–राजनीतिसँग पेट्रोलको पुरानो र गहिरो सम्बन्ध छ । 

अमेरिका र इरानबीच चिसिँदो सम्बन्धले पनि अन्तर्राष्ट्रिय बजारमा इन्धनको चर्चा चुलिएको हो ।

अमेरिकाले इरानमाथि दबाब राख्न ऊसँग इन्धन किन्ने देशहरूलाई आयात बन्द गर्न आदेश दिँदै आएको छ । आफ्नो आदेश अवज्ञा गर्ने देशमाथि नाकाबन्दी लगाउनेसम्मको धम्की उसले दिएको छ ।

यसैले पनि विश्वबजारमा इन्धनको चर्चा चुलिएको हो । अमेरिकाको आदेश मान्दै अन्य देशले इरानबाट आयात रोके भने अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा बदलाब आउने देखिन्छ । 

गत महिना अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ४ वर्षयताकै उच्च रह्यो । अमेरिकाले इरानमाथि लगाएको नाकाबन्दी नै यसको मुख्य कारण रहेको जानकारहरू बताउँछन् । 

नेपालमा कस्तो प्रभाव पर्ला ?



नेपाल पेट्रोलियमका लागि पूर्णतः भारतनिर्भर छ । भारतले खाडी देशबाट कच्चा इन्धन आयात गर्छ । भारतले आयात गर्ने तेलको ठूलो हिस्सा इरानले पूर्ति गर्दै आएको छ । 

अमेरिकाले इरानी तेल आयातमा रोक लगाएपछि भारतजस्ता देश मारमा परेका छन् । तर, हालको लागि भारतलागायत केही देशले पुरानो हिसाब देखाउँदै केही महिना इरानबाट इन्धन आयात गर्ने छुट पाएका छन् । 



तर, भारतले इरानबाट इन्धन आयात गर्न नपाएको दिन भने ऊसँगै नेपाललगायत भारतनिर्भर देशलाई ठूलै असर पर्ने देखिन्छ ।

तर, अमेरिकासँगै तेल उत्पादक राष्ट्रको ठूलो संगठन ओपेकले कच्चा तेलको उत्पादन बढाएको छ । रुसले पनि सोभियत संघ विघटनपछि सबैभन्दा उच्चदरमा कच्चा तेल उत्पादन गरिरहेको छ । 

विश्वबजारको माग धान्न र इरानी तेलको अभाव खड्किन नदिन यी देशले उत्पादन बढाएका जानकारहरू बताउँछन् । इरानी तेलको आपूर्ति रोकिए पनि ओपेकले मागबमोजिम आपूर्ति गर्यो भने तेलको मूल्यमा प्रभाव पर्नेछैन । 

महँगिदै छ नेपालमा इन्धन

नेपाल ०७१ असोजदेखि इन्धनमा स्वतः मूल्य समायोजन पद्धतिमा छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा हुने उतारचढाबका आधारमा नेपालमा हरेक १५ दिनमा मूल्य समायोजन हुन्छ । 

गत भदौमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ६५ अमेरिकी डलर पुग्दा प्रतिलिटर १ सय ११ रुपैयाँमा पेट्रोल बिक्री गरेको नेपाल आयल निगमले एक लिटर पेट्रोलमा ६५ पैसा नाफा राखेको थियो । 

भदौको मध्यतिर कच्चा तेलको मूल्य बढ्यो र निगमले प्रतिलिटर १ रुपैयाँ ११ पैसा घाटा खाएर काठमाडौंमा १ सय १२ रुपैयाँमा पेट्रोल बेच्न थाल्यो । 

असोज १ मा पेट्रोलको मूल्य बढेर १ सय १४ रुपैयाँ प्रतिलिटर पुग्दा निगमको घाटा ३ रुपैयाँको हाराहारीमा पुग्यो । 

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेर असोजको मध्यमा ८० डलर पुग्दासम्म निगम प्रतिलिटर साढे ५ देखि साढे ८ रुपैयाँ घाटा खाएर १ सय १४ रुपैयाँमै पेट्रोल बेच्दै थियो ।

१ कत्तिकमा आइपुग्दा पेट्रोलियमको मूल्य अन्तर्राष्ट्रिय बजारअुनसार समायोजन नगर्दा निगमलाई २ अर्ब ८ करोड घाटा भयो । १५ दिनपछि कच्चा तेलको मूल्यमा आएको गिराबटका कारण निगमको घाटा पनि कम भयो । पछिल्लो तथ्यांकअनुसार निगमको घाटा १ अर्ब ६१ करोडमा झरेको छ । 

चाडपर्वका कारण मूल्य समायोजन नगर्दा घाटा भएको निगमले जनाएको छ । तर, छठपछि भने अन्तर्राष्ट्रिय बजारमूल्यकै आधारमा मूल्यसमायोजन हुनेछ । त्यसैले, अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेमा अबको समायोजनले नेपाली बजारमा पेट्रोलियमको मूल्य बढाउनेछ ।
 

  • प्रकाशित मिति : कात्तिक २८, २०७५ बुधबार १९:५:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया