नेकपा (एमाले)को दशौँ राष्ट्रिय महाधिवेशनमा सो पार्टीसँग भाइचारा र मैत्रीपूर्ण सम्बन्ध रहेका अन्तर्राष्ट्रियस्तरका करिब ६० पार्टीलाई निमन्त्रणा गरिएको छ । एमालेको महाधिवेशन यही मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुँदै छ ।
कोरोना महामारीका कारण अन्तर्राष्ट्रिय यात्रा गर्ने कुरा त्यति सहज नभएको अवस्थामा महाधिवेशनमा उपस्थित हुने अन्तर्राष्ट्रिय पाहुनाको संख्या तुलनात्मक रूपमा कम हुने आकलन पनि गरिएको छ ।
हालसम्म भारतबाट तीनवटा पार्टी भारतीय कम्युनिस्ट पार्टी मार्क्सवादी, भारतीय कम्युनिस्ट पार्टी र भारतीय कम्युनिस्ट पार्टी मार्क्सवादी लेनिनवादी लिवरेसन पार्टीले आउने निश्चित गरेको एमालेका विदेश विभाग प्रमुख राजन भट्टराईले बताएका छन् ।
बंगलादेशको कम्युनिस्ट पार्टी अफ बंगलादेश, रिभोलेसनरी वर्कर पार्टी, श्रीलंकाबाट जेभिपी पार्टी, कम्बोडियाको सत्तासीन पार्टी कम्बोडियन पिपुल्स पार्टी, फ्रेन्च् कम्युनिस्ट पार्टी, टर्कीको वामपन्थी पार्टीलगायतले हरुले प्रतिनिधि पठाउने उनले बताए ।
चिनियाँ कम्युनिस्ट पार्टीले आउन नसक्ने भन्दै शुभकामना सन्देश पठाउने भएको छ। जर्मनी र रसियाका तीनवटा पार्टीले शुभकामना सन्देश पठाउने भएका छन् ।
नर्थकोरिया पार्टी, भियतनाम र लावसले प्रतिनिधि नै पठाउन सक्ने या शुभकामना सन्देश पठाउने भन्ने विषयमा टुंगो छैन । बेल्जियम र आयरल्याण्डबाट शुभकामना सन्देश प्राप्त भइसकेको छ ।
देशभित्र संघीय संसद्मा रहेका सात राजनीतिक दललाई महाधिवेशनको उद्घाटन सत्रमा निम्ता दिइएको छ । सत्तारुढ नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), लगायतलाई पनि निमन्त्रणा दिइएको छ । एमालेबाटै विभाजन भएर बनेको एकीकृत समाजवादीलाई भने निम्त्याइएको छैन ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।